प्रिमियर इन्स्योरेन्सको सीईओमा विश्वराम तिमिला, बीमा क्षेत्रमा ४ दशकको अनुभव
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा विश्वराम तिमिला नियुक्त भएका छन् । तिमिलाको नियुक्ती बीमा समितिले बिहीबार स्वीकार गरेको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले स्वीकार गरेपछि मात्रै नियुक्तिले बैधता पाउँछ । प्रिमियर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले ३ साताअघि तिमिलालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णयसहित स्वीकृतको लागि बीमा समिति पठाएको थियो । तिमिला यसअघि नेको इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए । नेकोबाट हटेको करिव ६ महिनाको कुलिङ पिरियडपछि उनी प्रिमियरमा प्रवेश गरेका हुन् । उनले बीमा क्षेत्रमा करिब ४ दशक बिताएका छन् । ओरेन्टल इन्स्योरेन्स कम्पनीमा १५ वर्ष र नेको इन्स्योस्योरेन्समा २३ वर्ष काम गरेका तिमिलाले नेको इन्स्योरेन्समा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका छन् । उनीसँग बीमा कम्पनीको फाइनान्स, अन्डरराइटिङ, मार्केटिकङलगायत सबै विभागमा काम गरेको अनुभव छ ।
एनआईसी एशिया बैंक र श्री तिनाउ इन्टरनेशनल हस्पिटलबीच छुटसम्बन्धी सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंक र श्री तिनाउ इन्टरनेशनल हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र तिनाउ इन्टरनेशनल हस्पिटलका प्रबन्ध संचालक बिमल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बैंकका कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १०% देखि १५% सम्मको छुट हुने भएको छ । बैंकको मुलुकभर ३ सय १३ शाखा कार्यालयहरु, ४ सय ८ एटिएम, १ सय २ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भएको छ । उत्तरदायी बैकिंङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । साथै, वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
पोखरामा सिद्धार्थ इन्स्योरेन्सकाे अन्तर्क्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गण्डकी प्रदेशको पोखरामा बीमा दावी सम्वन्धि अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले “संस्थागत सुशासन र पारदर्शिता, दावी भुक्तानीको सुनिश्चितता” विषयक उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बीमा दावी सम्बन्धि विषयमा बीमितसँगको प्रत्यक्ष सात्क्षातकारबाट एक अर्काको कमि कमजोरी पहिचान गरि, दावी भुक्तानी कार्यलाई प्रभावकारी बनाउन थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । कम्पनीका सञ्चालक पवन कुमार अग्रवाल सभापतित्वमा सम्पन्न कार्यक्रममा होटल, पर्यटन, मोटर व्यवसायसँग सम्वन्धित व्यवसायी तथा वीमा दावीसँग प्रत्यक्ष संलग्न रहने सर्भेयरहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले बीमितको हितलाई केन्द्रविन्दुमा राखेर बीमा दावीको भुक्तानी गर्ने लक्ष्य रहेको र बीमा दावी फर्छयौट प्रकृयालाई अझ सरल, सुलभ र पारदर्शी बनाउनेतर्फ क्रियासिल रहेको बताएका छन् ।