सनराइज बैंकले बुधबारदेखि तीन अर्बकाे ऋणपत्र बिक्री गर्दै, वार्षिक १०.२५ प्रतिशत व्याज निश्चित
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत कम्पनीहरुमध्ये ‘क’ वर्गमा परेको एकमात्र कम्पनी सनराइज बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र(डिबेन्चर) जारी गर्ने भएको छ । बैंकले कात्तिक २० गते(भोलि)देखि अंकित मूल्य १००० रुपैयाँको दरले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । ७ वर्षे अवधि रहेको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत व्याजदर अर्धवार्षिक रुपमा पाउने छन् । उनीहरुले ऋणपत्र बाँडाफाँड भएको मितिबाट ६/६ महिनाको अवधिमा व्याज पाउने छन् । यसअनुसार यस ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले अबको ७ वर्षसम्म पुस र असार महिनामा व्याज भुक्तान लिन पाउने छन् । उक्त ऋणपत्र सार्वजनिक निष्कासन(पब्लिक इस्यू)बाट सर्वसाधारणहरुमा र परिपत्र विधि(प्राइभेट प्लेसमेन्ट)बाट संस्थागत/व्यक्तिहरुमा बिक्री गरिने छ । जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । बाँकी ६० प्रतिशत अर्थात एक अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने छ । लगानी गर्न इच्छुकले भोलिदेखि छिटोमा कात्तिक २४ र ढिलोमा मंसिर १९ गतेसम्म आवेदन दिन सक्नेछन् । जसमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम तीन लाख कित्ता आवेदन दिन पाउनेछन् । तर व्यक्तिगत तवरबाट भने न्युनतम २५ कित्तादेखि माथि जति पनि आवेदन गर्न पाउने कम्पनीले जनाएको छ । बैंकले ऋणपत्र निष्काशन गर्न केयर रेटिङ नेपालबाट “केयर एनपी ए माइनस” रेटिङ्ग पाएको छ । जसले यस ऋणपत्रमा जोखिम न्युन रहेको भन्ने बुझाउँछ । यस ऋणपत्र नेप्सेमा सूचीकरण हुनुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत दिन सकिनेछ । बैंकद्धारा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) जनक शर्मा पौड्यालले भने, ‘यसमा लगानी गर्ने लगानीकर्ताले ७ वर्षसम्म निरन्तर उच्च प्रतिफल पाउने छन् । त्यसैले, लगानी गर्न इच्छुकलाई याे निकै राम्रो अवसर रहेको छ ।’ यस बारेमा थप जानकारी दिँदै बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका सीईओ ध्रुव तिमिल्सिनाले कुनै पूर्वनिर्धारित जोखिम नभएको तथा जोखिम मुक्त यस ऋणपत्र बजारमा सजिलै बिक्री हुने विश्वास गरेका छन् । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड मार्फत् बिक्री हुनेछ । सर्वसाधारणले भने आफ्नो डिम्याट खातासँग लिङ्क भएका जुनसुकै बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रयोगकर्ताले इन्टरनेट पहुँच भएका जुनसुकै स्थानबाट आवेदन गर्न सक्नेछन् । बैंक खाता नभएका तर लगानी गर्न इच्छुक सर्वसाधारणले देशभर रहेका जुनसुकै बैंकमा खाता तथा डिम्याट खाता खोली सजिलै लगानी गर्न सक्नेछन् । हाल बैंककाे चुक्ता पुँजी ८ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । त्यस्तै, बैंकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैकिङ सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४२ एटीएममार्फत सेवा दिँदै आएको छ ।
