नेप्से नै विकेपछि १०० रुपैयाँको इक्वीटी फण्डको मूल्य ८ रुपैयाँ ९० पैसामा झर्यो

काठमाडौं । सिद्धार्थ इक्वीटी फण्डको मूल्य ८ रुपैयाँ ९० पैसामा झरेको छ । सिद्धार्थ इक्वीटी फण्डले लगानीकर्तालाई ११ प्रतिशत लाभांश दिएपछि मूल्य समायोजन गर्दा यसको मूल्य ८ रुपैयाँ ९० तोकिएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ । विहीबार यसको कारोबार प्रतिकित्ता १० रुपैयाँमा भएको थियो । सिद्धार्थ इक्वीटी फण्डको अंकित मूल्य १० रुपैयाँ हो । १ अर्ब ५० करोड रुपैयाँ बराबरको इक्वीटी फण्ड बजारमा छ । बास्तविक मूल्य १ रुपैयाँ १० पैसा घटेको भए पनि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) भने ९१ रुपैयाँ १० पैसा घटेको दावी गरेको छ । नेप्सेले सिद्धार्थ इक्वीटी फण्डको अंकित मूल्य १०० रुपैयाँ भएको र स्टक एक्स्चेञ्जमा १५ अर्ब रुपैयाँ बराबरको सिद्धार्थ इक्वीटी फण्ड सूचिकृत रहेको दावी गरेको छ । सिद्धार्थ क्यापिटलले भने अंकित मूल्य १० रुपैयाँ मात्र भएको, नेप्सेमा १५ करोड कित्ता इक्वीटी फण्ड सूचिकृत भएको र त्यसको चुक्ता मूल्य १ अर्ब ५० करोड मात्र भएको जनाएको छ । चन्द्रसिंह साउद महाप्रबन्धक भएपछि नेप्सेको डाटामा व्यापक अनियमितता भएको छ । सेयरसम्बन्धी डाटामा आधारित निजी व्यावसायिक कम्पनीको प्रभावमा परेर नेप्सेले आफ्नै डाटा अविश्वसनिय बनाउने काम गरेको लगानीकर्ताको आरोप छ ।

एभरेष्ट इन्स्योरेन्सले ६ करोड नाफा कमायो, अघिल्लो आवभन्दा ५९ लाख बढी

काठमाडौ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार अनुसार कम्पनीले आर्थिक बर्ष २०७४/७५ मा भन्दा आर्थिक बर्ष २०७५/७६ मा ५९ लाख रुपैयाँले नाफा बढाएको छ । कम्पनीको आव २०७५/७६ मा खुद नाफा ६ करोड ८ लाख रुपैयाँ रहेको छ । यस्तै अघिल्लो आव २०७४/७५ मा भने कम्पनीको खुद नाफा ५ करोड ४९ लाख रुपैयाँ रहेको थियो । कम्पनीको आम्दानी गत आवमा ११ करोड २० लाख ९८ हजार रुपैयाँ रहेको थियो । अघिल्लो आवमा कम्पनीले ८ करोड ९९ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो । यसरी कम्पनीले अघिल्लो आव भन्दा गतआवमा २ करोड २१ लाख रुपैयाँ आम्दानी वृद्धी गरेको छ । एभरेष्ट इन्स्योेरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १४ करोड ११ लाख रुपैयाँ रहेको छ । बीमा कोषमा कम्पनीको २२ करोड ७२ लाख ७१ हजार रुपैयाँ रहेको छ । एभरेष्ट इन्स्योेरेन्स कम्पनीको प्रति सेयर आम्दानी ५.८३ रुपैयाँ रहेको छ । प्रति सेयर नेटवर्थ १३५.३ रहँदा(मूल्य आम्दानीको अनुपात) पीई रेसियो भने ६२.६१ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

नेशनल लाईफको आम्दानी ४८ करोड ६९ लाख, गत आवमा कमायो ३३ करोड नाफा

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको सो वित्तीय विवरण अनुसार ४८ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीको खुद नाफा ३३ करोड ६३ लाख ३८ हजार रुपैयाँ भएको थियो । यस्तै, अघिल्लो आवमा कम्पनीको खुद नाफा २९ करोड ८३ लाख ५९ हजार रुपैयाँ भएको भएको थियो । कम्पनीले आव २०७४/७५ मा भन्दा आव २०७५/७६ मा ३ करोड ८० लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७४ लाख रुपैयाँ, कम्पनीको जगेडा कोषमा ९१ करोड ८६ लाख रुपैयाँ रहेको छ । यस्तै, जीवन बीमा कोषमा भने कम्पनीको २७ अर्ब १९ करोड ८ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । महाविपत्ति जगेडा कोषमा भने २१ करोड ६९ लाख ७३ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११.१८ रुपैयाँ रहेको छ । प्रति सेयर नेटवर्थ १३०.५५ हुँदा पीई अनुपात भने ५२.३१ रहेको छ ।