वैदेशिक रोजगारबाट बीमा कम्पनीले आर्जन गरे सवा २ अर्ब बीमा शुल्क, कसको कति ?

काठमाडौ । गत आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा गएका जनशक्तिबाट जीवन बीमा कम्पनीहरूले २ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो रकम मध्ये सूर्या लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ५१ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ । बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीको दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीले गत आवमा ३९ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने तेस्रो स्थानमा प्राइम लाइफ इन्स्योरेन्स परेको छ । प्राइम लाइफले ३५ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा समितिले उपलब्ध गराएको तथ्यांकले देखाएको छ । मुलुकमा बीमा व्यवसाय संचालन गरिरहेका १९ जीवन बीमा कम्पनीमध्ये चार वटाले वैदेशिक रोजगार सम्बन्धी बीमा पुलमा समावेश भएका छैनन् । एलआईसी नेपाल, अमेरिकन लाइफ, आइएमई लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भने वैदेशिक रोजगार सम्बन्धी बीमा पुलमा सहभागिता नजनाएका हुन् । वैदेशिक रोजगार सम्बन्धी बीमालाई कम्पनीहरूले आफ्नो पक्षबाट प्रवद्र्धन गर्दै सवल र सक्षम बनाएकाले बिमितलाई समेत सहज वातावरण सिर्जना भएको बीमा समितिले जानकारी दिएको छ । समितिले बिमित तथा बीमा कम्पनीको हितमा काम गर्दै बीमा बजारको समृद्धीमा जोड दिने बताएको छ । सूर्या नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शिवनाथ पाण्डेले बीमा शुल्क भन्दा पनि कतिले बीमा गरे र कतिको दाबी भुक्तानी भयो भन्ने कुराले महत्व राख्ने बताए । उनले एउटा सूचकमा यो कम्पनी अगाडी भएपनि विभिन्न सूचकमा अरु कम्पनीहरू पनि अघि बढेको उनले जानकारी दिए । तथ्यांकले समग्र बीमा बजारमा बिमितको आकर्षण बढेको देखाएको समितिले बताएको छ ।    

प्राइम लाइफलाई बोनस सेयर वितरण गर्न बीमा समितिको स्वीकृति, तत्काल विशेष साधारणसभा बोलाइने

काठमाडौं । बीमा समितिले प्राइमलाइफ इन्स्योरेन्स कम्पनीलाई बोनस सेयर वितरण गरी चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउन सहमति दिएको छ । साथै, समितिले कम्पनीलाई तत्काल विशेष साधारणसभा गरी बोनस सेयर वितरण गर्न बाटो पनि खुला गरिदिएको छ । कम्पनीले फ्रि रिजर्भमा रहेको करिव २३ करोड रुपैयाँ सेयरधनीलाइ वितरण गर्न लागेकाे हाे ।  उक्त रकम सेयरधनीलाई बोनस सेयरको रुपमा वितरण गरी पुँजी २ अर्ब पुर्याउने प्रक्रिया खुला गरिएको स्रोतले बतायो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७८ करोड रुपैयाँ छ । एनएफआरएस अनुसार आर्थिक वर्ष २०७४/७५ को बार्षिक प्रतिबेदन बीमा समितिबाट स्वीकृत हुन बाँकी नै भएकोले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले अब विशेष साधारणसभा गरेर बोनस सेयर वितरण गर्नेछ । पुँजीवृद्धिका लागि बीमा समितिले दवाव दिएपछि प्राइमले फ्रि रिर्जभबाट बोनस सेयर वितरण गरी चुक्ता पुँजी २ अर्ब रुपैयाँ बनाउने बाटो रोजेको हो । बीमा समितिको सहमति सँगै सञ्चालक समितिको बैठकले विशेष साधारणसभा बोलाउने र बोनस सेयर वितरण गर्ने प्रस्ताव विशेष साधारणसभा लैजाने निर्णय गर्ने तयारी गरेको छ । कम्पनीले गत दुइ वर्षकाे वार्षिक प्रतिवेदन बीमा समितिबाट स्वीकृत गराएर नियमित साधारणसभा गर्न भने बाँकी नै छ ।

७ महिनामा काठामाडौंमा पानी आउने, नयाँ वर्षमा उपत्यका बासीलाई मेलम्चीको पानी

काठमाडौं । आगामी वैशाखसम्म मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा आउने भएको छ । आज सार्वजनिक लेखा समितिको कार्यक्रममा मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्य कँडेलले सात महिनामै मेलम्चीको पानी काठमाडौं खसाल्ने बताएका हुन् । मेलम्ची खानेपानी आयोजनाको ठेक्का पछिल्लो पटक चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता भई सकेको र कम्पनीले काम अघि बढाइसकेको उनले बताए । सात महिनामै काम सक्ने प्रतिवद्धतासमेत जनाएको उनले बताए । सिनो हाइड्रोसँग १० महिनामा काम सक्नेगरी ठेक्का सम्झौता भएको छ । सात महिनामै काम सम्पन्न गरे १० प्रतिशत बोनस दिने भनेपछि सिनोले सात महिनामै निर्माण सम्पन्न गर्ने बताएको हो । तर, लामो समयदेखि मेलम्चीको काम सकिने लागेको भन्दै विगत केही वर्षदेखि मन्त्रीदेखि मन्त्रालय र आयोजनाका अधिकारीहरुले आशा देखाउने तर आयोजना सम्पन्न नहुने अवस्थाका कारण काठमाडौं बासीहरु निराश हुँदै गएका थिए । मेलम्ची बनाउने ठेक्का पाएको इटालियन ठेकेदार कम्पनी सिएमसी भागेपछि आयोजना थप अन्योलमा परेको थियो । यसैबीच केही दिनअघिमात्रै सिनो हाइड्रोसँग बाँकी काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको छ । आयोजना प्रमुख कँडेलले खानेपानीको पाइप विस्तारका क्रममा ३० करोड रुपैयाँ क्षति पुगेको समेत समितिलाई जानकारी गराए ।