कोरोना संक्रमणको त्रासबीच कसरी चल्दैछन् बीमा कम्पनीहरु ?

काठमाडौं । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस संक्रमणबाट बच्न नेपालमा पनि उच्च शतर्कता अपनाइएको छ । सरकारले चैत महिनाभरको लागि उच्च शतर्कताका विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । अन्य कार्यक्रमसँगै सरकारले यो समयमा अत्यावश्यक बाहेकका प्रायः सबै सेवा बन्द गरेको छ । अत्यावश्यक सेवामा अन्य १९ वटा सेवासँगै बीमा पनि पर्छ । त्रासका बीच बीमा कम्पनीहरुले कसरी सेवा प्रदान गरिरहका छन् वा कसरी बीमा कम्पनी संचालन भइरहेका छन् भन्ने विषयमा हामीले जीवनी बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुको संस्था जीवन बिमक संघ र निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था निर्जीवन बिमक संघका अध्यक्षसँग बुझ्ने प्रयास गरेका छौं । यो त्रासको बीचमा पनि सेवा प्रवाहमा कुनै सम्झौता नगरी ग्राहकलाई सकेसम्म धेरै सेवा दिने प्रबन्ध मिलाइएको संघहरुका अध्यक्षले जानकारी दिए । जीवन बिमक संघको अध्यक्ष सूर्या लाइफ इन्स्यारेसन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे छन् भने निर्जीवन बिमक संघको अध्यक्ष शिखर इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे छन् । जीवन बिमक संघ जीवन बिमक संघका अध्यक्ष तथा सूर्या लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शिवनाथ पाण्डे सेवा प्रवाहमा ग्राहकलाई अप्ठेरो नपर्ने व्यवस्था कम्पनीहरुले गरेको बताउँछन् । कोरोना भाइरस संक्रमणको त्रास तथा सरकारले अत्यावश्यक बाहेकका सेवा बन्द गरेकोले कार्यालय खोल्न गाह्रो भएपनि कम्पनीहरुले अधिकतम प्रयास गरेर सेवा सुचारु गरिरहेको बताए । ‘यस्तो बेलामा कार्यालय खोलेर सेवा प्रवाह गर्न सजिलो छैन, तर बीमा व्यवसाय अत्यावस्यक सेवाभित्र पर्ने भएकोले हामीले हरसम्भव प्रयास गरेर सेवा प्रवाह गरिरहेका छौं,’ सूर्या लाइफ इन्स्यारेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पाण्डेले भने । जीवन बिमक संघले सेवा संचालन गर्नको लागि यस्ता निर्णय गरेको छः १. नेपाल राजपत्र बमोजिम बीमा सेवा अत्यावश्यक सेवा भएको र नेपाल सरकारबाट मिति २०७६।१२।९ देखि २०७६।१२।२१ आवश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय भएकाले जीवन बीमा व्यवसाय गर्ने कम्पनीले सोही बमोजिम जीवन बीमा सेवा सुचारु रुपमा संचालन गर्ने । २. जीवन बीमा कम्पनीहरुले बीमा सेवा सुचारु गर्दा कोभिड १९ भाइरसबाट कर्मचारी, अभिकर्ता तथा सेवाग्राहीलाई पर्न सक्ने असरलाई न्यूनीकरण गर्न स्वास्थ्य सम्बन्धि आधारभूत सुरक्षाका उपयुक्त उपायहरु अवलम्बन गर्ने । ३. कर्मचारी, अभिकर्ता तथा सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर नपरोस भन्ने उदेश्यले न्यूनतम कर्मचारीबाट बीमा सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउँने । ४. विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै बीमा अभिकर्ताको इजाजतपत्र नविकरण गर्ने म्याद थप गर्न बीमा समितिमा अनुरोध गर्ने । ५. विकसित घटनाक्रमलाई मध्यनजर गर्दे संघले सम्बन्धित सरोकार व्यक्ति तथा बीमा समितिसँग आवश्यक छलफल तथा पारामर्श गरी उपयुक्त निर्णय लिदै जाने । निर्जीवन बिमक संघ निर्जीवन बिमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिपप्रकाश पाण्डेले निर्जीवन बीमा कम्पनीहरु पनि यथासम्भव बढी सुविधा दिने प्रयत्नमा रहेको बताए । कोरोना संक्रमण सन्त्रासको समयमा कार्यालय खोलेर सेवा प्रवाह सुचारु राख्नु चुनौतिपूर्ण भएपनि आफूहरुले त्यसको उचित व्यवस्थापन गरेको अध्यक्ष पाण्डेको भनाइ छ । निर्जीवन बीमा कम्पनीहरुले विगतमा दिए जस्तै सेवा दिनको लागि आवश्यक प्रबन्ध मिलाएको उनको भनाइ छ । ‘हामीले जे जति समस्या र अप्ठेरो भोग्नुपरे पनि ग्राहकलाई प्रदान गर्ने सेवामा कुनै कमी आउन नदिने गरी प्रबन्ध मिलाएका छौं, अहिले पनि हिजोका दिनमा ग्राहकले जे जस्तो सेवा पाउनु भएको थियो, त्यस्तो सेवा पाउनु भएको छ, फोनबाट हुने काममा फोनबाटैै तथा अन्यका कामका लगि २४ सै घण्टा हामी सेवामा समर्पित छौं,’ शिखर इन्स्यारेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पाण्डेले भने । मुख्य कुरा दाबी–भुक्तानी रहेको र आपूmहरुले त्यसमा कुनै अवरोध नआउने गरी आवश्यक प्रबन्ध मिलाइएकोले ग्राहकलाई अप्ठेरो नपर्ने उनको भनाइ छ ।

