धितोपत्र बोर्डलाई ओईसीडीको सदस्यता, अन्तर्राष्ट्रिय वित्तीय साक्षरता सम्मेलन गर्ने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले वित्तीय साक्षरता प्रवद्र्धन तथा ज्ञान अभिबृद्धि गर्ने अन्तर्राष्ट्रिय संस्था ओईसीडीको सदस्यता प्राप्त गरेको छ । आर्थिक वर्ष २०७५/७६ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम अनुसार जनवरी १, २०१९ बाट लागू हुने गरी बोर्डले नेपालको तर्फबाट उक्त संस्थाको पूर्ण सदस्यता प्राप्त गरेको हो । ओईसीडीको पूर्ण सदस्यता प्राप्त गर्नेमा बोर्ड नेपालको पहिलो निकाय बनेको छ । नेपालमा वित्तीय साक्षरता न्यून रहेको सन्दर्भमा विश्वव्यापी रुपमा वित्तीय साक्षरतासम्बन्धी कार्य गर्ने गरी स्थापित उक्त संस्थाको सदस्यता लिँदा पछिल्लो समय वित्तीय क्षेत्रमा विकास भएका नवीनतम ज्ञान तथा प्रविधिको जानकारी भई देशमा वित्तीय साक्षरता अभिवृद्धि सम्बन्धी विभिन्न कार्यक्रमलाई समन्वयात्मक तथा स्तरीय रुपमा सञ्चालन गर्न उपयुक्त वातावरण तयार हुन सहयोग पुग्ने विश्वास बोर्डले लिएको छ । ओईसीडीले वित्तीय साक्षरताको महत्वलाई आत्मसात गर्दै यस सम्बन्धी गतिविधि विस्तार गर्न एक विशिष्ट संस्थाको योजना गरे अनुरुप सन् २००८ मा आइएनएफईको स्थापना भएको हो । यस संस्थाले साना तथा मझौला व्यवसाय, वित्तीय समावेशिता, युवा तथा महिला वर्ग, दीर्घकालिन बचत तथा लगानी लगायतका विविध क्षेत्रहरुमा वित्तीय साक्षरता अभिवृद्धिका लागि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । हाल यस संस्थामा विश्वका ६४ देशका ८६ संस्थाहरु पूर्ण सदस्यको रुपमा रहेका छन् भने नियमित सदस्यतर्फ ९५ देशका १७२ संस्थाहरु रहेका छन् ।  बोर्डले सदस्यता पाएसँगै बोर्ड र ओईसीडी आइएलएफईको संयुक्त आयोजनामा आगामी जुलाई २–३, २०१९ मा वित्तीय साक्षरता सम्बन्धी प्रथम अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्ने गर्ने तयारी गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जनाएका छन् ।

गुराँस लाइफको साधारण सभा, ८ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित

काठमाडौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ प्रतिशत बोनश सेयर दिने प्रस्ताव पारित भएको छ । कम्पनीको बिहीबार सम्पन्न नबौं वार्षिक साधारण सभाबाट यो प्रस्ताव पारित गरेको हो । ८ प्रतिशत बराबरको बोनश सेयर तथा कर प्रयोजनको लागि २५ लाख १ हजार ५३ रुपैयाँ नगद लाभांश वितरण गरिने भएको हो । बोनश शेयर र ५० प्रतिशत हकप्रद सेयर जारी गरे पश्चात गुराँस लाइफको चुक्तापूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ पुग्ने जनाइएको छ । सोही पूँजीको शत प्रतिशत १ बराबर १ हकप्रद जारी गर्ने कम्पनीको निर्णय छ । बीमा समितिले जीवन बीमा गर्ने कम्पनीहरुले आगामी असार मसान्त भित्र चुक्तापूँजी २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने निर्देशन दिई सकेको छ । कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी २ अर्ब कायम गरी आफ्नो प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संसोधन गर्ने प्रस्ताव पनि साधारण सभाबाट पारित भएको हो । साधारण सभालाई संबोधन गर्दै गुराँस लाईफका अध्यक्ष विबेक दुगडले लगानीकर्ताको हितमा आफूहरुले काम गर्ने जानकारी दिएका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्राईले लगानीकर्ता माझ भने–‘हाम्रो ध्यान नपुगेको ठाउँमा हजुरहरुले औल्याईदिनु होस्, त्यसलाई हामी सुधार गर्न तयार छौँ ।’

प्रभु बैंकले रुकुममा शुरु गर्यो एटिएम सेवा, स्थानीयवासी खुशी

रुकुम । रुकुम जिल्लामै पहिलो पटक एटिएम सेवा सञ्चालनमा ल्याइएको छ । प्रभु बैंकको शाखाले रुकुमकोटमा एटिएम सेवा सञ्चालनमा ल्याएको हो । एटिएम सेवा सञ्चालनमा आएसँगै स्थानीय नागरिक खुशी भएका छन् । आवश्यक परेको खण्डमा जतिखेर पनी एटिएममार्फत पैसा निकाल्न सकिने भएकाले कारोवारमा सहज हुने स्थानीयवासी सुस्मिता कार्कीले बताइन् । बैंकले एटिएम सेवा सञ्चालनमा नल्याउँदासम्म कार्यालय समयमा मात्र सेवाग्राहीलाई सेवा दिने गरेकामा अब भने सेवाग्रहीलाई आवश्यक परेको खण्डमा शनिबारलगायत अन्य जुनसुकै समयमा पनी सेवासुविधा दिने शाखा प्रबन्धक भानु गौतमले बताए । यहाँका नागरिकको समस्या, आवश्यकता र मागलाई ध्यानमा राखी एटिएम सेवा सञ्चालनमा ल्याइएको उनको भनाइ छ । विसं २०७३ मङ्सिर १७ गतेबाट रुकुमकोटमा आफ्नो सेवा सञ्चालन गरेको बैंकको शाखाले दुई वर्षपछि एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।