नबिलले बिहीबारदेखि १ अर्ब २० करोडको म्युचुअल फण्ड बिक्री गर्दै, एक हजारमै लगानी गर्न सकिने

काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड-नबिल इन्भेष्टले आगामी बिहीबार अर्थात बैशाख ५ गतेदेखि नबिल ब्यालेन्स फण्ड २ को इकाई बिक्री गर्ने भएको छ । नबिल इन्भेष्टले आफ्नो तेश्रो योजना नबिल ब्यालेन्स फण्ड २ को १० रुपैयाँ दरका १२ करोड इकाई सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । इच्छुक लगानीकर्ता(व्यक्ति तथा संस्था)ले यस योजनामा न्युनतम एक हजारदेखि १२ करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन् । लगानीकर्ताले वैशाख ५ गतेदेखि छिटोमा वैशाख ९ गते भित्र आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले अन्य धितोपत्र बिक्री गरेजस्तै गरी आफ्नो सी आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगइन गरी अनलाईन आवेदन गर्न सक्ने छन् । यो एक बन्दमुखी योजना हो जसको आकार एक अर्ब २० करोड रुपैयाँ रहेको छ । जसको अवधि १० वर्षको रहेको छ । नबिल इन्भेष्टमेण्ट बैंकिंगले यस अघि नबिल ब्यालेन्स फण्ड १ र नबिल इक्विटी फण्ड सञ्चालनमा ल्याइसकेको छ । नबिल ब्यालेन्स फण्ड २को मूख्य उद्देश्य प्रचलित सामूहिक लगानी कोष नियमावली एवं निर्देशिकाको अधिनमा रही इकाई बिक्रीबाट उठेको वा संकलन भएको रकमलाई विविध क्षेत्र र उपकरणहरुमा जोखिम न्युनीकरण गर्दै लगानी गरी सोबाट आर्जन भएको मुनाफा इकाई धनीहरुलाई वितरण गर्नु रहेको संस्थाले जनाएको छ । त्यस्तै, योजनाको इकाईहरु नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत गरी कारोबार र तरलताको व्यवस्था मिलाईने छ । जस अनुरुप अन्य प्रकारका धितोपत्र सरह योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद बिक्री गर्न सकिने छ । साथै, नबिल बैंक तथा नबिल इन्भेष्टले बीज पुँजीको रुपमा योजनाको १५ प्रतिशत रकम लगानी गर्ने निर्णय गरिसकेको छ ।

कैलालीको बलियामा जनता बैंकको नयाँ शाखा

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडको कारोवार विस्तारको क्रममा कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ४, बलिया शाखाबाट कारोवार शुभारम्भ गरिएको छ । बुधबार आज एक समारोहका बीच सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले बलिया शाखाको उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधनगर्दै सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बोहोराले जनता बैंकको स्थापनाले यस क्षेत्रका जनताको जीवनस्तर उठाउन महत्वपूर्ण भूमिका रहने चर्चा गरे । बैंकका संचालक रामबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री, लम्कीचुहा नगरपालिकाको उपप्रमुख टिका थापा, लम्कीचुहा उद्योग बाणिज्य संघका अध्यक्ष पदम चौलागाईंले सम्बोधन गरेका थिए । कार्यक्रममा लम्कीचुहा नपा वडा नं. ४ का वडा अध्यक्ष लालबहादुर बोगटी, वडा नं. ८ का अध्यक्ष पूर्ण विष्ट, लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखसरोज शाह, बैंकका नेपालगञ्ज क्षेत्रीय प्रमुख ध्रुबकुमार पौडेल, उपप्रमुख मुकुन्दप्रसाद भट्ट र बलिया शाखाका प्रबन्धक चिरन्जिबी रावलको पनि उपस्थिति रहेको थियो । बलिया स्थित शाखा र एटिएम समेतबाट एकै साथ कारोबार संचालनमा आएको छ । शाखा उद्घाटनको अबसरमा सोही स्थानमा बैंकको आयोजना र धनगढी नेत्रालय आँखा अस्पतालको प्राविधिक सहकार्यमा निःशुल्क आँखा शिविर पनि आयोजना गरिएको थियो । १ हजार जनाभन्दा बढीको आँखा परिक्षण गरिएको बैंकले जनाएको छ ।

नेपाल बैंकमा एकै दिन ७०० ग्राहकले खोले खाता

काठमाडौँ । नेपाल बैंक लिमिटेडले नेपाल सरकारले सामाजिक सुरक्षा र वित्तिय समावेशिता अभिवृध्दि गर्ने उद्देश्यले ल्याएको ‘समृद्धिको नाता खोलौ बैक खाता’ अभियानलाई सफल गराउन विशेषः पहल गरेको छ । यसैक्रममा नव वर्षको उपलक्ष्यमा दिईएको सार्वजनिक विदाको दिन समेत ७० वटा शाखा खोली स्थानीय स्तरमा प्रचार प्रसार सहित नेपाल बैकद्वारा सर्वसाधारणलाई समृध्द नेपाल अभियान वचत खाता खोल्ने सेवा संचालन गरिएको थियो । पहिलो दिन नै ७०० बढी ग्राहकले उक्त खाता खोलेर यस अभियानप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । कुनै पनि बैकमा खाता नभएका नेपालीले आफनो परिचय खोलाउने कुनै पनि प्रमाणपत्रको आधारमा नेपाल बैंकका१६१ शाखाबाट खोल्न सकिने यस खाताको लागि आवश्यक रु १०० बैँक स्वयमले वेहार्ने छ । उक्त अभियानमा सहभागी वचत ग्राहकलाई ५.२५ प्रतिशतको आकर्षक व्याजदर सहित एविविएस , निःशुल्क एटिएम लगायतका सुविधा उपलव्ध हुने बैंकले जनाएको छ ।