पुर्नबीमा कम्पनीको सीईओ बन्न छ जनाको आवदेन, अनुभवी आवेदक दुई जना मात्र
काठमाडौं । नेपाल पुर्नबीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदका लागि ६ जनाले आवेदन बुझाएका छन् । दुई जना बीमा क्षेत्रका अनुभवी छन् भने ४ जना पूर्व बैंकर्सले आवेदन दिएका छन् । अनुभवीमा सोही कम्पनीको निवर्तमान प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र युनाईटेड इन्स्योरेन्स कम्पनीको पूर्व प्रमुख कार्यकारी अधिकृत शेखर बराल प्रतिस्पर्धामा छन् । त्यस्तै, कृषि विकास बैंकका पूर्व कर्मचारी शेषनारायण आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी शंकर रायमाझीले पनि पुर्न बीमा कम्पनीको सीईओका लागि आवेदन गरेका छन् । उनीहरुले नेपाल बैंकको सीईओ बन्न पनि प्रतिस्पर्धा गरेका थिए । तर उनीहरुको प्रयास सफल भएन । त्यस्तै, पुर्नबीमामा नेपाल राष्ट्र बैंकको पूर्व निर्देशक अशोक पौडेलले आवेदन गरेका छन् । डा युवराज खतिवडा गर्भनर हुँदा उनी गभर्नरको सचिवलयमा बसेर काम गरेका थिए । उनी डा खतिवडाको विश्वासिला सहयोगि भएको जानकारहरु बताउँछन् । त्यस्तै, नविल बैंकका पूर्व कर्मचारी ज्ञानेश्वर आचार्य पनि सो पदमा आवदेन दिएका छन् । आवेदक मध्ये शेखर बराल प्रभावशाली उम्मेद्वार भएको बुझिएको छ । झापालीहरु शक्ति केन्द्रमा रहेको र बराल पनि झापाली भएकोले उनले नियुक्ती पाउने सम्भावना प्रबल भएको जानकारहरु बताउँछन् । ‘दुई वटा बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ । प्रथम श्रेणीमा मास्टर पास गरेको छु’ बरालले भने–‘अरु आवेदक भन्दा म बढी प्रतिस्पर्धी छु ।’ चिरायु भण्डारी पनि कमजोर दावेदार होइनन् । सोही कम्पनीको ४ वर्ष काम गरि सकेको र बीमा क्षेत्रमा तीन दशक भन्दा बढी नियमति काम गरेकोले उनले मौका पाउन पनि सक्छन् । ‘पहिलो कार्यकाल सफल नै रह्यो । कम्पनीको विजनेश विस्तार गर्न, कम्पनीको नेटवर्क अन्तराष्ट्रिय बजारमा विस्तार गर्ने, कम्पनीको पुँजी वृद्धि गर्न, संस्थागत संरचनाहरु निर्माण गर्न म सफल भए’ भण्डारीले भने- ‘अनुभव र कार्यदक्षताको आधारमा म अरु भन्दा योग्य छु ।’ अरु चार जना आवदेकसँग भने बीमा क्षेत्रको अनुभव छैन । मासिक २ लाख ५ हजार तलव र कार्यसम्पादन नतिजाका आधारमा अतिरिक्त ५ महिनासम्मको प्रोत्साहन भत्तासहितको सुविधा भएको यो पदमा व्यवस्थापकीय उच्च कौषलता भएको व्यक्तिको आवेदन नपरेको छनौट समितिका एक सदस्यले बताए । ‘तबल सुविधा आकर्षक नभए पनि होला, उच्च कार्य सम्पादन नतिजा देखाएको र बजारमा चिनिएका मान्छेको आवेदन परेन’ छनौट समितिका एक सदस्यले भने–आवेदक मध्ये उत्कृष्ट व्यक्ति छान्छौं ।’ पुर्नबीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत छनौटको लागि अर्थमन्त्रायलका सहसचिव हरिशरण पुडासैनी संयोजक, आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य र पुर्नबीमा कम्पनीका सञ्चालक रमेश राणा सदस्य भएको छनौट समिति गठन गरेको छ । छनौट प्रक्रियाले करिब दुई साता लिने स्रोतले बतायो ।
महालक्ष्मी विकास बैंकले पायो साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड
काठमाडौँ । महालक्ष्मी विकास बैंकले साउथ एसिएन फेडेरेशन अफ अकाउन्टेन्ट्स (साफा)द्वारा वार्षिक प्रतिवेदनको मुल्याङ्कन गरी प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड प्राप्त गरेको हो । उक्त अवार्ड नोभेम्बर ३०, २०१९ तारिखमा बङ्गलादेशको ढाकामा एक समारोहका बीच प्रदान गरिने भएको हो । नेपाल चार्टड अकाउन्टेन्ट्स संस्था(आइक्यान)द्वारा प्रदान गरिएको विकास बैैंकतर्फको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड-२०१८ प्राप्त गरे लगत्तै बंैकले साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड –२०१८ पनि प्राप्त गर्न लागेको हो ।
बेष्ट फाइनान्सद्वारा छठ पर्बका २ सय व्रतालुलाई प्राथमिक स्वास्थ्य सेवा
काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी उपशाखाको सहकार्यमा काठमाडौं, कमल पोखरीमा आयोजित छठ मेलाको अवसरमा प्राथमिक उपचार स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सो अवसरमा छठ मेलामा उपस्थित २०० भन्दा बढी व्रतालुहरुलाई आवश्यकता अनुसार प्राथमिक स्वस्थ्य सेवा उपलब्ध गराईएको बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले विगत देखि नै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न क्षेत्रमा सहभागिता जनाउदै आईरहेको तथा सो कार्य नियमित गर्दै जाने बताइएको छ ।