नेशनल लाइफको चेयरपर्शन क्लब समारोहमा १३७ अभिकर्ता सम्मानित
काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कं. लि. को वरिष्ठ अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन “चेयरपर्शन क्लब” समारोह काठमाण्डौंमा आईतवार सम्पन्न भएको छ । समारोहमा आर्थिक वर्ष २०७५÷०७६ मा मुलुकभरी रहेका कम्पनीको ४७,४०० अभिकर्ताहरु मध्ये उत्कृष्ट ब्यवसाय गर्ने २३७ जना अभिकर्ताहरुलाई सम्मानित गरियो । कार्यक्रमको उद्घाटन गर्दै कम्पनी अध्यक्ष प्रेमा सिंहले कम्पनीको विविध पक्ष वारे जानकारी गराउदै कम्पनी वित्तीय एवम् संरचनागत हिसाबले राम्रो रहेको, कम्पनीको जीवन बीमा कोष रु.२७ अरब भन्दा बढी पुगेको र चुक्ता पूँजी नियामक निकायले तोकेको रु.२ अरबलाई पार गरेर हाल रु.३ अरब पुगेको अवगत गराइन् । समारोहमा एजेन्सी म्यानेजरको वर्गमा नेपाल भरीमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु.४ लाख, रु.३ लाख र रु.२ लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो । साथै ब्यक्तिगत अभिकर्तामा नेपाल भरीमा प्रथम, द्वितीय एवम् तृतिय हुनेलाई क्रमशः रु.२.५० लाख, रु.२ लाख र रु.१ लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो । यसैगरी ७ वटा प्रदेशमा प्रथम, द्वितिय र तृतिय हुनेलाई समेत नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको जनाइएको छ । समारोहमा अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने प्रयोजनको लागि मित्र राष्ट्र भारतवाट आएका प्रशिक्षक टिएस मदानवाट प्रशिक्षण कार्यक्रम संचालन गरिएको नायब प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले जनाएका छन् ।
मञ्जुश्री फाइनान्सद्वारा निःसाह्य सेवा सदनलाई सहयोग
काठमाडौँ । संबिधान दिवसको अवसरमा मञ्जुश्री फाइनान्स लिमिटेड, मुख्य शाखा नयाँँबानेश्वरले निसाह्य सेवा सदनलाई सहयो उपलब्ध गराएको छ । नायब प्रमुख कार्यकारी अधिकृत नारायण सुबेदीको अगुवाईमा निःसाह्य सेवा सदन शान्तिनगरलाई जेष्ठ नागरिक उपचार कोषको लागि आर्थिक सहयोग तथा जेष्ठ नागरिकको लागि खाद्यान्न र लत्ताकपडा वितरण गरिएको हो । साथै मन्जुश्री फाइनान्स लिमिटेडका शाखा कार्यालयहरुबाट पनि संबिधान दिवसको अवसर पारेर विभिन्न सामाजिक संस्थाहरुको लागि सहयोग उपलब्ध गराएको जनाइएको छ ।
एनआईसी एशियाका ग्राहकलाई भाटभटेनीमा रु.१ हजारसम्म छुट
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केटबीच डेबिट एवम् क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५% रकम वा अधिकतम रु. १००० सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने बैंकका ग्राहकहरुले उक्त छुट प्राप्त गर्नेछन् । साथै यस बैंकमा खाता नभएका इच्छुकहरुले भाटभटेनी सुपरमार्केटमा रहेको एनआईसी एशिया बैंकको स्टल तथा प्रतिनिधिमार्फत् नयाँ खाता खोल्न सक्ने छन् र इन्स्ट्यान्ट कार्ड प्राप्त गर्न सक्ने छन् । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भाटभटेनी सुपरमार्केटको तर्फबाट सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले हस्ताक्षर गरेका छन् । असोज ८ गतेदेखि कात्तिक १६ गतेसम्म लागू हुने यो योजनाबाट ग्राहकहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।