एनआईसी र राष्ट्रिय बिमा संस्थानबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंक र राष्ट्रिय बिमा संस्थानबीच बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठकले हस्ताक्षर गरेका हुन् । सो सम्झौता अनुसार बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २८४ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा राष्ट्रिय बिमा संस्थानको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । हाल बैंकको मुलुकभर २ सय ८४ शाखा कार्यालयहरु, २ सय ९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका बैंकले जनाएको छ ।
कमोडिटिज एक्सचेञ्जबारे बोर्डमाथि प्रश्न: अध्ययन नै नगरी किन लाइसेन्स खोलेको ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अध्ययन नै नगरी कमोडिटिज एक्सचेञ्जको लाइसेन्स खुला गरेको र बजार अध्ययनको नाममा फेरि आवेदकहरुको लाइसेन्स रद्द गरिएको भन्दै बोर्डमाथि आलोचना भएको छ । धितोपत्र बोर्डको नीति तथा कार्यक्रममाथि सुझाव दिँदै नेपाल ल क्याम्पसका प्रोफेसर समेत रहेका अधिवक्ता अमृत खरेलले बोर्डले नीतिगत र कार्यगत स्पष्ठता कायम गर्न नसक्दा लाइसेन्सका लागि आवेदन दिएकाहरु फर्कनुपरेको आरोप लगाए । ‘पहिले कल गरेर किन रिसर्च गरियो, अनि फेरि अयोग्य भए, संख्या बढी भयो भन्दै किन आवेदन रद्द गरियो भन्ने जवाफ धितोपत्र बोर्डले दिनुपर्छ ।’ खरेलले भने । नेपालमा अहिले २ ओटा मात्रै कमोडिटिज एक्सचेञ्जको आवश्यकता छ भनिएको छ, त्यो कस्तो एक्सचेञ्ज हो, यसले हाम्रो गाउँघर र कृषि बजारका सामानहरु पनि बेच्छ कि सुन र चाँदी मात्रै हो भन्ने स्पष्ठ हुनुपर्ने समेत उनको भनाई थियो । कार्यक्रममा धितोपत्र बोर्डका सहायक कार्यकारी निर्देशक नवराज अधिकारीले सुरुमा प्रारम्भिक सम्भाव्यताका आधारमा कमोडिटिज एक्सचेञ्जहरुको लाइसेन्स कुला गरे पनि बाह्य विज्ञहरु समेत ल्याएर अध्ययन गर्दा नेपालमा २ ओटा मात्रै कमोडिटिज एक्सचेञ्जको सम्भाव्यता देखेपछि सबै आवेदनलाई रद्द गरेर पुनः आवेदन लिएको बताउँदै अव आवेदन दिनेमध्ये उत्कृष्ठ २ ओटा कम्पनीले कमोडिटिज एक्सचेञ्जको लाइसेन्स पाउने बताए । अर्का प्राध्यापक बासुदेव उपाध्यायले पनि अब आउने कमाेडिटिज एक्सचेञ्ले शहरका ठूलाठूला सामानकाे मात्रै नभएर गाउँका ससाना वस्तुहरु समेत आयात हुनुपर्ने भन्दै त्यसका लागि २ वटाकाे संख्या पर्याप्त नहुने धारणा राखे ।
निरजले अस्विकार गरेपछि आशा राणालाई फेरि निमित्तको जिम्मेवारी, अब को आउला सनराइजमा ?
काठमाडौँ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठले पद भार ग्रहण गर्न अस्विकार गरेपछि सनराइज बैंकले आशा राणालाई फेरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । बैंक सञ्चालक समितिको जेठ २२ गते बसेको बैठकबाट निरजकुमार श्रेष्ठलाई प्रमुख कार्यकारी अधिृकत(सिइओ) पदमा नियुक्त गरेको थियो । असार २ गतेदेखि लागु हुने गरी नियुक्त भएका उनले सोमबार नै पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको थियो । तर, श्रेष्ठले विषेश परिस्थितिका कारण कार्यभार सम्हाल्ने मिति पछि सार्न अनुरोध गरेका थिए । उनले सञ्चालक समितिबाट सर्वसम्मत निर्णय गराउँदा आफुलाई काम गर्न सहज हुने सन्देश पठाएको श्रोतले बतायो । श्रोष्ठले जिम्मेवारी सम्हाल्न आनाकानी गरेपछि बैंकले पुनः राणालाई नै निमित्त सिइओका रुपमा निरन्तरता दिइएको कम्पनी सचिव इश्वरकुमार पाठकले जनाएका छन् । कम्पनी सचिव पाठकले मंगलबार नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र लेख्दै राणालाई निमित्तको जिम्मेवारी दिएको जानकारी गराएको हो । बैंकले यस अघि बैशाख ३१ गतेको पत्र मार्फत राणालाई दिइएको अख्तियारी तथा जिम्मेवारी सिइओले बैंकमा हाजिर भई कार्यभार नसम्हाल्दासम्मका लागि निरन्तरता दिइएको जनाएको हो ।