प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा मानन्धर र श्रेष्ठ पुनः निर्वाचित

काठमाडौं । प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा केदार नारायण मानन्धर र बलराम श्रेष्ठ पुनः निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न कम्पनीको २६औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना संचालकलाई पुनः निर्विरोध निर्वाचित गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा कुल बीमा शुल्क एक अर्ब ६४ करोड ६७ लाख ८८ हजार रुपैयाँ र २६ करोड ५८ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ रहेको छ ।

एनआईसी एशिया लघुवित्तको आईपीओ शनिबार नै बाँडफाँड हुने, घरबाटै लाइभ हेर्न सकिने

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) शनिबार(असार २० गते) नै हुने भएको छ । आइतबार बाँडफाँड हुने भनिएको संस्थाको आईपीओ एक दिन अगाडि नै बाँडफाँड हुने भएको हो । संस्थाको आईपीओ शनिबार बिहान साढे ९ बजे सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा हुनेछ । उक्त सेयरकाे बाँडफाँड प्रक्रिया लगानीकर्ताले सानिमा क्यापिटलको फेसबुक पेजबाट लाइभ हेर्न सक्नेछन् । आगामी साता दुई कम्पनीको आईपीओ निष्काशन हुने भएको र उक्त सेयरमा लगानी गर्न लगानीकर्तालाई सहज हुने भएकाले शनिबार नै बाँडफाँड गर्न लागेको बिक्री प्रबन्धक क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आइतबार साधना लघुवित्तको आईपीओको बिक्री खुला हुने भएको र सोहि दिन बाँडफाँड गर्दा सीडीएससीको सर्भरमा चाप पर्ने भएकाले अघिल्लो दिनको लागि मिति तय गरिएको हो । उक्त सेयरको प्री-अलोटमेन्ट आज(बिहीबार) भएको थियो । जसअन्तर्गत कूल ३ लाख ९७ हजार ७ सय ४१ जनाको आवेदन मात्र योग्य रहेकोे र बाँकी १६ लाख ४ सय ३९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । गत असार १० गतेदेखि असार १४ गतेसम्म निष्काशन भएको संस्थाको सेयरमा कूल ४ लाख १४ हजार एक सय ८० जनाले आवेदन दिएका थिए । यससँगै सेयर बाँडफाँडको क्रममा पहिलो चरणमा सबै आवेदकले १०/१० कित्ताको दरले सेयर प्राप्त गर्ने छन् र त्यसपछि बाँकी रहेको सेयर गोलाप्रथा मार्फत वितरण गरिने छ । गत असार १० गतेदेखि असार १४ गतेसम्म बिक्री खुला भएको उक्त आईपीओमा ४ लाख १४ हजार एक सय ८० जनाले आवेदन दिएका थिए । उनीहरुले कूल २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबर अर्थात २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ता सेयर माग गरेका छन् । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ५.१९ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो । संस्थाले एक सय अंकित मूल्य रहेको कूल ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेको हो । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो । जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।

नेशनल माइक्रोफाइनान्स सातौं वर्षमा प्रवेश, ९० हजार घर परिवारलाई सेवा दिन सफल

काठमाडाैं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था आजबाट साताैं वर्षमा प्रवेश गरेकाे छ । २०७१ आषाढ १८ गतेबाट आफ्नो कारोबार संचालन गरेकाे यस संस्था छैठाैं वर्ष पुरा गरि सातौं वर्षमा प्रवेश गरेको हाे । संस्थाको छैठो बार्षिकोत्सवको उपलक्ष्यमा प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय, इटहरी सुनसरी, प्रदेश नं २ को ट्राफिक प्रहरी कार्यालय, पथलैया,बारा प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय, रामनगर,चितवन प्रदेश नं ५ को ट्राफिक प्रहरी कार्यालय, बुटबल,रुपन्देही प्रदेश नं ७ को ट्राफिक प्रहरी कार्यालय, धनगढी, कैलाली लगायत जिल्ला प्रहरी धादिङबेसीलाई कोभिड-१९ बाट बच्न सुरक्षात्मक स्वास्थ्य समाग्रीहरु मास्क, सेनिटाईजर र ग्लोब वितरण गरेको छ । संस्थाले संचालनको छैठो वर्षको अबधिमा ४७ जिल्लाको ६५ वटा शाखा कार्यालय मार्फत ९० हजार घर परिवारलाई आफ्नो सेवा विस्तार गरी उनीहरूमा ४ अर्ब ३० करोड रूपैयाँ लगानीमा रहेको कर्जाको साथै सदस्यहरूबाट १ अर्ब ६० करोड रूपैयाँ बचत परिचालन गरेको छ । संस्थाले सदस्यहरुको लघुउद्यमशिलता विकास लगायत वित्तीय साक्षरतामा मुख्य ध्यान केन्द्रित गरि अगाडी बढेको कुरा संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले जानकारी गराएका छन् । हाल कोभिड १९ बाट प्रत्यक्ष रुपमा असर गरेका ग्राहकहरुलाई राहत स्वरुप ५० लाख रूपैयाँ बराबरको खाद्यान्य  समाग्रीहरु वितरण गर्नुको साथै नेपाल सरकारको राहत कोषमा १० लाख सहयोग गरेको कुरा प्रमुख कार्यकारी अधिकृत यादवले जानकारी गराएका छन् ।