सानिमा बैंक र म्याक्स हेल्थकेयरबीच सम्झौता, उपचार खर्चमा ५ प्रतिशत छुट
काठमाडौँ । सानिमा बैंक लिमिटेड र म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धि सम्झौता भएको छ ।सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग, बिक्रम श्रेष्ठ र म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेडका तर्फबाट सेल्स तथा मार्केटिङ्गका उप-प्रबन्धक सुरज जोसेफले हस्ताक्षर गरेका हुन् । म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेड, भारतको दिल्लीमा अवस्थित स्वास्थ्य उपचारसम्बन्धि सेवा दिने चेन संस्था हो । हाल, यस संस्थाको १४ वटा साझेदार अस्पतालहरु छन् । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले म्याक्स हेल्थकेयर ईन्स्टिच्युटमा साझेदार रहेका उत्तर भारतका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्ने छन् । साथै सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ५ प्रतिशत सम्म छुट पाउन सक्ने छन् ।
नेपालीको एक बैंक खातामा बैंकहरुको साथ, कुन बैंकले के दिए नाम ?
काठमाडौँ । साक्षरता अभिवृद्धि तथा हरेक नेपालीको एक बैंक खाता लक्ष्य साकार तुल्याउने सरकारको नीतिलाई कार्यान्वयन गर्न बैंकहरु सक्रिय भएका छन् । विभिन्न बैंकहरुले छुट्टा छुट्टै नाम दिएर बचत खाता सञ्चालनमा ल्याएका छन् । एनएमबी बैंकले ‘सबैको सहारा बचत खाता’सञ्चालनमा ल्याएको छ । ललितपुरमा पत्रकार सम्मेलन गरेर उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले शून्य मौज्दातमा खाता खोल्न सकिने र त्यसमा बैंकले तत्काल रु एक सय जम्मा गरिदिने जानकारी दिँदै ‘समृद्ध नेपाल सुखी नेपाली’ वर्तमान सरकारको परिकल्पना साकार पार्न सहयोग गर्ने उद्देश्यले बैंकले यस्तो अभियान सञ्चालन गरेको बताए । त्यसैगरी ज्योति विकास बैंक लिमिटेडले ‘ज्योतिसमृद्धि बचत खाता’ संचालनमा ल्याएको छ । वार्षिक ७% ब्याजदर दिने बचत खातामा अन्य बैंक वित्तीय संस्थाहरुमा खाता नहुने ग्राहकहरुले खाता खोलेमा रु. १०० बैकको तर्फबाट प्रदान गरिने बैंकले जनाएको छ । यता, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना ‘सिटिजन्स सरलबचत खाता’ सर्वजनिक गरेको छ । यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुलाई बैंकको तर्फबाट रु १०० खातामा राखिदिने ब्यवस्था गरिएको खातामा दैनिक मौज्दातमा वार्षिक ५%ब्याज दर प्रदान गरिने बैंकले जनाएको छ । यसैगरी, नेपाल बङ्गलादेश बैंकले समृद्धिसंग जोडौ नाता, सबै नेपालीको बैंक खाताको नारा सहित रजत बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त रजत बचत खाता खोले वापत आकर्षक प्रतिफलहरु पाउन सकिनेछ । उक्त खाता मात्र रू. २५ मा खाता खोल्न सकिने, बैंकद्वारा रू. १०० थप प्रदान गरिने, बचत कर्ता र इच्छाएको व्यक्तिलाई रू. १ लाख सम्मको स्वास्थ्य बीमा सुबिधा र नेपाल भरिका अस्पतालहरुमा उपचार सेवा जस्ता आकर्षक सुविधाहरु रहेका छन् । त्यसैगरी, नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक)ले ‘एनसीसी नेपाली नागरिक बचत खाता’ सञ्चालनमा ल्याएको छ । २०७६ वैशाख १ गते देखि लागु हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले आफ्नै तर्फबाट रु १ सय खातामा जम्मा गरिदिने जनाएको छ । यता, जनता बैंक लिमिटेडले ‘सबै नेपालीको खाता’ सञ्चालनमा ल्याएको छ । यसमा खाता खोल्दा बैंकले १०० रुपैयाँ जम्मा गरिदिने र वार्षिक ब्याज दर ६.५ प्रतिशत दिने बैंकले जनाएको छ । यसैगरी सनराइज बैंकले ‘सनराइज समृद्घि बचत खाता’ ग्राहक समक्ष ल्याएको छ । जस अन्तर्गत खाता खोल्दा १०० रुपैयाँ बैंकले नै जम्मा गरी दिने जनाएको छ ।
स्पर्श लघुवित्तको नाफा ९ गुणाले बढ्यो, १ वर्षमा व्यवसायको आकार तेब्बर
काठमाडाैं । स्पर्श लघुवित्तले तीन महिनामा आफ्नो नाफा ९ गुणा बढाएको छ । पुस मसान्तमा ६ लाख २१ हजार रहेको स्पर्शको नाफा चैत मसान्तमा आइपुग्दा ६० लाख ३९ हजार पुगेको हो । स्पर्शले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार लघुवित्तले अघिल्लो वर्षको चैतमा रहेको ५६ लाख रुपैंया घाटाको अवस्थालाई सुधारेर १ वर्षमा उक्त आकारमा नाफा पुर्याएको हो । नाफासँगै स्पर्शले रिजर्भको आकार पनि ८ लाखबाट बढाएर ६२ लाख रुपैंया पुर्याएको छ । लघुवित्तले उक्त अवधिमा व्यवसायको आकार तेब्बर बनाएको छ । अघिल्लो वर्ष चैतमा रहेको २ अर्ब ६३ करोडको ऋण लगानीलाई यो वर्ष ७ अर्ब ५३ करोड ८८ लाख रुपैंया ऋण लगानी गरेको छ जसका लागि लघुवित्तले ८ करोड २९ लाख रुपैंया चुक्ता पुँजी, १३ करोड ८८ लाख रुपैंया सदस्यहरुको बचत र ५ अर्ब ९९ करोड ऋणमार्फत् जुटाएको छ । लघुवित्तको पुँजी पर्याप्तता अनुपात १४.९९ प्रतिशत, कस्ट अफ फण्ड ११.०५ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.४६ प्रतिशत छ । स्पर्शले गत चैतमा जारी गरेको आईपीओको सूचीकरण नै बाँकी रहेकोले मूल्य आम्दानी अनुपात भने उपलब्ध छैन ।