सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री गरिने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी मङ्सिर ३ गते परिपक्व हुनेछ । बैंकले गत साउन २७ गते पनि रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
प्रुडेन्सियल इन्स्योरेन्सको सत्रौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा आइतबार वीरगञ्जमा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवणकुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार ७ सय ४० रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको अध्यक्ष अग्रवालले साधारण सभामा जानकारी गराए । आव २०७४/७५ मा कम्पनीले रु. १६ करोड २२ लाख १५हजार ७ सय ३४ रुपैयाँ खुद नाफा हासिल गर्न सफल भएको छ । यसअघि कम्पनीको विशेष साधारण सभाले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ । सो हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्ने कम्पनीले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
माछापुच्छ्रे बैंकको ९ शाखारहित बैंकिङ सेवा सञ्चालन
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ९ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले महोत्तरी जिल्लाको बर्दिबास नपा-११, खयरमारा, धनुषा जिल्लाको कमला नपा-०६, सिङ्गयाही मडान, धनुषा जिल्ला कै शहिदनगर नपा-०३, यदुकोहा र लक्ष्मीनिया नपा-०७, लक्ष्मीनिया, सिराहा जिल्लाको कल्याणपुर नपा-०६, भोक्राहा र कर्जन्हा नपा-०२, बन्दिपुरतथा रौतहट जिल्लाको चन्द्रपुर नपा-०२, जुडिवेला, चन्द्रपुर नपा-०३, गैंडाटार र स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका-०५ सेतीदोभानमा थप ९शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । देशका विभिन्न स्थानमा ९शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखा रहित बैंकिङ सेवा १२१ पुगेको जनाइएको छ ।