एनआईसी एशियाले ल्यायो नयाँ सुपर चमत्कारिक निक्षेप योजना, १ करोड ३१ लाखको बीमा सुबिधा
काठमाडौँ । एनआईसी एशिया बैंकले २२औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । यस अघिको चमत्कारिक निक्षेप योजनाको सफलतापछि बैंकले सुपर चमत्कारिक बचत योजना संचालनमा ल्याएको जनाएको छ । नयाँ ‘सुपर चमत्कारिक बचत खाता, सुपर चमत्कारिक नारी बचत खाता, सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, सुपर चमत्कारिक बाबु नानी बचत खाता, सुपर चमत्कारिक विद्यार्थी बचत खाता, सुपर चमत्कारिक स्वरोजगार बचत खाता, सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, सुपर चमत्कारिक उद्यमशील बचत खाता, सुपर चमत्कारिक तलब बचत खाताले आम जनमानसको बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ । नयाँ सुपर चमत्कारिक निक्षेप योजनाहरुमा ग्राहकहरुले आफू तथा आफ्नो परिवारको सुरक्षार्थ रु १ करोड ३१ लाख ५० हजारसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने छन् । जसअन्तर्गत परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि रु १ करोड सम्मको बीमा सुविधा, दम्पत्तिको लागि २५ घातक रोगहरुको लागि रु ३० लाख सम्मको बीमा सुविधा, परिवारका लागि रु १ लाख ५० हजार सम्मको औषधी उपचार बिमा सुविधासमेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सुपर चमत्कारिक बचत योजनाअन्तर्गत बैंकका ग्राहकहरुले देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट निःशुल्क रुपमा रकम निकाल्न सक्ने छन् । साथै कर्जामा समेत विशेष छुटका साथै घरमै बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्ने, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा यस योजनाले समेटेको बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा माथि उल्लेखित सुविधाहरुको अतिरिक्त पृथक स्वीप इन–स्वीप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाइनेछ । सुपर चमत्कारिक बचत योजनाले मुलुकका सबै क्षेत्र, भेग, तह र तप्कालाई फाइदा पुग्ने नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जनाएका छन् ।
बानेश्वरमा सनराइज बैंकको १२१ औं शाखा संचालन
काठमाडौँ । सनराइज बैंकले बानेश्वरमा १२१औँ शाखा संचालनमाल्याएको छ । सोमबार आयोजित औपचारिक कार्यक्रममा बैंकका अध्यक्ष मोतीलाल दुगड र संचालक समितिका सदस्यहरु बच्छराज तातेड र शारदा शर्मा पुडासैनीले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । सोहि कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा १० को अध्यक्ष रामकुमार केसी र शारदा शर्मा पुडासैनीले एटिएम उद्घाटन गरेका थिए ।
सिटिजन्स बैंकद्वारा १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा
काठमाडौँ । सिटिजन्स बैंकले सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र लागु हुने गरी आव २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रु. १,००,४५,२७,७७३/- नगद लाभांश र ३ प्रतिशतले हुने रु. २५,११,३१,९४३/- बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । बैंकले सोहि अवधिभित्र रु १ अर्ब ४६ करोड खुद नाफा आर्जन गरेको छ ।