काठमाडौं । बजारमा हल्ला चलेजस्तो ठूला बैंकहरुको मर्जर (बिग मर्जर) प्रति एनएमबि बैंक अनिच्छुक देखिएको छ । एनएमबिले त्यस्तो मर्जरका लागि कुनै योजना नबनाएको बरु क्षेत्रीय उपस्थिति बलियो बनाउन बरु क्षेत्रीय विकास बैंकहरुसँग थप मर्जरमा जान चाहेको एनएमबि बैंकले जनाएको हो ।
एनएमबि बैंकका अध्यक्ष पवनकुमार गोल्यानले बजारमा महामर्जरको चर्चा भए पनि त्यसका लागि आफूहरु इच्छुक नरहेको बताएका हुन् । ‘बजारमा अहिले ठूला बैंकहरुबीच मर्जर हुने हल्ला चलेको छ, त्यो पछिको कुरा हो, त्यसबारे हाम्रो कुनै प्लान छैन, तर हामीले यस्तै (ओमसँगको मर्जरजस्तै) मर्जरको आवश्यकता देखेका छौं । साथै, उनले एनएमबि बैंकले ४/५ ओटा बैंकसँग मर्जर सम्पन्न गरिसकेको भन्दै प्रत्येक मर्जरले आफूहरुलाई क्षेत्रीय रुपमा सशक्त बनाउन सघाएको बताए ।
पूर्वमा हामीले पाथिभरा विकास बैंकसँग मर्ज गर्यौं, प्रदेश ५ मा भृकुटी विकासलाई मर्ज गरेर सो प्रदेशमा बलियो भयौं । क्लिन इनर्जी डेभलपमेन्ट बैंकसँगको मर्जरले नर्वेको एफएमओ बैंकसँगको सहकार्य अघि बढायो, यसैको कारण हामी विदेशी ऋण ल्याउने पहिलो र हालसम्मको एकमात्रै बैंक बन्न सक्यौं ।’ उनले भने ।
ओम डेभलपमेन्ट बैंकसँगको मर्जरले आफूहरुलाई प्रदेश ४ मा सशक्त बैंक बन्ने आधार तयार पारेको भन्दै उनले बाँकी प्रदेशहरुमा पनि उपयुक्त रणनीतिक साझेदार खोज्ने रणनीति रहेको बताए । ‘हामीलाई प्रदेश ६ र प्रदेश ७ मा थप सशक्त हुनुछ, त्यसका लागि शाखा विस्तार गर्ने वा कुनै संस्थासँग मर्जर गर्ने विकल्प हुन्छ, हामी उपयुक्त साझेदार पाए सहकार्य गछौं ।’ अध्यक्ष गोल्यानले भने ।
उनले एनएमबि बैंकले विदेशबाट फर्केकाहरुलाई नेपालमै उद्यमशील बन्न आफूहरुले लगानी गर्ने र कृषि क्षेत्रमा थप लगानी बढाउने घोषणा समेत गरेका थिए । उनले मर्जर प्रक्रिया विवाहजस्तै भएको भन्दै यो सम्पन्न गर्नको लागि दुवै परिवारले कडा मेहनत गर्नुपर्ने समेत बताए । ‘सुरुका दिनहरुमा केही अप्ठ्यारा पनि आउन सक्छन्, मिलेर अघि बढौं ।’ उनले भने ।