मेगा बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सहमतिसँगै मेगा बैंकका ग्राहकहरूले महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा तथा सुविधाहरु अब मेगा बैंकका सबै शाखाबाट लिन सक्नेछन् । मेगा बैंकका देशभरका १ सय २ शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।

एनआईसीको १५ नयाँ चमत्कारिक बचत निक्षेप योजना, ‘कर्मचारीलाई अग्रिम तलब !’

काठमाडौँ । एनआईसी एशिया बैंकले सर्वाधिक उच्च ब्याज दरको चमत्कारिक विशेषताहरु सहित बिभिन्न १५ नयाँ बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । २१ वर्ष पूरा गरि २२ औँ वर्षमा प्रवेश गर्न लागेको अवसरमा बैंकले यस्तो योजना सार्वजनिक गरेको हो । चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता र कर्मचारीहरुलाई केन्द्रित गरी चमत्कारिक तलब बचत खाता शुरु गरिएको बैंकले जनाएको छ । यी निक्षेप योजनाहरुमा ग्राहकहरुले १५लाख रुपैयाँसम्मको दुर्घटना बीमा र १५ लाख रुपैयाँसम्मको १८ घातक रोगहरुको बीमा तथा रु १ लाख ५० हजार सम्मको औषधि उपचार बीमा सुविधा समेत प्राप्त गर्न सक्ने छन् । साथै कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याइएको उक्त योजनाहरुमा २२ चमत्कारिक फाइदाहरु रहेको बैंकले जनाएको छ । पहिलो पटक स्वीप इन-स्वीप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाईने छ । देशैभरी रहेका कुनैपनि बैंकको कुनै पनि एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने फाइदा लगायत चमत्कारिक फाइदाहरु समेत प्रदान गरिने गरी चमत्कारिक वचत खाताहरुको योजना ल्याइएको छ । चमत्कारिक बचत योजना अन्र्तगत रहेको चमत्कारिक विशेषताहरुका अतिरिक्त थप फाइदाहरु सहित बैंकले यस्ता अन्य प्रकारका चमत्कारिक बचत योजनाहरु समेत सार्वजनिक गरेको छ । जस अन्र्तगत सुन तथा चाँदीका सिक्काहरु प्रदान गर्ने योजनाका साथ चमत्कारिक नारी वचत योजना, घरमै बैंकिङ्ग सुविधा प्रदान गर्न सक्ने थप सुविधा तथा छुट्टै कर्मचारी संयन्त्र सहितको चमत्कारिक जेष्ठ नागरिक बचत योजना ल्याएको छ । साथै थप चमत्कारिक सुविधाका साथ चमत्कारिक बाबुनानी बचत योजना, चमत्कारिक बिद्यार्थी बचत योजना र कर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्डको सुविधा प्रदान गर्ने चमत्कारिक फाइदाहरुको साथ चमत्कारिक तलब बचत योजना बैंकले सार्वजनिक गरेको छ ।

ग्लोबल आइएमई बैंकको थप ५ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ५ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रोल्पा जिल्लाको परिवर्त गाँउपालिका-३, इरिवाङ्गमा १२२औँ शाखा सञ्चालनमा ल्याएको छ । त्यसैगरी रोल्पा कै थवाङ्ग गाउँपालिका–२, ठुलोगाँउमा १२३औँ शाखा सञ्चालन गरी सेवा प्रारम्भ गरेको छ । यता, ईलाम जिल्लाको सूर्योदय नगरपालिका–१४, कट्टुसेमा १२४औँ, सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–९, पत्थरगाडामा १२५औँ र पाँचथर जिल्लाको हिलिगाउँ गाउँपालिका –२, सिङ्गापुरमा १२६औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको बैंकले जनाएको छ । पाँचै वटाशाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन गरिएको जनाइएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।