सेयर बजार ५ दिनसम्म बन्द गर्ने निर्णय

काठमाडाैं । धितोपत्र बोर्डले सेयर बजार ५ दिनसम्म बन्द गर्ने निर्णय गरेकाे छ । बाेर्डमा आइतबार बसेकाे बैठकले सेयर बजार ५ दिनसम्म बन्द गर्न निर्देशन दिने निर्णय गरेकाे हाे । बोर्ड स्रोतका अनुसार सोमबारदेखि कार्यदिनसम्म सेयर कारोबार हुने छैन । अर्काे साताको लागि भने परिस्थिती हेरेर निर्णय हुने छ । शुक्रबार प्रधामन्त्री केपी शर्मा ओलीले सम्बोधनको क्रममा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने घोषणा गरेका थिए । अत्यावश्यक सेवामा सेयर बजार नपर्ने भएपनि आइतबार दिनभर लगानीकर्ताका संगठन र नेप्सेबीच सेयर कारोबार खोल्ने कि बन्द गर्ने भन्ने विषयमा विवाद भएर याे निर्णय भएकाे हाे ।

स्टक ब्रोकर्स एशोसिएसनको सेवा बन्द

काठमाडौं । स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले चैत ९ गते(आइतबार) देखि आफ्नो सेवा बन्द गरेको छ । एशोसियसनले सरकारको निर्णयलाई पालना गर्दै आजदेखि आगामी चैत २१ गतेसम्म सेवा बन्द गर्न लागेको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेका थिए । यसपछि शनिबार बसेको ब्रोकर एसोसिएसनको बैठकले प्रधानमन्त्रीको निर्देशन पालना गर्ने सहमति गरसँगै चैत ९ गते अर्थात आजदेखि उक्त सेवा बन्द गरिएको एशोसिएसनको महासचिव धर्मराज सापकोटाले बताएका छन् । अब नियामक निकाय नेपाल धितोपत्र बोर्ड, बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) र सिडिएस एण्ड क्लियरिङको थप निर्देशन अनुसार अघि बढ्ने महासचिव सापकोटाले बताए ।