नेपालमा अब चलचित्रको पनि बीमा, एलजीआईको नयाँ प्रोडक्ट कस्तो ?

काठमाडौँ । चलचित्र निर्माण गर्दा आईपर्ने जोखिमको बहन गर्ने बीमा योजनामा लुम्बिनी जनरल ईन्स्योरेन्स(एलजीआई) ले सक्रियता देखाएको छ । चलचित्र निर्माण गर्न लामो समय लाग्ने तथा सो क्रममा निकै क्षती हुने भन्दै बीमा कम्पनीले यस्तो योजनाको सुरुवात गरेको हो । यस्तो बीमा पोलिसीबारे बीमा समितिले लुम्बिनी जनरललाई ३ महिना अघि नै स्विकृती दिईसकेको छ । लुम्बिनी जनरल ईन्स्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत डिके श्रेष्ठले भन्छन्-‘बीमाले जोखिम बहन गर्ने हो, चलचित्र निर्माण गर्दा समेत आफ्नै किसिमका जोखिम रहँदै आएका छन्, त्यसैले आगामी दिनमा त्यस्ता जोखिमको बहन बीमा मार्फत गरेमा निर्देशकहरुले ढुक्कसँग काम गर्न सक्छन् ।’ श्रेष्ठले बीमा बजारमा आधुनिकता ल्याउन यस्तो कदम चालेको समेत जानकारी दिएका छन् । चलचित्र बीमामा के के हुन्छ ? चलचित्रको बीमा गर्नु पूर्व निर्माताहरुले बीमा कम्पनीसँग एक किसिमको सम्झौता गर्न आवश्यक हुन्छ । यसरी सम्झौता गरे पश्चात ४ महिनाको अवधिसम्म बीमा सुविधा पाईन्छ । सोही बीमा मार्फत कलाकारहरुलाई चोटपटक लागेमा, कुनै किसिमका दुर्घटना भएमा, क्यामेरा लगायतका सामाग्री टुटफुट भएमा बीमा कम्पनीले जोखिम बहन गर्ने गर्छ । चलचित्र बीमाको प्याकेज निर्जीवन बीमा अन्र्तगतको हो । चलचित्र निर्माण गर्दा भैपरी आउने समस्यालाई बीमा गरिएपनि चलचित्रले बजार नलिएको खण्डमा भने बीमा योजनाले काम गर्दैन । सो बीमा योजना सार्वजनिक भए लगत्तै फिल्म नचलेको अवस्थामा पैसा पाईने हो की भन्ने विषय निकै चासोको विषय बनेको पाईन्छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रमा रहेको जोखिमका बारेमा लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनीलाई जानकारी गराएको बताए । अहिलेसम्म कुनैपनि चलचित्रको बीमा भइसकेको छैन । बीमा बजारमा प्रतिस्पर्धालाई स्वच्छ बनाउन नयाँ बीमा योजनाको आवश्यकता रहेकोमा लुम्बिनी जनरल ईन्स्योरेन्सले जोड दिएको छ ।

कैलालीको अत्तरियामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार कैलाली जिल्लाको अत्तरियामा नयाँ शाखा कार्यालय उद्घाटन गरेको छ । अत्तरिया र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाको पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य लेखराज भट्टले औपचारिक रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा सांसद भट्टले अत्तरिया लगायत देशका अन्य स्थानहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए । उक्त कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत स्थानीय जनप्रतिनिधि, उद्योग बाणिज्य संघका पदाधिकारी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक लि.ले सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ्ग पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्देश्य रहेको बताए ।

एभरेष्ट बैंकको विशेष योजना, भिसा कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत नगद फिर्ता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको छ । विशेष योजना अन्तरगतबैंकका कार्ड होल्डरहरुले हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता पाउने छन् । एभरेष्ट बैंकका ग्राहकहरुले रेष्टुरेन्ट, होटल, मल र सुपरमार्केटमा भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम उनीहरुको खातामा फिर्ता हुन्छ । एभरेष्ट बैंकका ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको जनाइएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९२ वटा शाखाहरु, २८ राजश्व संकलन काउन्टर र ११६ एटिएम मार्फत सेवाहरु प्रदान गर्दै आएको छ ।