काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फेलोसिप सोसाइटी नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
कम्पनीका अनुसार उक्त सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि ब्रेल कागज, स्लेट तथा स्टाइलस, कम्प्युटर तथा स्क्रीन रिडर सफ्टवेयरजस्ता आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइनेछ ।
आईएमई लाइफको सहयोगबाट काठमाडौंको लोलाङ, दाङ र सुर्खेतका तीन विद्यालयका विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित हुनेछन् । यसले ती विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाको शिक्षामा सहज पहुँच सुनिश्चित हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
समावेशी शिक्षा र समान अवसर समाज विकासको महत्वपूर्ण आधार भएको विश्वाससहित कम्पनीले यस्ता सामाजिक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताएको छ । दृष्टिविहीन विद्यार्थीलाई आवश्यक सामग्री उपलब्ध गराउँदा उनीहरूको शैक्षिक उपलब्धि र आत्मविश्वासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
फेलोसिप सोसाइटी नेपालले सन् २००० देखि दृष्टिविहीन बालबालिकाको शिक्षा र अधिकारका क्षेत्रमा काम गर्दै आएको छ । संस्थाको अनुभव र आईएमई लाइफ इन्स्योरेन्सको सहयोगले समावेशी समाज निर्माणमा थप योगदान पुग्ने विश्वास गरिएको छ ।