साञ्जेन र रसुवागढीले भन्यो-‘चाहिएकोभन्दा धेरै आवेदन पर्यो, मंगलबार आईपीओ बन्द हुन्छ’

काठमाडौं । साञ्जेन र रसुवागढी हाइड्रोपावरले मंगलबार आईपीओ निष्कासन बन्द गर्ने भएको छ । छिटोमा बन्द हुनेगरी तय गरेको निष्कासन अवधिमा मागभन्दा बढी आवेदन परेको भन्दै साञ्जेन र रसुवागढीले मंगलबारदेखि नै आईपीओ बन्द गर्ने जनाएको हो । साञ्जेनको निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष र रसुवागढीको निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले छुट्टाछुट्टै सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन् । गत शुक्रबारदेखि खुला भएको ती दुई कम्पनीको आईपीओमा सर्वसाधारणको आकर्षण देखिएपछि मंगलबार बैंकिङ समयभित्र उक्त आईपीओ भर्ने समय रहनेछ ।

ग्रामीण विकासको हकप्रद २७ गतेदेखि, क-कसले पाउँछन् हकप्रद भर्न ?

काठमाडाै‌ । ग्रामीण विकास लघुवित्तको हकप्रद शेयर बैशाख २७ गतेदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट १ः०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको ग्रामीण विकासले बैशाख २७ गतेदेखि जेठ ३० गतेसम्म उक्त शेयर निष्कासन गर्न लागेको हो । यसका लागि लघुवित्तले शेयरधनी किताब खाता चैत २८ गते बन्द गरिसकेको छ । सो दिनसम्म उक्त शेयर कायम रहने शेयरधनीहरु १०० रुपैंया अंकित मूल्य भएको हकप्रद शेयर भर्नका लागि योग्य हुनेछन् । बुटवल मुख्य कार्यालय भएको तात्कालिन ग्रामीण विकास बैंक ५ ओटा क्षेत्रीय लघुवित्त संस्थाहरु मर्ज भएर बनेको संस्था हो । नेपाल राष्ट्र बैंकको समेत लगानी रहेको उक्त लघुवित्तले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नाम परिवर्तन गरी ग्रामीण विकास लघुवित्त वित्तीय संस्था बनाएको हो । राष्ट्रिय स्तरको संस्थाका देशभरमा १९३ ओटा शाखा छन् । संस्थाले नेपाल राष्ट्र बैंकको न्यूनतम पुँजीकोष अनुपात कायम गर्न हकप्रद निष्कासन गर्न लागेको जनाएको छ ।

आईपीओ आएको गणपतिको रिपोर्टचाहिँ कस्तो आयो, तीन महिनामा रिजर्भ ४५०%

काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को क्रममा रहेको गणपति माइक्रोफाइनान्सले आफ्नो नाफा २ करोड २३ लाख रुपैंया पुर्याएको छ । पुस महिनाको १ करोड ५१ लाख रुपैंया रहेको नाफालाई तीन महिनामा ७२ लाख रुपैंयाले बढाएर उक्त आकारमा पुर्याएको हो । अघिल्लो वर्षसम्म घाटामा रहेको गणपतिले यो वर्षको ९ महिनामा सो मात्रामा नाफा कमाउँदा त्यो नाफा जारी पुँजीको आधारमा प्रतिशेयर करिब ४२ रुपैंया हो । नाफासँगै माइक्रोफाइनान्सले रिजर्भको आकारमा उच्च सुधार गरेको हो । पुस महिना २ करोड रहेको गणपतिको रिजर्भ चैतसम्म आइपुग्दा झन्डै ४.५ गुणा माथि पुगेर ९ करोड रुपैंया कायम भएको छ । गणपतिले चैत मसान्तसम्म ७७ करोड रुपैंया कर्जा प्रवाह गर्दा ४ करोड १९ लाख रुपैंया खुद व्याज आम्दानी गरेको छ । उसले ५४ करोड ८५ लाख रुपैंया बराबरको ऋण लिँदा २० करोड रुपैंया भने सदस्यहरुबाट बचत संकलन गरेको जनाएको छ । गणपतिको हाल पुँजी पर्याइतता अनुपात १०.६६ प्रतिशत छ । यो अनुपात निष्कासित आईपीओको सूचीकरणपछि बढ्छ । त्यस्तै गणपतिको कस्ट अफ फण्ड १०.१८ प्रतिशत छ । निष्क्रिय कर्जा अनुपात भने ०.९७ प्रतिशत छ ।