सनराइज बैंकको गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौँ । सनराइज बैंकले १२औं वार्षिक उत्सवको अवसरमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले असोज २ गते पेप्सीकोला र असोज ३ गते पोखरा शाखाबाट कार्यक्रमको सुरुवात गरेको थियो । त्यसैगरी बैंकले असोज १० देखि १५ गतेसम्म बिर्तामोड, मिरचैंया, नेपालगञ्ज, सुर्खेत र लम्कीलगायत देशभर विभिन्न शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम गर्ने योजना बनाएको जनाएको छ । बंैकले असोज महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्ने जनाएको छ ।
टेण्डर नगरी ठेक्का सम्झौता गरेको आरोपमा डीडीसीका पूर्व महाप्रवन्धक सहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थान (डीडीसी)का पूर्व निमित्त महाप्रबन्धक गंगा तिमल्सिनासहित १० जना विरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आयोगले संस्थानको दुग्ध वितरण प्रक्रियामा टेण्डर नगरी पुरानै कम्पनीलाई ठेक्का दिएर करोडौं भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेकोे हो । आयोगले संस्थानका तत्कालीन महाप्रबन्धक गंगा तिमसिना, तत्कालीन निमित्त उपमहाप्रबन्धक डा.ईश्वरी प्रसाद अधिकारी, दुग्ध वितरण आयोजना बालाजुका तत्कालीन आयोजना प्रमुख राजगोविन्द राजकर्णिकार, तत्कालीन सहायक प्रबन्धक माधवप्रसाद ओझा विरुद्ध मुद्दा दायरा गरेको हो । तत्कालीन बरिष्ठ लेखा अधिकृत राजनजंग थापा र तत्कालीन प्रशासकिय अधिकृत हाल दुग्ध विकास संस्थानका प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुख दिपक सुवेदी विरुद्ध जनही ४६ लाख ७९ हजार रुपैयाँ ३५ पैसा विगो दावी गर्दै मुद्दा दायर गरेको छ । आयोगले गोकुल निर्माण सेवाका संचालक गोकुल फुयाल विरुद्ध २२ लाख १९ हजार रुपैयाँ विगो दावी गरिएको छ । प्रभु आदित्य बिजनेश प्रालीका संचालक दिप बहादुर खड्का विरुद्ध २४ लाख ५९ हजार रुपैयाँ र अर्का संचालक फणिन्द्र प्रसाद दाहाल तथा सतिस कुमार गिरीका विरुद्ध २४ लाख ५९ हजार रुपैयाँ विगो दावी सहित मुद्दा दायरा गरिएको हो ।
सीआईबीले सरकारी वकिलको कार्यालयमा पेश गर्यो प्रतिवेदन, पूर्ब बैंकर श्रेष्ठ सहित ११ पक्राउ, ५ जना अझै फरार
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) महाराजगञ्ज काठमाडौँले बैंकिङ कसुर ऐन २०५४ बमोजिम हदैसम्मको सजायँ माग दाबी गरी १६ जना बिरुद्ध मंगलबार प्रहरी प्रतिवेदन सहित विशेष सरकारी वकिलको कार्यालयमा पेश गरेको छ । बैंक अफ काठमाडौँ लिमिटेडका तर्फबाट अख्तियारमा कमलपोखरी शाखा कार्यालय प्रमुख प्रतीक श्रेष्ठको जाहेरीले ऋणी स्वर्णिम एण्ड श्रीजन कम्पनी प्रालिका संस्थापक एवम् सञ्चालक सुरेन्द्र श्रेष्ठ सहित १६ जना बिरुद्ध बैंकिङ कसुर ऐन २०६४ बमोजिम हदैसम्मको सजायँ माग गर्दै विशेष सरकारी वकिल कार्यालय काठमाडौँमा पेश गरिएको हो । सञ्चालक श्रेष्ठको नाममा झापाको कित्ता नम्बर ३५९६ र ३२७१ को ४ कठ्ठा १० धुर जग्गा झक्याई झुठा विवरण लिखत र नापी, नक्सा मिलाई बैंकमा पेश गरी एक ठाउँको जग्गा देखाई अन्य ठाउँको जग्गा धितो राखेको र २ करोड ५० लाख १२ हजार ९७ रुपैयाँ बराबरको हानी नोक्सानी पुर्याएको पाइएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जनाएका छन् । उक्त घटनाका अभियुक्तहरु मध्ये विभिन्न मिति र स्थानबाट बैंक अफ काठमाडौँका तत्कालीन प्रमुख कार्यकारी अधिकृत(सीईओ) अजय श्रेष्ठ सहित ११ जना पक्राउ परेका छन् भने ५ जना अझै फरार रहेको सीआईबीले जनाएको छ ।