प्रदेश २ सरकारले आफ्नै बैंक स्थापना गर्ने, कार्यदल गठन

जनकपुरधाम । प्रदेश नं २ को सरकारले आफ्नै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने भएको छ । उक्त बैंक स्थापनाका लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्रीका आर्थिक सल्लाहकार राजकुमार सिंह, जनकपुरस्थित सङ्घीय कोष तथा लेखा नियन्त्रणका प्रमुख डा वीरेन्द्र मिश्र, नेपाल राष्ट्र बैंक जनकपुर शाखाका प्रतिनिधि, आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत र आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत सञ्जय सरदार सदस्य-सचिव रहेका छन् । कार्यदललाई बैंक स्थापनाको आवश्यकता र औचित्य तथा अवधारणा पत्र तयार गरेर प्रदेश सरकारलाई बुझाउने जिम्मेवारी दिइएको छ । कार्यदलका संयोजक डा हरिवंश झाले अवधारणा पत्रमाथि छलफल शुरु भइसकेको र सम्भवतः यसै साता अन्तिम रूप दिइने बताए । रासस

भारततर्फ जाने पूँजी रोक्दै सहकारी, करोडौँ रुपैयाँ स्वदेशमै सञ्चित

  बाँके । कुनै बेला नेपालगञ्ज बजारबाट करोडौँ रुपैयाँ सीमावर्ती भारतीय बजारका बैंक तथा सहकारीमा जाने गर्दथ्यो । दैनिकजसो भारतीय बैंक तथा सहकारीका एजेन्टले नेपालगञ्जका व्यवसायीकहाँ पुगेर रकम सङ्कलन गरी सीमापारि पुर्याउथे । कति बचतकर्ताको रकम त फिर्ता पनि आउँदैन्थ्यो तर, बाँके जिल्लामा सहकारीको बढ्दो प्रभावकारिता र विस्तारले दैनिक आम्दानीको रकम सुरक्षितरुपले बचत गर्न भारतमा पठाउन रोकिएको छ । जिल्लामा बचत तथा ऋणका साथै कृषि सहकारी संस्था खुल्ने क्रम तीव्र भएको छ । टोलटोलमा सहकारी खुलेपछि दैनिक करोडौँ रुपैयाँ स्वदेशमै सञ्चित हुन थालेको छ । जिल्ला सहकारी सङ्घका अध्यक्ष प्रेम सुवेदीले बचत सहकारीको स्थापनापछि नेपाली पूँजी बाहिरिन कम भएको बताए । उनले स्थानीय सहकारीमा रकम जम्मा गर्ने बानी बसेपछि पूँजी पलायन रोकेको बताउँदै भारतमा बचत गर्नेको सङ्ख्या कम हुँदै गएको जानकारी दिएका छन् । अध्यक्ष सुवेदीका अनुसार जिल्लामा चार सयभन्दा बढी सहकारी सञ्चालनमा छन् । “बाँकेमा मात्रै ११ लाख ६५ हजार सदस्य सहकारीमा आबद्ध छन्”, उनले भने । सहकारीको सञ्चालक समितिमा दुई हजार ७०० भन्दा बढी व्यक्ति आबद्ध रहेको बताउँदै उनले दुई हजारले सहकारीमा रोजगारी पाएको जानकारी दिएका हुन् । अध्यक्ष सुवेदीले बाँकेमा सञ्चालित कृषि सहकारीले मात्रै दैनिक आठ हजार लिटर दूधको कारोवार गर्ने गरेको पनि जानकारी दिए । उनले भने, “बाँकेका सहकारीले वार्षिक एक हजार ५०० मेट्रिक टनभन्दा बढी धान र एक हजार मेट्रिक टन गहुँको बीउ तयार गर्छन् ।” जिल्लामा विभिन्न प्रकृतिका सहकारी सञ्चालित छन् । यसबाट विपन्नलाई आयआर्जनमा समेत टेवा पुगेको छ । सहकारीको ऋण परिचालनले धेरैलाई स्वरोजगारसमेत बनाएको अध्यक्ष सुवेदीको भनाइ छ । “सहकारीमैत्री समाज बन्यो भने, कोही कसैको भर पर्नुपर्दैन, सहकारी भए घरघरमा रोजगारी हुने सिद्ध भइसकेको छ ।” अध्यक्ष सुवेदीका अनुसार महिलाले नेतृत्व गरेका सहकारीको वार्षिक कारोवार तुलनात्मक रूपमा राम्रो रहेको छ । स्थानीय तहमै सहकारी खुलेपछि महिलाले भारतीय बैंक तथा वित्तीय संस्थामा बचत गर्न छाडेका हुन् । “सहकारीले साँझ–बिहान चुलोचौको टार्न कठिन पर्नेलाई आयआर्जनमा सहयोग पुर्याएको छ”, पौरखी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद तिमिल्सिनाले भने, “सहकारीले सर्वसाधारणलाई जीवनयापन गर्न सजिलो बनाएको छ । हामीले सीपमूलक तालिमसमेत दिने गरेका छौँ । यसबाट सर्वसाधारण आत्मनिर्भर पनि बनेका छन् ।” ठूला सहकारीले वैदेशिक रोजगार, सवारीसाधन र घर निर्माणमा लगानी गरिरहेका छन् । सरकारी बैंक तथा वित्तीय संस्थामा ऋण लिन लामो र धेरै प्रक्रिया पुर्याउनुपर्ने भएकाले सहकारीप्रति सेवाग्राहीको आकर्षण बढेको उनको भनाइ छ । पौरखी सहकारीले एक महिनामा मात्र रु २२ लाख शेयर बिक्री गर्न सफल भएको अध्यक्ष तिमिल्सिनाले बताए । उनले भने, “जेठ महिनामा मात्र रु २२ लाखको शेयर बिक्री गरेर सहकारीको कूल पूँजी रु एक करोडमाथि पुर्याएको छ ।” बैंकभन्दा सहकारी विश्वासिलो, भरपर्दो र सहज लाग्ने भएकै कारण शेयर खरिदका साथै बचत गर्नेतर्फ सर्वसाधारणको आकर्षण बढेको छ, सामान्य खर्चका लागि श्रीमान्को मुख ताक्नुपर्ने महिला बचत गर्न थालेपछि आत्मनिर्भरसमेत भएको उनको भनाइ छ ।” बचत समूहमा आबद्ध केही महिलाले व्यावसायिक रुपमा पशुपालन (बाख्रापालन, कुखुरापालन) च्याउखेती, तरकारी तथा फलफूल खेती, घरेलु तथा साना उद्योग र व्यवसाय गरेको अध्यक्ष तिमिल्सिनाले बताए । “केही वर्ष अघिसम्म सामान्य परिवारका महिलाले स–सानो खर्चका लागि श्रीमान्को मुख ताक्नुपथ्र्यो, अब त्यो अवस्था रहेन ।” जिल्ला सहकारी सङ्घ बाँकेका अध्यक्ष सुवेदीले एक सहकारी एक उत्पादनको नीतिअनुसार स्थानीय सहकारीका उत्पादनको बजारीकरणका लागि सहकारी बजार स्थापना गर्ने तयारी भइरहेको बताएका छन् । “एक वर्षभित्र जिल्लामा सहकारी बजार स्थापना गर्ने लक्ष्य राखेका छौँ”, उनले भने, “सहकारी बजार स्थापनापछि सहकारीलाई उत्पादनसँग जोड्ने लक्ष्य छ ।” रासस

