एनआईसी एशियाको एजीएम असोज १० गते, बुक क्लोज कहिले ?
काठमाडौँ । एनआईसी एशिया बैंकको बाइसौँ वार्षिक साधारण सभा(एजीएम) असोज १० गते हुने भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले बिहान ९ बजे आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनका लागि भदौ २९ गतेदेखि असोज १० गतेसम्म सेयर दाखिल खारेज बन्द(बुक क्लोज)हुने कम्पनी सचिव दिपेन कार्कीले जनाएका छन् । बैंक सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले पारित गरी आव २०७५/७६ को आर्थिक विवरण तथा चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर तथा ११.०५ प्रतिशत नगद लाभांश स्वीकृतिको लागि राष्ट्र बैंक समक्ष पठाइएकोमा भदौ १७ गते स्वीकृति प्राप्त भएको कम्पनी सचिव कार्कीले जनाएका छन् ।
वैदेशिक रोजगारबाट बीमा कम्पनीले आर्जन गरे सवा २ अर्ब बीमा शुल्क, कसको कति ?
काठमाडौ । गत आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा गएका जनशक्तिबाट जीवन बीमा कम्पनीहरूले २ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो रकम मध्ये सूर्या लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ५१ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ । बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीको दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीले गत आवमा ३९ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने तेस्रो स्थानमा प्राइम लाइफ इन्स्योरेन्स परेको छ । प्राइम लाइफले ३५ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा समितिले उपलब्ध गराएको तथ्यांकले देखाएको छ । मुलुकमा बीमा व्यवसाय संचालन गरिरहेका १९ जीवन बीमा कम्पनीमध्ये चार वटाले वैदेशिक रोजगार सम्बन्धी बीमा पुलमा समावेश भएका छैनन् । एलआईसी नेपाल, अमेरिकन लाइफ, आइएमई लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भने वैदेशिक रोजगार सम्बन्धी बीमा पुलमा सहभागिता नजनाएका हुन् । वैदेशिक रोजगार सम्बन्धी बीमालाई कम्पनीहरूले आफ्नो पक्षबाट प्रवद्र्धन गर्दै सवल र सक्षम बनाएकाले बिमितलाई समेत सहज वातावरण सिर्जना भएको बीमा समितिले जानकारी दिएको छ । समितिले बिमित तथा बीमा कम्पनीको हितमा काम गर्दै बीमा बजारको समृद्धीमा जोड दिने बताएको छ । सूर्या नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शिवनाथ पाण्डेले बीमा शुल्क भन्दा पनि कतिले बीमा गरे र कतिको दाबी भुक्तानी भयो भन्ने कुराले महत्व राख्ने बताए । उनले एउटा सूचकमा यो कम्पनी अगाडी भएपनि विभिन्न सूचकमा अरु कम्पनीहरू पनि अघि बढेको उनले जानकारी दिए । तथ्यांकले समग्र बीमा बजारमा बिमितको आकर्षण बढेको देखाएको समितिले बताएको छ ।
प्राइम लाइफलाई बोनस सेयर वितरण गर्न बीमा समितिको स्वीकृति, तत्काल विशेष साधारणसभा बोलाइने
काठमाडौं । बीमा समितिले प्राइमलाइफ इन्स्योरेन्स कम्पनीलाई बोनस सेयर वितरण गरी चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउन सहमति दिएको छ । साथै, समितिले कम्पनीलाई तत्काल विशेष साधारणसभा गरी बोनस सेयर वितरण गर्न बाटो पनि खुला गरिदिएको छ । कम्पनीले फ्रि रिजर्भमा रहेको करिव २३ करोड रुपैयाँ सेयरधनीलाइ वितरण गर्न लागेकाे हाे । उक्त रकम सेयरधनीलाई बोनस सेयरको रुपमा वितरण गरी पुँजी २ अर्ब पुर्याउने प्रक्रिया खुला गरिएको स्रोतले बतायो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७८ करोड रुपैयाँ छ । एनएफआरएस अनुसार आर्थिक वर्ष २०७४/७५ को बार्षिक प्रतिबेदन बीमा समितिबाट स्वीकृत हुन बाँकी नै भएकोले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले अब विशेष साधारणसभा गरेर बोनस सेयर वितरण गर्नेछ । पुँजीवृद्धिका लागि बीमा समितिले दवाव दिएपछि प्राइमले फ्रि रिर्जभबाट बोनस सेयर वितरण गरी चुक्ता पुँजी २ अर्ब रुपैयाँ बनाउने बाटो रोजेको हो । बीमा समितिको सहमति सँगै सञ्चालक समितिको बैठकले विशेष साधारणसभा बोलाउने र बोनस सेयर वितरण गर्ने प्रस्ताव विशेष साधारणसभा लैजाने निर्णय गर्ने तयारी गरेको छ । कम्पनीले गत दुइ वर्षकाे वार्षिक प्रतिवेदन बीमा समितिबाट स्वीकृत गराएर नियमित साधारणसभा गर्न भने बाँकी नै छ ।