एनआईसी एशिया र युनियन पे इन्टरनेशनलको सहकार्यमा भर्चुअल कार्डबाट भुक्तानी शुरु
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले युनियन पे इन्टरनेशनलको सहकार्यमा ‘एनआइसी एशिया युनियन पे भर्चुअल कार्ड’को प्रयोगबाट भुक्तानी गर्ने प्रणालीको शुरुवात गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र युनियन पे इन्टरनेशनका अध्यक्ष चाई जियानबोको प्रमुख आतिथ्यतामा नेपालमा आधिकारिक रुपमा कार्य शुरु गरिएको हो । उक्त कार्यक्रममा युनियन पे इन्टरनेशनल र एनआईसी एशिया बैंकका उच्च पदाधिकारीहरुको सहभागिता रहेको थियो । सो सेवालाई बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सेवासंग एकिकृत गरी छिट्टै ग्राहक सामु लैजाने योजना बनाएको छ । साथै, यस सुरुवातले नेपालको डिजिटल भुक्तानी प्रणालीमा सुदृढिकरण हुने विश्वास बैंकले लिएको छ । नेपाल सरकारबाट घोषित पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस सम्झौताले नेपालमा आगन्तुक पर्यटकहरुलाई उक्त भुक्तानी प्रणालीको प्रयोगबाट वस्तु तथा सेवा खरिदको भुक्तानीमा सहज हुने विश्वास लिइएको छ । युनियन पे इन्टरनेशनलले विश्वभरका १७५ भन्दा बढी मुलुकहरुमा भुक्तानी सेवा बिस्तार गर्नुका साथै ८ अर्ब भन्दा बढी कार्ड जारी गरेकोे जनाइएको छ ।
‘साधना लघुवित्त’ले कमायो ७३ लाख नाफा, अघिल्लो वर्षको तुलनामा ५१३ प्रतिशतले बृद्धी
काठमाडौँ । गोरखा जिल्लाको गोरखा नगरपालिकामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७६ लाख ६३ हजार खुद नाफा आर्जन गरेको छ । लघुवित्तकोे अघिल्लो वर्षको यही अवधिमा १४ लाख ९३ हजार मात्रै नाफा रहेको थियो । अघिल्लो बर्षको तुलनामा चालु आवमा ५१३ प्रतिशतले नाफा बृद्धी भएको मंगलबार सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । समीक्षा अवधिमा अन्य लघुवित्त नपुगेको क्षेत्रमा शाखा संजाल आक्रमक रुपमा बिस्तार गरेको लघुवित्तले गत असार ३० गतेबाट आर्थिक समृद्धी लघुवित्तलाई प्राप्ति गरी एकिकृत कारोबार संचालन गरेको छ । ब्यबसाय बिस्तारमा उत्कृष्ट प्रगती प्राप्त गरेकै कारण खुद ब्याज आम्दानी रु २ करोड ४६ लाख २ हजार पुर्याएको छ भने अघिल्लो बर्षको यही अवधिमा ६६ लाख ३१ हजारमा सीमित रहेको थियो । यसैगरी समीक्षा अवधिमा ३२ करोड ५९ लाख बचत संकलन गरी १ अर्ब ४ करोड १६ सापटी लिएर १ अर्ब ३६ करोड १९ लाख कर्जा परिचालन गरेको छ । अघिल्लो बर्षको यही अवधिमा ८ करोड ५६लाख बचत संकलन गरी ४४ करोड ७२ लाख सापटी लिई ५० करोड ७४ लाख कर्जा परिचालन गरेको थियो । यसैगरी वित्तीय संस्थाको अघिल्लो आर्थिक बर्षमा २३ लाख ९० हजारमात्र रहेको रिर्जब ३ करोड ४१ लाख पुगेको छ । अघिल्लो आवको यही अवधिमा कूल ४ करोड ९० लाख चुक्ता पूँजी रहेकोमा यस आवमा चुक्ता पूँजी १४ करोड ६० लाख भएको छ । त्यस्तै समीक्षा अवधिमा कस्ट अफ फण्ड ९.६२ प्रतिशत रहेको छ भने तरलता अनुपात १३.२१ प्रतिशत, प्रति शेयर आम्दानी २०.९८ (बार्षिक) रहेको छ ।