बैंक अफ काठमाण्डूका सेयरधनीले १७ प्रतिशत लाभांश पाउने
काठमाडौँ । बैंक अफ काठमाण्डूले सेयरधनीहरुलाई १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले आव २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर वितरणका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुने कम्पनी सचिव दीपक गौतमले जनाएका छन् ।
राष्ट्र बैंकले आठ अर्ब ६५ करोडको ट्रेजरी बिल बिक्री गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु आठ अर्ब ६५ करोड ५० लाख बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये रु तीन अर्ब १३ करोड ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । उक्त परिमाणको टे«जरी बिल आगामी मङ्सिर १७ गते परिपक्व हुनेछ । यस्तै रु पाँच अर्ब ५२ करोड बराबरको ट्रेजरी बिल भने १८२ दिनमा परिपक्व हुनेछ । यसअघि बैंकले यही भदौ ९ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो । रासस
एनआईसी एशिया बैंकको एटीएम सेवा पुनः सुचारु
काठमाडौँ । एनआईसी एशिया बैंकको एटीएम सेवा सुचारु भएको छ । प्राविधिक कारणवश आइतबार केही समयका लागि एटीएम सेवा अवरुद्ध भएकोमा हाल सुचारु भएको बैंकले जनाएको छ । सेवा संचालनमा आएसंगै बैंकको कार्ड बाहकहरुले एनआईसी एशिया बैंकको एटीएम तथा पीओएस मेशिनमा प्रयोग गरी कारोबार गर्न सक्ने जनाइएको नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जनाएका छन् ।