छिमेकी लघुवित्तका सेयरधनीले ४४ प्रतिशत लाभांश पाउने
काठमाडौँ । छिमेकी लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ४४ प्रतिशत लाभांश पाउने भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २७.११ प्रतिशत बोनस सेयर र १७.२१ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित नगद लाभांश तथा बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने कम्पनी सचिव दिलिपकुमार श्रेष्ठले जनाएका छन् । संस्थाको हाल कायम चुक्ता पूँजी १ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।
लक्ष्मी बैंकको ११३औँ शाखा सप्तरीको राजविराजमा
काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा ११३औँ शाखा सप्तरीको राजविराजमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
सेञ्चुरी कमर्सियल बैंक आरटीजीएस प्रणालीमा
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक र नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागबीच आरटीजीएस प्रणाली सञ्चालन सम्बन्धि सम्झौता भएको छ । भदौ २२ गते भएको सम्झौतामा सेञ्चुरी बैंकका ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्ने छन् । सम्झौता पत्रमा नेपाल राष्ट्र बैंक, भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले हस्ताक्षर गरेका छन् ।