कर्पाेरेट ब्याडमिन्टन टुर्नामेन्टमा कामना सेवाको जित

काठमाडौँ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजित ‘अन्नपूर्ण पोष्ट कर्पाेरेट र एक्जिक्यूटिभ ओपन ब्याडमिन्टन टुर्नामेन्ट’ मा कामना सेवाविकास बैंकले एकल र संयुक्त दुवैतर्पm जित हासिल गरेको छ । असोज ६ देखि १२ सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा एकलतर्पm कामना सेवा विकास बैंकका शाखा प्रमुख विशाल खड्का र संयुक्ततर्फ विशाल खड्का एवम् विश्वास नेपालले जित हासिल गरे । प्रतियोगिताका हालसम्मका ६ वटै संस्करणमा विजेता रहेका विशालले फाइनलमा ज्योति विकास बैंकका विकास महर्जनलाई २१-१२ र २१-१३ को सजिलो सेटमा पराजित गर्न सफल भए । विजेता कर्मचारीलाई कामना सेवा विकास बैंकले केन्द्रीय कार्यालय ज्ञानेश्वरमा बधाई सहित सम्मान गरेको थियो ।

एनआईसी एशिया क्यापिटलको एजीएम सम्पन्न, ११ प्रतिशत नगद लाभांश पारित

काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारण सभा(एजीएम) बुधबार सम्पन्न भएको छ । सभाले साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै असार मसान्त २०७६ सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गरेको छ । साथै, उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको ११ प्रतिशतका(कर सहित) दरले हुन आउने रु.२,२०,००,०००/–(अक्षेरेपी दुई करोड बीस लाखमात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले जनाएका छन् ।

ज्योति लाईफले ल्यायो ‘ज्योति थ्री-२० धन बहार’ नयाँ जीवन बीमा योजना

काठमाडौँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आव २०७५/७६ मा उत्कृष्ट व्यवसाय गर्ने देशभरिका अभिकर्ताहरुको प्रोत्साहन र सम्मान स्वरुप एजेन्सी अवार्डस् नाईट दोस्रो संस्करण २०७६ सम्पन्न गरेको छ । दरबारमार्ग काठमाण्डौ स्थित होटल अन्नपूर्णमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर तथा नेपाली सिने जगतका महानायक राजेश हमाल, कम्पनी सञ्चालक समितिका पदाधिकारी, कम्पनीका कर्मचारीहरु तथा उत्कृष्ट व्यवसाय प्रदान गर्ने देशभरका ३०० भन्दा बढी अभिकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष नन्दकिशोर शर्मा, ब्राण्ड एम्बेसडर हमाल, संचालक जयन्तकुमार अग्रवाल, कार्यकारी उपप्रमुख प्रकाशविक्रम खत्रीद्वारा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान पत्र तथा विभिन्न विधाका अवार्डहरु हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा कम्पनीले “ज्योति थ्री-२० धन बहार” नयाँ जीवन बीमा योजनाको औपचारिक रुपमा शुभारम्भ गरेको छ । उक्त बीमा योजना अन्तर्गत १२, १५, १८ र २१ वर्ष अवधिको लागि बीमा योजना खरिद गर्न सकिनेछ । बीमितले बीमा अवधि भित्र ३ पटक बिमाङ्क रकमको एक तिहाईका दरले रकम फिर्ता प्राप्त गर्नुका साथै बीमा अवधि पश्चात बोनस रकम र अवधि समाप्ति पश्चात २० वर्ष सम्म प्रत्येक वर्ष बीमाङ्कको पाँच प्रतिशतका दरले वार्षिक रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् । जसबाट योजना अवधिभरमा र योजना अवधिपश्चात समेत २० वर्षसम्म जोखिम बहन तथा नियमित धनबहार सुनिश्चत गरिएको कम्पनीले जनाएको छ ।