मेगा बैंकद्वारा बालबालिकालाई खाद्यान्न सहयोग

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको बुढानिलकण्ठस्थित फुड फर लाइफ नेपालमार्फत बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले फुड फर लाइफ नेपाललाई १५ दिनका लागि पुग्ने चामल, नुन, तेलसहित बिभिन्न प्रकारका खाद्य सामाग्रीहरु सहयोग गरेको हो । फुड फर नेपालले सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई नियमित रुपमा आफैले पकाएर खाजा सहयोग गर्दै आएको छ । सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएका विपन्न परिवारका बालबालिकालाई खाजा खानबाट बञ्चित हुन नपरोस् र त्यसले गर्दा पढाईमा कुनै असर नहोस् भन्ने उद्देश्यले मेगा बैंकले फुड फर लाइफ नेपालमार्फत बालबालिकाका लागि खाद्यान्न सहयोग गरेको हो । ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधा प्रदान गर्दै आएको मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमार्फत असहाय तथा विपन्न वर्गका बालिबालिकाको शिक्षाका लागि पनि सहयोग गर्दै आएको छ । अहिले मेगा बैंकका १०२ शाखामार्फत १÷१ जना बालिकालाई पनि बैंकले छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

प्रभु बैंकको १९६औँ शाखा चितवनको कुरिनटारमा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा सोमबारदेखि १९६औं शाखा कार्यालयको सञ्चालनमा ल्याएको छ । बैंकको कुरिनटार शाखा कार्यालयको उद्घाटन इच्छाकामना गाउँँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्गले एक समारोहका बीच गरेकी हुन् । बैंकको कुरिनटार शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कर्णाली प्रदेश सरकार र राष्ट्रिय बीमा कम्पनीको सहकार्य, १७ लाखको सामुहिक बीमा

काठमाडौ । राष्ट्रिय बीमा कम्पनीले कर्णाली प्रदेश सरकारको सहकार्यमा १७ लाख कर्णालीबासीको जोखिम बहन गर्न घर तथा दुर्घटना बीमा कार्यक्रम अघि सारेको छ । सरकारी कम्पनीले नागरिक प्रतिको दायित्व पूरा गर्न सो योजना अघि सारेको हो । सबै प्रदेशमा बीमाको चेतना र पहुँच पुर्याउन अहिले बीमा कम्पनीहरु लागि परेका छन् । सोही क्रममा राष्ट्रिय बीमा कम्पनीले कर्णालीमा रहेको जोखिम र त्यहाँका जनतालाई बीमाबारे सचेत गराउन अग्रसर रहेको बताएको छ । हालसम्म राष्ट्रिय बीमा कम्पनीले ५ वटा प्रदेशमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ । साथै, आगामी दिनमा प्रदेश नम्बर २ र ६ मा समेत कार्यक्रम गर्ने तयारी गरेको छ । कर्णाली प्रदेश सरकारले करीब १७ लाख ७० हजार नागरिकहरुको सामूहिक दुर्घटना बीमा गराएको छ । सामूहिक दुर्घटना बीमाबाट प्राकृतिक विपतको कारणले मृत्यु हुँदा प्रतिनागरिक १ लाख रुपैयाँ प्रदान गरिन्छ । १७ लाख ७० हजार नागरिकको प्रतिनागरिक १ लाख पाउने गरी सो सामुहिक बीमा कार्यक्रम अघि सारिएको हो । भूकम्प, बाढी, आगजनी, हावाहुरीको कारणले मृत्यु भएमा सो लाभ पाइनेछ । कर्णाली प्रदेशको १० जिल्लामा प्रति जिल्ला १ हजार घरको बीमा कार्यक्रम समेत सञ्चालन गरिएको छ । प्रत्येक घरको बीमा ५ लाख रुपैयाँको दरले बीमा गरिएको हो । भूकम्प, बाढी पहिरोको कारणले क्षती हुँदा बढीमा ५ लाख रुपैयाँसम्म प्रदान गरिन्छ । आर्थिक अवस्था कमजोर भएका जनताहरुलाई सहज होस् भन्ने उद्देश्यले उक्त बीमा कार्यक्रम ल्याईएको राष्ट्रिय बीमा कम्पनीले जानकारी दिएको छ । कृषि बीमामा कर्णाली प्रदेशको शत प्रतिशत अनुदान नेपाल सरकारले कृषि बीमामा अनुदान लागि ७५ प्रतिशत हिस्सा व्यहोर्ने भएपनि कर्णाली प्रदेश सरकारले त्यसलाई हेरफेर गर्न आवश्यक मानेको छ । अन्य प्रदेशका लागि सो अनुदानले काम गरेपनि कर्णाली प्रदेशका लागि भने सत प्रतिशत सहुलियत दिन आवश्यक रहेको प्रदेश सरकारको बुझाई छ । राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुवास कोइरालाले भने-‘जोखिम रहेको ठाउँमा बीमा गर्नु आवश्यक हुन्छ, अहिले कर्णालीमा बीमाको आवश्यकता निकै भएकाले हामीले त्यस ठाउँमा पुगेका हौँ ।’ उनले भने-‘आगामी दिनमा बीमा बजार बिस्तार गर्दै अन्य स्थानमा समेत पुग्नेछौँ ।’