नेप्सेमा ३० करोड ५३ लाख रुपैयाँको कारोबार, सबै सूचक राता
काठमाडौ । सेयर कारोबार हुने साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक १२.६१ अंकले घटेको हो । १.०६ प्रतिशतले घट्दा नेप्से परिसूचक ११७८.४६ बिन्दुमा पुगेको हो । आईतबार सेयर बजारमा १६५ कम्पनीले कारोबार गरेका छन् । ११ लाख ७३ हजार ४ सय ८८ कित्ता सेयर किनबेच हुँदा ३० करोड ५३ लाख १० हजार ७ सय १९ रुपैयाँको कारोबार भएको छ । बजार घटेको दिन नेप्सेका सबै सूचक राता देखीएका छन् । बैक समूह १०.९६, होटल समूह ९.२२, विकास बैक समूह १५.८२, जलविद्युत समूह १२.९२, वित्तीय समूह ०.२९, निर्जीवन बीमा समूह १०२.२९, उत्पादन मूलक समूह १२.५९, अन्य समूह ७.१५, माइक्रो फाइनान्स ७.५, जीवन बीमा समूह ८५.४४ र म्युचुअल फण्ड ०.०४ अंकले घटेका छन् । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.९० प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, पाँचथर पावर कम्प्याण्ट लिमिटेडका लगानीकर्ताले ८.४९ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
मुनाल सहकारीको एघारौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । पोखराको नयाँबजारमा कार्यालय रहेको मुनाल बचत तथा ऋण सहकारी संस्थाको एघारौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले गरेका हुन् । उक्त सहकारीले आफ्ना शेयर सदस्यलाई आधुनिक वित्तीय सेवा प्रदान गर्ने उद्देश्य अनुरुप एसएमएस बैकिङ सेवाको शुभारम्भ गरेको छ । शेयर सदस्य, सदस्यका परिवार र कर्मचारीलाई थप सुविधा प्रदान गर्न मुनाल डिस्काउन्ट कार्डको समेत निशुल्क वितरण सुरु गरिएको छ । हाल यो डिस्काउन्ट कार्डबाट पोखराका विभिन्न हस्पिटलबाट औषधी, ल्याब तथा विशेषज्ञ सेवामा न्युनतम दश प्रतिशत देखि अधिकतम तिस प्रतिशत सम्म छुट प्राप्त गर्न सकिने अध्यक्ष दुर्गा प्रसाद हुमागाईले बताएका छन् । कार्यक्रममा अतिथि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, केन्द्रीय बचत तथा क्रण संघका सञ्चालक भिम गुरुङ, संस्थाका निवर्तमान अध्यक्ष मेघनाथ काफ्ले, एनआईसी एसिया बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्मा, संस्थाका सल्लाहकार रामजीप्रसाद बाँस्तोला, जयन्द्र राजभण्डारीे, उपाध्यक्ष खेमनारायण खनाल, बयोवृद्ध सदस्य रग बहादुर गुरुङ लगायतको उपस्थित थियो । कार्यक्रममा कोषाध्यक्ष नारायणबहादुर थापाले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन, सचिव मगनलाल श्रेष्ठले प्रस्तुत गरेको सचिवको प्रतिवेदन र लेखासमितिका डिलाराम लामिछानेले प्रस्तुत गरेको लेखासमितिको प्रतिवेदन उपर छलफल गरि सर्वसहमतिले पारित गरिएको मुनाल सहकारीका प्रबन्धक अम्बर बहादुर थापाले बताए । समारोहमा सहकारीका शेयर सदस्य रमेशराज पौडेल र गोदावरी गिरीलाई क्रमशः उत्कृष्ट निक्षेपकर्ता तथा