एनआईसी एशिया क्यापिटलको सिईओमा झनकराज ढुंगेल नियुक्त

काठमाडौं । एनआईसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा झनकराज ढुंगेल नियुक्त भएका छन् । क्यापिटलको ३९औ सञ्चालक समितिको बैठकको निर्णयले ढुंगेललाई कम्पनीको सिईओमा नियुक्त गरेको हो । सिईओ ढुंगेल विगत २३ वर्ष देखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत रहदै आएका छन् । यस अघि ढुंगेल अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा आबद्ध रहेका थिए । ढुंगेलले एनआईसी एशिया बैङ्कको मातहतमा प्रमुख कार्यकारी अधिकृत रहेका रामचन्द्र खनालको स्थानमा कार्यभार समाल्ने कम्पनीले जनाएको छ ।

तिहार अगावै कारोबार सुरु गर्ने तीन वटा जीवन बीमा कम्पनीको तयारी

काठमाडौं । तिहार अगावै तीन वटा जीवन बीमा कम्पनीले कारोबार आरम्भ गर्ने भएका छन् । बीमा समितिबाट लाइसेन्स लिएका स्टार लाइफ( नाम परिवर्तन गरि प्रभु इन्स्योरेन्स), सिटिजन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले तिहार अगावै कारोबार आरम्भ गर्न लागेका हुन् । यस अघि नै युनियन लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले कारोबार आरम्भ गरिसकेका छन् । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका नामबाट स्टार लाइफले धन्तेरासका दिन देखि कारोबार आरम्भ गर्ने अनुमति मागेको छ । त्यस्तै, सिटिजन लाइफले लक्ष्मी पुजाका दिनदेखि कारोबार आरम्भ गर्ने अनुमति मागेको छ भने सानिमा लाइफले पनि तिहार अगावै कारोबार आरम्भ गर्ने भनेको छ । ‘तीन वटा कम्पनीले तिहार अगावै कारोबार आरम्भ गर्ने भनेर अनुमति मागेका छन, हामी ती कम्पनीहरुको पुर्वाधार, जनशक्ति, प्रबिधी र बीमा पोलिसीको अध्ययन गरिरहेका छौं’, बीमा समितिका एक उच्च अधिकारीले भने । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा प्रदिपजंग पाण्डे, बिरेन्द्र बहादुर बस्नेत, कैलाश प्रसाद सिरोहिया, विकास जबरा, सुधिरबाबु खत्री, आङ छिरिङ शेर्पा, पृथ्वीराज पाण्डे, ताराचन्द खेतान, पशुपति मुरारका र रामेश्वर थापाको लगानी छ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा भवानी भक्त जोशी, भाइकाजी श्रेष्ठ, सुदर्शनराज पाण्डे, शेरबहादुर पाण्डे, नरेश बहादुर मल्ल, नेपाल सेयर मार्केट्स र देवी प्रकाश भट्टचनको लगानी रहेको छ । सानिमा लाइफमा भने बद्रि प्रसाद ओझा, अरुण कुमार ओझा, डा. गोपाल प्रसाद श्रेष्ठ, जीवनाथ लामिछाने, घनश्याम थापा र बिरेन्द्र प्रसाद महतोको लगानी रहेको छ ।

संस्थागत सुशासनमा नयाँ प्वाल देखियो, कृष्णप्रसाद शर्मा एनएलजी इन्स्योरेन्सको लागि अयोग्य

