धनगढीको निसर्ग अस्पताल परिसरमा जनता बैंकको एटिएम सेवा
काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले सोमबार धनगढी उपमहानगरपालिका वडा नं. ५, असनपुर डिमोटीचोक स्थित निसर्ग अस्पताल परिसरबाट एटिएम सेवा गरेको छ । यो बैंकको ९४औं एटिएम हो । धनगढीउप–महानगरपालिकाका उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा एटिएम सेवा उद्घाटन गरेका हुन् । त्यसक्षेत्रका ग्राहकहरुलाई नगद कारोबारमा एटिएम सेवाले सहजता प्रदान गन बैंकले विश्वास लिएको छ ।
शाइन रेसुङ्गाले पूर्णिमा विकास बैंकलाई एक्वायर गर्ने, स्वाप रेसियोबारे यस्तो भयो सहमति
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंकलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । आइतबार साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र पूर्णिमा विकास बैंकका अध्यक्ष सुरज उप्रेतीले संस्था प्राप्ति (एक्विजिशन) सम्बन्धी प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेसँगै एकता प्रक्रिया अघि बढेको घोषणा गरिएको हो । बुटवलमा मुख्य कार्यालय भएको १० जिल्लामा कार्यक्षेत्र भएकाे क्षेत्रीय स्तरको विकास बैंक शाइन रेसुङ्गा र भैरहवामा मुख्य कार्यालय रहेको ३ जिल्ला कार्यक्षेत्र भएकाे क्षेत्रीय स्तरकै पूर्णिमा विकास बैंक एक आपसमा गाभिन लागेका हुन् । दुई बैंकको शेयरको स्वाप रेसियो भने डीडीए गरेपछि मात्रै निश्चित हुने शाइन रेसु्ङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए । याे सम्झाैतालाई बैंकले राष्ट्रिय स्तरको विकास बैंक बन्ने आधारको रुपमा लिएको छ । दुई बैंकबीचको व्यवस्थापकीय व्यवस्थापनबारे समेत सहमति भएको छ जसअनुसार शाइनका हालका सीईओ एक्विजिसनपछि पनि प्रमुख कार्यकारी अधिकृत रहनेछन् भने पूर्णिमा विकास बैंकका हालका प्रमुख कार्यकारी अधिकृत एक्विजिसनपछि शाइन रेसुङ्गाको डेपुटी सीईओ बन्नेछन् । मर्जर प्रक्रिया दुई महिनाभित्र टुङ्गोमा पुग्ने बताइएको छ । शाइनको हाल ३९ ओटा शाखा छन् भने पूर्णिमाको १२ शाखा कार्यालय सञ्चालनमा छन् । शाइनको हालको चुक्ता पुँजी १ अर्ब ६२ करोड रुपैंया छ भने पूर्णिमाको हालको चुक्ता पुँजी ५५ करोड छ । शाइनको दोस्रो बजारको मूल्य २४० रुपैंया छ भने पूर्णिमाको १८८ रुपैंया छ । दुबै बैंककाे जाेड्दा निक्षेप करिब २० अर्ब रूपैयाँ हुने छ भने कर्जा लगानी करिब १८ अर्ब रूपैयाँ हुनेछ । एक्विजिसनपछि बैंक प्रदेश ५ मा थप सशक्त बैंक बन्ने विश्वास शाइनका सीईओ पौडेलले व्यक्त गरे ।
बीमाको प्रिमियम अब अनलाइनबाटै, मेट–लाइफको प्रिमियम इसेवाबाट तिर्न सकिने
काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवा मार्फत अबदेखि अमेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी, मेट–लाइफको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । इसेवा मार्फत पहिलो पटक जीवन बीमाको प्रिमियम भुक्तानी गर्न सकिने सेवा सुरू भएको हो । इसेवाबाट विभिन्न ८ वटा निर्जिवन बीमा कम्पनीको पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ । पहिलो पटक जीवन बीमा कम्पनीले अनलाइन मार्फत प्रिमियम भुक्तानी लिन सुरू गरेको हो । अनलाइन प्रिमियम भुक्तानी सम्बन्धि सम्झौतापत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र मेटलाइफको तर्फबाट भाइस प्रेसिडेन्ट तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले हस्ताक्षर गरेका छन् । जीवन बीमाको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इसेवा फोन पे प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुभस सापकोटाले भने ‘ हाम्रो सहकार्यले हाल जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर अथवा एजेन्टसम्म पुग्नुपर्ने बाध्यतालाई अन्त्य गरिदिएको छ, अबदेखि बिमितहरूले घरमै बसेर सजिलै प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ । ’ यस्तै मेटलाइफ नेपालका भाइस प्रेसिडेन्ट तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले भने , ‘हामी हाम्रा ग्राहक महानुभावलाई अनलाईनबाट प्रिमियम भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा एकदमै हर्षित छौँ । ग्राहकको प्रतिक्रिया अनुरुप हामीले इसेवा संगको सहकार्यमा यो सेवा सुचारु गरेका हौँ । ग्राहक केन्द्रित कम्पनीको रूपमा, हामी सधैं हाम्रो ग्राहकहरूको अनुभव सुधार गर्न लागिपरेका छौं र हामी थप डिजिटाइजिङ तिर जाँदैछौं साथै हाम्रो ग्राहकहरूको सुविधाको लागि हाम्रो प्रक्रियालाई सरल बनाउनेछौं । देशभर ४५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेका छन् । इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब १० लाख माथि पुगिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । यस्तै १ सय ५० वर्ष पुरानो अमेरिकन लाइफ इन्स्सोरेन्स् कम्पनीको शाखाका रूपमा नेपालमा मेटलाइफले सन् २००१ देखि सेवा दिँदै आएको छ । विश्वका ४० देशमा अमेरिकन लाइफ इन्स्योरेन्स्का शाखा रहेका छन् । नेपाली बीमा बजारमा आग्रणी मानिने मेटलाइफले हरेक समय नयाँ र सर्वसाधारणका लागि उपयोगी जीवन बीमा योजना सञ्चालन गर्दै आएको छ ।