उत्कृष्ट कर्जा उपयोगकर्ताबाट सम्मान गरिएको र वर्षभरिको उत्कृष्ट कर्मचारीबाट संस्थाका कर्मचारी कृष्णकुमारी पौडेललाई सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष दुर्गाप्रसाद हुमागाईंको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष मेघनाथ काफ्लेले स्वागत मन्तव्य तथा कार्यसमिति सदस्य सुधा थापाले सहकारीका सात सिद्धान्त वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मगनलाल श्रेष्ठले गरेका हुन् ।
नेपालमै पहिलोपटक सिभिल बैंकले ल्यायोे ‘किस्ताबन्दी बचत योजना’, मासिक बचत, एकमुष्ट फिर्ता
काठमाडौं । सिभिल बैंक लिमिटेडले नेपाली बैंकहरुकै इतिहासमा नौलो निक्षेप योजना ल्याएको छ । बचत खाता र मुद्दती खाताको विशेषतालाई एउटै खातामा समेट्दै बैंकले ‘किस्ताबन्दी बचत योजना’ सार्वजनिक गरेको हो । उक्त बचत योजना अनुसार कुनै बचतकर्ताले भविष्यको कुनै कालखण्डमा आवश्यक पर्ने रकमको जोहो आजैदेखि किस्ताबन्दीमा गर्न सक्नेछन् भने सो अवधि पूरा भएपछि एकमुष्ट रुपमा सो रकम प्राप्त गर्नेछन् । यो योजना १ वर्षदेखि ७ वर्षसम्मको लागि ल्याइएको छ तर ग्राहकको इच्छा र आवश्यकताअनुसार त्यसभन्दा बढी समयावधिको लागि पनि त्यस्तो बचत योजना सञ्चालन गर्नसक्ने बैंकले जनाएको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सिभिल बैंक प्रदेश ३ का प्रमुख भोलाबहादुर विष्टले सो योजनाको उद्घाटन गरेका हुन् यद्यपि यो योजना बैंकका देशभर रहेका शाखा कार्यालयमा लागु हुने जनाइएको छ । कस्तो छ योजना ? बैंकले सार्वजनिक गरेको सो बचत योजनाले समयावधि र प्रतिमहिना बचत गर्ने किस्ताबन्दीको रकमअनुसार समयावधिपछि भुक्तानी हुने रकम निर्धारण गरिएको छ । जस्तै प्रतिमहिना ७९६७ रुपैंया बचत गरेमा बचतकर्ताले १ बर्षपछि एकमुष्ट रुपमा रु १ लाख रुपैंया प्राप्त गर्न सक्नेछन् । त्यस्तै, मासिक ५१३५ रुपैंया बचत गर्दैजाने बचतकर्ताले ४ वर्षपछि एकमुष्ट रुपमा ३ लाख रुपैंया प्राप्त गर्न सक्नेछन् । बैंकले ७ बर्षसम्म मासिक ८३४७ रुपैंया बचत गर्नेलाई सो समयपछि १० लाख दिनेछ । यस्तो योजनाअनुसार बचतकर्ताले आफ्नो क्षमताअनुसार रु १००० रुपैंयादेखि अधिकतम जतिपनि रकम राख्न सकिने बैंकका प्रदेश ३ प्रादेशिक कार्यालयका प्रमुख विष्टले बताए । उक्त योजनाअनुसार बचत गरेकालाई आवश्यक परेमा सो खाताको धितोमा ऋण दिने, नियमित रकम जम्मा गर्ने अक्षमतामा रकम फिर्ता हुने व्यवस्था समेत रहेको जनाइएको छ । मुद्दती निक्षेपमा भन्दा बढी प्रतिफल बैंकले यो स्कीमबाट प्राप्त हुने ब्याज कति हो भन्नेबारे केही खुलाएको छैन तर बैंकले ल्याएको योजना हेर्दा योजनाको प्रतिफल मुद्दति निक्षेपको भन्दा बढी देखिएको छ । बैंले ल्याएको ती योजनाहरुको एफभीआईएफए क्याल्कुलेटर अनुसार ती योजनाहरुको प्रतिफल दर १० प्रतिशतको हाराहारीमा हुने देखिएको हो ।