बालकोटमा प्रभु बैंकको नयाँ शाखा सञ्चालन
काठमाडौँ । प्रभु बैंक लिमिटेडले सोमबारदेखि भक्तपुर जिल्लाको सुर्यविनायक नपा वडा नं. २ स्थित बालकोटमा शाखा कार्यालय खोली कारोबार सञ्चालनमा ल्याएको छ । भक्तपुर जिल्लाकासांसद महेश बस्नेतले शाखाको उद्घाटन गरेका हुन् । बैंकको बालकोट शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि बस्नेतज्यूले प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे । उक्त कार्यक्रममा प्रभु बैक लि.का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समग्र बालकोटबासीको आर्थिक समृद्धिका लागि प्रभु बैंक ग्राहकहरुसँग आवश्यकतानुसार हातेमालो तथा सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।
सिन्धु बिकास बैंकबाट जिआइसी नेपालको बीमा सेवा पाइने
काठमाडौँ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसि नेपाल) र सिन्धु बिकास बैंक लिमिटेड बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैङ्कबीच आईतबारका सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन् ।
यूकेमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यालय उद्घाटन
काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा यूकेमा पनि शुरु भएको छ । आइतबार यूकेको रेडीङमा कार्यालय उद्घाटन भएको हो । उक्त कार्यक्रममा युकेका लागी नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथिका रुपमा रहेका थिए । साथै, एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेकबहादुर गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध निर्देशक चन्द्र टण्डन, सिटी एक्सपे्रस मनी ट्रान्सफर नेपालका उपाध्यक्ष डोलराज शर्मा, सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत महेशकुमार श्रेष्ठ र सिटी एक्सप्रेस मनी ट्रान्सफर यूके लिमिटेडका प्रबन्धनिर्देशक करमबहादुर गुरुङ्गले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सिटी एक्सप्रेस मनी ट्रान्सफर यूकेले आफ्नो सेवा मोवाइल एप्लिकेशन र अनलाईन बाहेक यूके भर आफ्ना प्रतिनिधि मार्फतपनि दिने योजना बताएको छ । छिट्टै नै यूकेबाट नेपालमा मात्रै सीमित नभई विश्वभर बिप्रेषण सेवा दिने योजनापनि सार्वजनिक गरेको छ ।