आरएमडीसी लघुवित्तका शेयरधनीले २५ प्रतिशत लाभांश पाउने निश्चित
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २५ प्रतिशत लाभांश पाउने भएका छन् । बुधबार सम्पन्न संस्थाको २१ औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गरेसँगै शेयरधनीले सो मात्राको लाभांश पाउने भएका हुन् । सभाले पारित गरेसँगै शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १२.५ प्रतिशत र १२.५ प्रतिशत बोनस पाउने भएका छन् । संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा संचालन मुनाफा ४८ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । अधिकृत पुँजी एक अर्ब रुपैयाँ रहेको यस वित्तीय संस्थाको चुक्ता पुँजी १२.५ प्रतिशत बोनस पश्चात ८९ कराेड ९२ लाख रूपैयाँ पुगेकाे छ । संस्थाले आर्थिक वर्ष २०७५/०७६ को असार मसान्तसम्ममा ३२ अर्ब ७ करोड रुपैयाँ ऋण लगानी गरेको छ भने सो अवधिमा लगानीमा रहिरहेको बाँकी ऋण रकम ८ अर्ब २२ करोड रुपैयाँ रहेको बताएकाे छ ।
नबिल बैंकको ३४ प्रतिशत लाभांश पारित, प्रतिशेयर आम्दानी साढे ५० रूपैयाँ
काठमाडौं । नबिल बैंकको प्रस्तावित ३४ प्रतिशत लाभांश पारित भएको छ । मंगलबार सम्पन्न बैंकको ३५औं वार्षिक साधारणसभाले शेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी सो मात्राको प्रस्तावित लाभांश पारित गरेको हो । उक्त बोनस पछि बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ नाघेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६मा ४ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रतिशेयर आम्दानी ५०.५७ रुपैयाँ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब १ अर्ब रुपैयाँ पुर्याएको छ । बैंकको संचालन मुनाफा ६ अर्ब ३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ६.६१ प्रतिशत र ६.४५ प्रतिशतले वृद्धि भएको छ । बैंकको संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालको सफल नेतृत्वमा अघि बढिरहेको यस बैंकको “नेटवर्थ” २३ अर्ब १९ करोड रुपैयाँ रहेको छ । कार्यक्रममा अध्यक्ष पौड्यालले नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएको बताएका छन् ।
प्रिमियर इन्स्योरेन्सका सीईओ विश्व तिमिलाले गरे पदवहाली
काठमाडौं । प्रिमियर इन्स्योरेन्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) विश्व तिमिलाले पदवहाली गरेका छन् । बीमा क्षेत्रमा करिब ४ दशकदेखि कार्यरत रहेका सीईओ तिमिलाले पुस २२ गते सीईओ पदको पदवहाली गरेका हुन् । कम्पनी संचालक समितिले सिफारिस गरेको तिमिलाको नियुक्तीलाई बीमा समितिले पुस १७ गते स्वीकृत गरेको थियो । नेको इन्स्योरेन्स कम्पनीमा सीईओको रुपमा नेतृत्व गरेका सीईओ तिमिलाले त्यसपछि केही समय सोही कम्पनीको संचालकको जिम्मेवारी सम्हालेका थिए । वि.स २०३७ साल देखि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा बजार अधिकृतका रुपमा करियर शुरु गरेका तिमिलाले वि.स २०५३ मा नेको इन्सुरेन्समा वरिष्ठ प्रबन्धकको रुपमा प्रवेश गरेका थिए भने २०७२ साल देखि २०७३ सालसम्म सीईओ पदको कार्यभार सम्हालेका थिए ।