नेपालटार, बालकोट र बोडेमा सिद्धार्थ बैंकको शाखा बिस्तार

काठमाडौँ । सिद्धार्थ बैंकले सोमबार काठमाडौँ को नेपालटार तथा भक्तपुरको बालकोट र बोडे गरी ३ नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकिङ्ग प्रणालीलाई थप प्रविधि मैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाताखोल्न सकिने सुविधाका सहित अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंक र जेबिल्स फाइनान्सको संयुक्त कारोबार शुरु, न्युरोडमा शाखा बिस्तार

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट बैंकले जेबिल्स फाइनान्सको प्राप्ति पछि संयुक्त कारोबार शुरु गरेको छ । प्राप्ति पछि बैंकको चुक्तापुँजी वृद्धि भई रु. १२ अर्ब ८९ करोड पुगेको छ । हाल बैंकको कूल निक्षेप रु. १४७ अर्ब र कूल कर्जा रु १३२ अर्ब रुपैयाँ पुगेको छ । यता, राजधानीको प्युखा, न्युरोडमा ८१ औं शाखा उद्घाटन गर्दै नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले बैंकले आगामी आर्थिक वर्ष पनि मर्जर तथा एक्विजिसन(प्राप्ति)लाई रणनीतिक योजनाको हिस्साका रूपमा रहने संकेत गरे । देशभर ८१ वटा शाखा, ११८ एटीएम, १४ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन केन्द्र र ५१ शाखारहित बैंकिङ काउन्टरहरू रहेको बैंकले जनाएको छ ।

नेप्से पाँच अङ्कले बढ्यो, तर बढेन कारोबार रकम

काठमाडौँ । सामान्य अवस्थामा रहेको धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५.०८ बिन्दुले बढेर एक हजार २५४.५६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.७१ बिन्दुले बढेर २७०.२८ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढे पनि अपेक्षाकृतरूपमा कारोबार रकममा भने वृद्धि भएन । कूल १७० कम्पनीको २९ लाख ७३ हजार ८४३ कित्ता शेयर रु ४३ करोड पाँच लाख २५ हजार ८४३ मूल्यमा खरीद–बिक्री भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार भएका ११ उपसमूहकै शेयर उकालो लागेको छ । बैंकिङ २.७६, होटल २४.२५, विकास बैंक ३.७, जलविद्युत् १४.८३, वित्त २.९५, निर्जीवन बीमा १५.६५, उत्पादन ३२६.६९, अन्य ३.२६, लघुवित्त ४.७१, जीवन बीमा २०.५५ र सामूहिक लगानी कोष ०.१३ बिन्दुले बढेको छ । कारोबारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रह्यो । सो बैंकको रु पाँच करोड २१ लाख ९१ हजार ९४५ बराबरको कारोबार भयो । यस्तै शिवम् सिमेन्ट रु तीन करोड ५९ लाख छ हजार ६२५, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु दुई करोड ५४ लाख २८ हजार ४१८, नबिल बैंक रु दुई करोड ४८ लाख ४४ हजार ८०३, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु दुई करोड ३३ लाख ९२ हजार ७२४ र एनआइसिएशिया बैंक रु दुई करोड छ लाख २५ हजार ७८५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार स्वदेशी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले पाँच प्रतिशतले कमाए । यस्तै, एनआइसि एसिया ग्रोथ फण्ड ४.८१, रैराङ हाइड्रोपावर ४.६३, रिलायन्स फाइनान्स ४.१३, एनआइबिएल प्रगति फण्ड ४, गुराँस लघुवित्त वित्तीय संस्थाले शेयरधनीले ३.९० प्रतिशतले कमाए । त्यस्तै नबिल बैंक ३.१५, मल्टिपर्पोज फाइनान्स कम्पनी २.४५, घलेम्दी हाइड्रोपावर २.२९, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था २, सिर्जना फाइनान्स १.९१ प्रतिशतले गुमाए ।