बारा सिमरामा सनराइज बैंकको शाखा बिस्तार

काठमाडौँ । सनराइज बैंकले बारा जिल्लाको सिमरामा ११४औँ शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक राजनबिक्रम थापा तथा सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यलयको उद्घाटन गरेका हुन् । त्यसैगरी जितपुर सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले एटीएम सेवाको उद्घाटन गरे ।

एनआईसी एशियाका ग्राहकलाई होटल ह्यारिसन विराटनगरमा ३० प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र होटल ह्यारिसन प्यालेस, बन्जारा चोक विराटनगरबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीलाई होटल ह्यारिसन प्यालेसका विभिन्न सेवा सुविधाहरुमा ३०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख दीपक थापा र होटल ह्यारिसन प्यालेसको तर्फबाट होटलका म्यानेजर प्रदीप पोखरेलले हस्ताक्षर गरेका छन् । प्रदेश १ को मुख्य शहर विराटनगर घुम्न जाने बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

४.२० अंकले घट्यो नेप्से, वित्त र लघुवित्त बाहेक सबै समूह राताम्मे

काठमाडौँ । साताको पहिलो दिन आज नेप्से परिसूचक ४.२० अंकले घटेको छ । ०.३३ प्रतिशतले परिसूचक घट्दा १२५९.६४ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आइतबार १६९ कम्पनीका १४ लाख ६७ हजार ४ सय ६७ कित्ता सेयर किनबेच हुँदा ४७ करोड ४१ लाख ५१ हजार ७ सय २९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज वित्त र लघुवित्त समूह बाहेकका सबै समूह राताम्मे भए । बैंकिङ समूह ३.४९, होटल समूह ४.७१, विकास बैंक समूह ३.७, जलविद्युत समूह १०.२८, निर्जीवन बीमा समूह २४.५६, उत्पादनमूलक समूह १९.६१, अन्य समूह १.५१, जीनव बीमा समूह २३.०७ र म्युचुअल फण्ड ०.०९ अंकले घटेका छन् । त्यसैगरी वित्त समूह १.०३ र लघुवित्त समूह ०.२३ अंकले बढेका छन् । बजार घटेको दिन स्वरोजगार लघुवित्त विकास बैंकका सेयरधनीले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएका छन् भने हिमाल पावर पार्टनर लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ५.०५ प्रतिशतले घाटा व्यहोरेका छन् । आज नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, गरिमा विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, प्रभु बैंक लिमिटेड र सानिमा बैंक लिमिटेडको सेयर सबैभन्दा बढी किनबेच भएको नेप्सेले जनाएको छ ।