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि प्रस्तावित कृष्णप्रसाद शर्माको फाइल बीमा समितिमा अड्किएको छ । कम्पनीले एक महिनाअघि शर्मालाई सिईओ नियुक्ती गर्न समिति समक्ष सहमति मागेको थियो । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७३ अनुसार कुनै पनि बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत नियुक्ती गर्नुपूर्व बीमा समितिको सहमति लिनु पर्छ । प्रस्तावित व्यक्तिको शैक्षिक योग्यता र निजको परिश्रमिक लगायत विषयमा समितिले अध्ययन गरी १५ दिन भित्र स्वीकृति दिनुपर्नेछ । तर शर्माको नाम सिफारिस भएको एक महिना बितिसक्दा पनि समितिले स्वीकृति दिएको छैन । बीमा समिति स्रोतको अनुसार शर्माको शैक्षिक योग्यता, अनुभवमा समस्या छैन । एनएलजी इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको निर्णय र बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा रहेको अस्पष्टताका कारण बीमा समितिले शर्माको फाइलमा सदर गर्न सकेको छैन । संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको दफा २८, उफदफा ४ (ज) मा लेखिएको बुँदा नै शर्माको लागि बाधक बनेको छ । दफा २८, उफदफा ४ प्रमुख कार्यकारी अधिकृत नियुक्त हुन नसक्ने अवस्थाका बारेमा उल्लेख गरिएको छ । त्यसभित्र (ज) बुँदामा लेखिएको छ –‘समितिको अध्यक्ष वा सदस्य भईसकेको व्यक्ति’ प्रमुख कार्यकारी अधिकृत नियुक्त हुन सक्ने छैन । शर्मा एनएलजी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको सञ्चालक तथा अध्यक्ष भईसकेका व्यक्ति हुन् । ‘समितिको अध्यक्ष वा सदस्य’ भन्नाले कसलाई भन्न खोजिएको हो ? बीमा समिति भित्रै यतिबेला अन्यौलता देखिएको छ । उक्त निर्देशिकाको परिभाषमा ‘समिति वा उपसमिति’ भन्नाले यस निर्देशिकाको दफा १४ बमोजिम गठित बीमकको सञ्चालक समितिले आफ्नो काममा सघाउ पुर्याउन गठन गरेको समिति वा उपसमिति सम्झनुपर्छ’ भनेको छ । यस विषयमा अस्पष्टता देखिएकोले बीमा समितिको सञ्चालक समितिले नै व्याख्या गर्ने बीमा समिति स्रोतले बतायो । ‘समितिको अध्यक्ष वा सदस्य’ भन्नाले सञ्चालक समितिको अध्यक्ष वा सञ्चालक नै भन्न खोजिएकोले अस्पष्टतालाई व्याख्या गर्दा पनि शर्माको लागि एनएलजी इन्स्योरेन्समा ढोका खुला हुने सम्भावना कम रहेको बीमा समितिका अधिकारीहरु बताउँछन् । शर्माको लागि सञ्चालक समितिले प्रस्ताव गरेको पारिश्रमिकमा पनि समस्या उत्पन्न भएको छ । कम्पनीको सबैभन्दा कम पारिश्रमिक खाने कर्मचारीको भन्दा प्रमुख कार्यकारी अधिकृतको तलव १५ गुणा भन्दा बढी हुन नहुने व्यवस्था रहेकोमा सो भन्दा बढी पारिश्रमिक दिने प्रस्ताव गरेकोले बीमा समितिले सीमा भित्र बस्न निर्देशन दिएको छ । ‘राष्ट्रिय वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत भई सफलता पूर्वक संस्था चलाएको व्यक्ति, उहाँको व्यक्तित्व र ख्यातीलाई ध्यानमा राखेर आगामी साधारणसभाबाट अनुमोदन गर्ने गरी उचित पारिश्रमिकको प्रस्ताव गरेको हौं, नियामक निकायले जे निर्देशन दिन्छ, हामी त्यो पालना गछौं’ कम्पनी सञ्चालक समितिका अध्यक्ष विमलप्रसाद वाग्लेले भने । शर्मा वाणिज्य बैंकको प्रतिनिधि भएर एनएलजी इन्स्योरेन्स कम्पनीमा सञ्चालक तथा अध्यक्ष भएको थिए । उनी आफै सोही कम्पनीको सेयरधनी होइनन् । ‘सेयरधनी वा प्रवद्र्धकको हैसियतमा शर्मा अध्यक्ष भएका होइनन्, त्यसैले उनी सो कम्पनीमा प्रमुख कार्यकारी अधिकृत बन्न योग्य व्यक्ति हुन्, त्यसमा स्वार्थ बाझिएको छैन । तर संस्थागत सुशासन निर्देशिकामा रहेका प्वाल उनको लागि वाधक बन्यो’ बीमा क्षेत्रका एक जानकारले भने । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा धेरै कमजोरी र अस्ष्टता रहेकोले त्यसमा संशोधन जरुरी भएको यस क्षेत्रका अनुवभीहरुले बताउँदै आएका छन् ।