हिमालयन जनरल इन्स्योरेन्सको लाभांशदर घट्यो, अब कति दिन्छ ?
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको प्रस्तावित लाभांश दर घटेको छ । कम्पनीको गत आर्थिक वर्षको परिमार्जित वित्तीय विवरण अनुसार प्रस्तावित लाभांशदर घटेर ७.७५ प्रतिशतमा झरेको छ । पुस १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद लाभांश वितरण दिने प्रस्ताव गरेको थियो । तर उक्त प्रस्तावलाई बीमा समितिले परिमार्जन गरेको हो । यससँगै अब कम्पनीले बीमा समितिको स्वीकृति पश्चात हालको चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब २ करोड रुपैयाँ रहेको छ । ४ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ६ करोड रुपैयाँ नाघ्ने छ । उक्त नयाँ लाभांश प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
सिद्धार्थ बैंकको न्यूरोड नेपालगञ्ज र बीपी चोक शाखाको औपचारिक उद्घाटन
काठमाडौं । सिद्धार्थ बैंकले मंगलबार बाँकेस्थित न्यूरोड नेपालगञ्ज शाखा र बीपी चोक शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकको न्यूरोड नेपालगञ्ज शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर सुश्री उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाले गरेका हुन् । त्यस्तै, बीपी चोक शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्त रुपमा गरेका थिए । बैंकले न्यूरोड नेपालगञ्ज शाखा पुस १६ गते र बीपी चोक शाखा भदौ ९ गतेदेखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०३ एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा दिंदै आएको छ ।
सिभिल बैंकको थप नयाँ शाखा गोरखाको धार्चेमा
काठमाडौं । सिभिल बैंकले शाखा विस्तार गर्ने क्रममा गोरखाको धार्चेमा नयाँ शाखा स्थापना गरेको छ । उक्त धार्चे शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले गरेका हुन् । उद्घाटनमामा गभर्नर डा. नेपालले मुलुकका सबै ठाउँमा बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने उल्लेख गर्दै मुलुकका दुर्गम स्थानसम्म वित्तीय पहुँच पुर्याउने लक्ष्यलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको जानकारी दिए । मुलुकका ७५३ वटै स्थानीय तहमा वित्तीय पहुँच पुर्याउने राष्ट्र बैंकको नीतिगत अभियानमा सिभिल बैंकको धार्चे शाखाले अर्को ईंटा थपेको बताए । समारोहमा धार्चे गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले धार्चे जस्तो दुर्गम ठाउँमा सिभिल बैंकले शाखा स्थापना गरेकोमा खुशी व्यक्त गर्दै उक्त शाखाले धार्चे गाउँपालिकाका जनताको घरदैलोसम्म वित्तीय सेवा उपलब्ध गराइ स्थानीय जनतामा उद्यमशीलताको विकास र जीवनस्तर उकास्नमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । यसैगरी, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले धार्चे शाखाले यस क्षेत्रमा प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराई उद्यम, व्यवसायको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले ग्रामीण अर्थतन्त्र उकास्नका निम्ति कृषि, पशुपालन, पर्यटन लगायतका क्षेत्रमा लगानी बढाउँदै ‘समृद्घ धार्चे’ को सपना साकार बनाउने लक्ष्यका साथ सहकार्य गरेर अघि बढ्ने भाव व्यक्त गरे । सिभिल बैंकमा हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहकहरु आबद्ध छन् । यस बैंकले रु.५२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु.५० अर्ब भन्दा बढी कर्जा लगानी गरेको छ । धार्चे शाखाको स्थापना सँगै सिभिल बैंकको गण्डकी प्रदेशमा १२ सहित नेपाल भर कुल शाखा संख्या १०३ पुगेकोे छ ।