सिद्धार्थ बैंकबाट महालक्ष्मीको बीमा सेवा पाइने

काठमाडौं । सिद्धार्थ बैंक लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. बीच बीमा सेवा दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा सिद्घार्थ बैंक लि. को तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को तर्फबाट सहायक महाप्रबन्धक सपना खरेलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सिद्धार्थ बैंक लि. ले देश भर रहेका आफ्ना १४६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. को जीवनबीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिकगर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत र दाङ्गबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिनाभित्र काठमाण्डौं उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तयारी गरिरहेको कम्पनीले जनाएको छ ।

बुटवलको बेलबासमा खुल्यो एनआइसी एशियाको नयाँ शाखा

काठमाडौँ । बुटवल वडा नं १३,रुपन्देहीमा एनआइसी एशिया बैंक लि.को नयाँ शाखा शुरु भएको छ । बेलबास शाखाको एनआईसी एशिया बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत कपिल ढकालले शनिबार उद्घाटन गरेका हुन् । उक्तशाखाको उद्घाटन समारोहमा ढकालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याई रहेको जानकारी गराए ।

बाग्मती सफाई अभियानमा मुक्तिनाथको सहभागिता

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले वाग्मती तथा पोखरा नगर सरसफाई अभियानमा निरन्तर रुपमा सहभागिता जनाउँदै आएको छ । वाग्मती सरसफाई अभियानमा २०० औं हप्तादेखि सहभागी हुँदै आएको र पोखरा नगर सरसफाई अभियानमा पनि सहभागी हुँदै आएको बैंकले जनाएको छ । हाल वाग्मती सरसफाई अभियान ३०६औं हप्ता तथा पोखरा नगर सरसफाई अभियान १४७औं हप्तामा चलिरहेको छ ।