एनआईसी एशिया लघुवित्तको आईपीओ प्री-अलोटमेन्ट आज, कति बजे ?
काठमाडौं । एनआईसी एशिया लघुवित्तले जारी गरेको साधारण सेयर(आईपीओ)को प्री-अलोटमेन्ट आज(बिहीबार) हुँदै छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बिहान १० बजेपछि प्री-अलोटमेन्ट हुने जनाएको हो । साथै, सेयर बाँडफाँडको मिति भने नियामकहरुसँगको निर्णयपछि तय गरिने क्यापिटलले जानकारी गराएको छ । गत असार १० गतेदेखि असार १४ गतेसम्म बिक्री खुला भएको उक्त आईपीओमा ४ लाख १४ हजार एक सय ८० जनाले आवेदन दिएका थिए । उनीहरुले कूल २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबर अर्थात २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ता सेयर माग गरेका छन् । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ५.१९ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो । संस्थाले एक सय अंकित मूल्य रहेको कूल ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेको हो । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो । जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।
बीमकले समर्पण मूल्य र बीमालेख धितो राखि लिने कर्जामा तोकियो अवधि
काठमाडौ । बीमा समितिले बिमकहरुलाई समर्पण मूल्य र बीमालेख धितो राखी लिने ऋणको समय सीमा ताेकेकाे छ । समितिले बुधबाबर एक परिपत्र मार्फत बीमा कम्पनीले अधिकतम १ आर्थिक वर्षभित्र मात्र बीमालेख व्यक डेट गर्न मिल्ने जनाएको छ । तर एकल बीमाशूल्क भुक्तानी गर्ने गरी जारी गरिएका बीमालेखहरुमा भने व्याक डेट गर्न नपाइने समितिले जनाएकाे छ । यस्तै, बीमालेख अन्तर्गत समर्पण मूल्य तथा बीमालेख धितो राखी ऋण प्रदान गर्दा बीमालेख प्रारम्भ मितिबाट २ वर्ष पूरा भएपछि मात्र प्रदान गर्न सकिने बीमा समितिले जनाएको छ । यस्तै, एकल बीमाशूल्कको भुक्तानी गर्ने गरी जारी गरिएका बीमालेखको हकमा भने बीमा प्रारम्भ मिति को १ वर्ष पूरा भएपछि समर्पण मूल्य र ऋण प्रदान गर्न मिल्ने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले परिपत्र मार्फत जानकारी दिएका हुन् ।
डिजिटल भुक्तानी सेवाका लागि ग्लोबल आईएमई बैंक र सेलपेबीच सहकार्य
काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् । सेलपे, सेलकमद्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ । ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट ग्लोबल आई.एम.ई बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्ने छन् । ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् । यसमार्फत मोबाइलको टप-अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टि.भीहरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन-पाउन, बिमा रकम भुक्तानी, ईएमआई भुक्तानी, बीमा रकम भुक्तानी, कोभिड-१९ को बीमा रकम भुक्तानी तथा सेयर कारोबारको भुक्तानी गर्न सकिने छ । सन् २०१२ मा स्थापना भएको ग्लोबल आईएमई बैंकले २५७ शाखाहरु, ३८ एक्स्टेन्सन काउन्टर, २४९ शाखा रहित बैंकिङ्ग सेवा र २४३ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको छ ।