नागरिक लगानी कोषको कर्जा भुक्तानी अब अनलाइनबाट, हिमालयन बैंकसँग सम्झौता

काठमाडौँ । नागरिक लगानी कोषको नागरिक लगानी कोष कर्मचारी बचत बृद्धी अवकाश कोषको(८०%) कर्जा भुक्तानीलाई अनलाईन माध्यम मार्फत सहजीकरण गराउन हिमालयन बैंक लिमिटेडसँग सम्झौता भई कनेक्टआइपीएस ईपेमेन्ट प्रणालीबाट हुने भएको छ । उक्त सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक रमन नेपाल तथा हिमालयन बैंकका तर्फबाट कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधानले नेपाल क्लियरिङ्ग हाउसका पदाधिकारीहरुको उपस्थितीमा हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात नागरिक लगानी कोषबाट नागरिक लगानी कोष कर्माचारी बचत बृद्धी अवकाश कोषको (८०%) कर्जा भुक्तानी अनलाईन माध्यम मार्फत कनेक्टआइपीएस बाट सोझै यस प्रणालीमा आबद्ध ५० वटा बैंकका खाताबाट गर्न सकिने छ । नागरिक लगानी कोषको कनेक्टआइपीएस प्रणालीबाट हुने भुक्तानी संकलन हिमालयन बैंक लिमिटेडमा हुने जनाइएको छ ।