ऋणको ब्याज एक प्रतिशत बिन्दुले घट्न सक्ने
काठमाडौं । लगानी योग्यपुँजी अभावलाई कारण देखाउँदै कर्जाको ब्याज घटाउन आनाकानी गर्दै आएका बैंक तथा वित्तीय संस्थाले वर्षको अन्त्यमा एक प्रतिशत बिन्दुसम्मले ब्याज घटाउने भएका छन् । चालु आर्थिक वर्षको समय अन्तिम हुन थालेको र सरकारी खर्च पनि बढ्ने क्रममा रहेकाले लगानीयोग्य पुँजीको अभाव नहुँदा ब्याज घट्ने भएको हो । विगतमा तरलता अभावले ऋण दिन नसक्ने अवस्थामा पुगेका बैंकहरु पछिल्लो समय दिन सक्ने अवस्थामा पुगेका छन्। बैंकरहरुका अनुसार अहिले लगानी गर्न सक्ने पुँजी ४० अर्ब हाराहारी छ । यस्तै विगतका तुलनामा सरकारको ढुकुटीमा थन्किएर बसेको रकम केही मात्रामा भए पनि खर्च हुन थालेको छ । गत फागुनसम्ममा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा एक खर्ब ३१ अर्ब ९४ करोड (स्थानीय खातामा रहेको ५० अर्ब ९६ करोड समेत) नगद मौज्दात थियो । चैतमा यो केही घटेको छ । नेपाल बैंकर्स सघंका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले पछिल्लो समय तरलता अभाव समाधान हुन थालेको जानकारी दिए । ‘सरकारी खर्च र कर्जाको ब्याजलगायतबाट बैकिङ प्रणालीमा रकम आएकाले तरलता सहज हुँदैछ,’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका ढुंगानाले नागरिकसँग भने, ‘यसले बैंकको ब्याजदर एक प्रतिशत बिन्दुसम्मले घटने देखिन्छ।’ आधार ब्याजदर (बेस रेट) घट्न थालेकाले ब्याजदर ०.५ देखि एक प्रतिशत बिन्दुसम्म घटन सक्ने देखिएकोे उनले बताए । आर्थिक वर्षको अन्तिममा सरकारी खर्च बढेपछि तरलता अभाव समाधान हुने बैंकरहरुको भनाइ छ । अर्थमन्त्री युवराज खतिवडाले पनि विकास खर्च बढ्दै गएको तर खर्च भए जति रकम भुक्तानी नभएका कारण वास्तविक खर्च नदेखिएको बताएका थिए । नेपाल राष्ट्र बैंकले पनि लगानीयोग्य रकम अभावको समस्या समाधान हुँदै गएकोे बताएको छ । सरकारले विकास खर्च बढाउँदै गएकाले लगानीयोग्य पुँजी अभावको समस्या समाधान हुँदै गएको उसको भनाइ छ । अहिले बैंकले निक्षेपमा नौ प्रतिशतसम्म ब्याज दिएर संकलन गरेको रकम १३ देखि १४ प्रतिशतमा लगानी गरिरहेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
एनआईसी एशिया बैंकले खोल्यो ५ नयाँ शाखा
काठमाडौँ । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यका भित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा कार्यालय सञ्चालन गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. ६ भक्तपुर स्थित पुरानो थिमीशाखाको सोहि वडाका वडाअध्यक्ष ईन्द्रबहादुर प्रजापतिले उद्घाटन गरे । यसैगरी कागेश्वरी मनोहरा नगरपालिका गोठाटार स्थित गोठाटार शाखाको कृष्णहरि थापाबाट उद्घाटन गरियो । यसैगरी सूर्यविनायक नगरपालिकाको वडा नं २ बालकोट शाखाको सोहि वडाका वडा अध्यक्ष कमलनाथ आचार्यले उद्घाटन गरे भने चन्द्रागिरी नगरपालिका वडा नं. ११ सतुङगलचोक स्थित सतुङगलचोक शाखाको चन्द्रांगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले उद्घाटन गरेका हुन् । यता, बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ स्थित फेटा शाखाको फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले बुधबार उद्घाटन गरेको बैंकले जनाएको छ ।
गण्डकी विकास बैंकद्वारा गण्डकी समृद्धि बचत खाता सञ्चालन
काठमाडौँ । खोलौ बैंक खाता अभियान २०७६ लाई आत्मसाथ गर्दै गण्डकी विकास बैंक लिले “गण्डकी समृद्धि बचत खाता” सञ्चालनमा ल्याएको छ । खाता खोल्ना साथ बैंकले रु. १००/- जम्मा गरिदिनेछ भने ग्राहकले शुन्य मौज्दातमै खाता खोल्न सक्नेछन् । “सबै नेपालीको समृद्धिको आशा खोलौ गण्डकीमा समृद्धि बचत खाता” भन्ने नाराका साथ शुरु गरेको खातामा निः शुल्क अन्तर शाखा कारोबार, एटीएम सुविधा, वार्षिक ७% व्याजदर, निःशुल्क शेयर आवेदन फारम भर्न सकिने साथै अन्य थुप्रै सुविधाहरु सहितको विशेषता रहेको बैंकले जनाएको छ ।