नबिल इन्भेष्टमेन्ट ब्यालेन्स फण्ड २ मा पहिलो दिनमै २३ करोडको आवेदन
काठमाडौं । नबिल इन्भेष्टमेन्ट ब्यालेन्स फण्ड २ मा पहिलो दिन मै २३ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड-नबिल इन्भेष्टले बिहीबारदेखि सार्वजनिक गरेको इकाईमा मात्र एक दिनमा सो मात्राको आवेदन परेको हो । नबिल इन्भेष्टका प्रमुख कार्यकारी अधिकृत सबिर बाँदे श्रेष्ठका अनुसार बिहीबार एक दिनमा ४ हजार ३६२ जनाले कूल २३ करोड रुपैयाँ बराबरको माग गरेका बताएका छन् । नबिल इन्भेष्टले वैशाख ५ गते अर्थात बिहीबारदेखि १२ करोड इकाई सर्वसाधारणका लागि निष्काशन गरिरहेको छ । इन्भेष्टले आफ्नो तेश्रो योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको फण्ड बिक्री गरिरहेको छ । इच्छुक लगानीकर्ता(व्यक्ति तथा संस्था)ले यस योजनामा न्युनतम एक हजारदेखि १२ करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन् । लगानीकर्ताले छिटोमा वैशाख ९ गते भित्र आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले अन्य धितोपत्र बिक्री गरेजस्तै गरी आफ्नो सी आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगइन गरी अनलाईन आवेदन गर्न सक्ने छन् । यो एक बन्दमुखी योजना हो जसको आकार एक अर्ब २० करोड रुपैयाँ रहेको छ । जसको अवधि १० वर्षको रहेको छ ।नबिल इन्भेष्टमेण्ट बैंकिंगले यस अघि नबिल ब्यालेन्स फण्ड १ र नबिल इक्विटी फण्ड सञ्चालनमा ल्याइसकेको छ । नबिल ब्यालेन्स फण्ड २ को मूख्य उद्देश्य प्रचलित सामूहिक लगानी कोष नियमावली एवं निर्दे्शिकाको अधिनमा रही इकाई बिक्रीबाट उठेको वा संकलन भएको रकमलाई विविध क्षेत्र र उपकरणहरुमा जोखिम न्युनीकरण गर्दै लगानी गरी सोबाट आर्जन भएको मुनाफा इकाई धनीहरुलाई वितरण गर्नु रहेको संस्थाले जनाएको छ ।
देवः विकास बैंकले साढे ५ प्रतिशत बोनस दिने
काठमाडौं । देवः विकास बैंक लिमिटेडले सेयरधनीलाई ५.५ प्रतिशत बोनस सेयर दिने भएको छ । विकास बैंकले सेयरधनीलाई हालको चुक्ता पुँजीको सो मात्रा बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव हालै बसेको विकास बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । ५.५ प्रतिशत बोनस सेयरपछि विकास बैंकको चुक्ता पुँजी २ अर्ब ६७ करोड ३० लाख रुपैयाँ पुग्ने छ । पछिल्लो समय संस्थाको सेयर मूल्य प्रतिकित्ता १२९ रुपैयाँ रहेको छ ।
सनराइज बैंकले एनएलआईसीको जीवन बीमा योजनाहरु बिक्री गर्ने
काठमाडौं । सनराइज बैंक लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी(एनएलआईसी) लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनएलआईसीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले आफ्नो सम्पूर्ण शाखाहरुबाट एनएलआईसीको जीवन बीमा योजनाहरु बिक्री गर्ने भएको छ । हाल बैंकको १०४ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।