यसकारण बन्द हुँदै छ धितोपत्र बोर्डको वेवसाइट
काठमाडौं । नेपाल धितोपत्र बोर्डको वेवसाइट आज(साउन १ गते) दिउँसो तीन बजेदेखि बन्द हुने भएको छ । बाेर्डले बिहीबार एक सूचना जारी गरी लगानीकर्ता तथा सरोकारवाला पक्षहरुलाई उक्त जानकारी गराएकाे हाे । साईटको सेड्युल मेन्टिनेन्स(निर्धारित मर्मत) गर्नुपर्ने भएकाले केही समय अवरुद्ध हुन सक्ने बोर्डले जनाएकाे छ ।
नेपाल लाइफबाट विवेक झा विदा, सबै सूचकाङ्क उत्कृष्ट बनाउन सफल
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट प्रमुख कार्यकारी अधिकृत विवेक झा विदा भएका छन् । करिब एक दशकको सेवा अवधि सम्पन्न गरी प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झा साउन १ गतेबाट विदा लिएको कम्पनीले जानकारी दिएको छ । संचालक समितिसँग भएको सम्झौता बमोजिमको प्रथम कार्यकाल सफलता पूर्वक पुरा गरी झाले साउन १ गतेबाट नेपाल लाइफबाट विदा लिएको कम्पनीले जनाएको छ । नेपाल लाइफको २० वर्षे यात्रामा करिब एक दशक नेतृत्व गरेका झाको कार्यकाल सबै सूचकाङ्कमा उत्कृष्ट बन्दै जीवन बीमाको क्षेत्रमा करिब एक तिहाइ बजार हिस्सा कायम राख्न सफल भएको छ । सदैव आप्mना सहकर्मी कर्मचारीहरुलाई आफ्नाे मूल शक्ति मान्ने र अभिकर्ताहरुलाई प्रगतिको साझेदारको रुपमा सम्मान गर्नुहुने झाले ‘अभिकर्ताहरुको लगनशीलता, बीमितहरुको विश्वास, कर्मचारीहरुको साथ, शेयर धनीहरुको अटुट विश्वास, संचालक समितिको मार्गनिर्देशन र नियमनकारी निकाय बीमा समितिको सहयोगले नै कम्पनीले यो उचाइ कायम गर्न सकेको’ उनले बताए । उनले अभिकर्ता, बीमित, कर्मचारी, शेयर धनी, संचालक समिति तथा बीमा समितिलाई धन्यवाद व्यक्त गर्दै आभार प्रकट गरेका छन् । हालसम्म करिब २६ प्रतिशत नागरिकको पहुँच रहेको बीमा क्षेत्रले देशैभरीका कुना–कन्दरासम्म बीमाको सहज पहुँच पु¥याउन नेपाल लाइफले अझै विश्वासिलो ढंगले उत्कृष्ट सेवा निरन्तर पस्किदै जाने विश्वास व्यक्त गरे । सिइओ झाले आगामी दिनमा कम्पनीले नयाँ उचाइ लिने विश्वासका साथ सफलताको शुभकामना व्यक्त गरेका छन् । साथै, संचालक समिति अध्यक्ष गोविन्दलाल संघईले सिइओ झाको सफल कार्यकालको उच्च मूल्याङ्कन गर्दै धन्यवाद दिएका छन् ।
बैंकासुरेन्स खुल्ला गर्न बैंकको लबिङ, अभिकर्ता भन्छन्ः खुलाए सडक आन्दोलनमा जान्छौं
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत अभिकर्ता मार्फत बीमा गर्न पाउने व्यवस्था खुल्ला गर्न नेपाल राष्ट्र बैंक समक्ष माग गरेका छन् । संस्थागत अभिकर्ता मार्फत बीमा गराउँदा आफूहरुले पनि बीमा गराउन पाउने भएकोले बैंक तथा वित्तीय संस्थाहरुले यस्तो माग गरेका हुन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिसँगको समन्वयमा केही वर्षअघिदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई संस्थागत अभिकर्ताको लाइसेन्स दिने गरी बैंकासुरेन्सको बाटो खुल्ला गरिएको थियो । तर, बैंकासुरेन्स मार्फत बीमा गराउँदा विकृति बढेको भन्दै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था हटाएको थियो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकासुरेन्स हटाएको विषयमा बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि गुनासो गरेको थियो । आगामी आर्थिक वर्षदेखि फेरि बैंकासुरेन्स खुल्ला गर्न बैंकहरुले पहल गरेका हुन् । बीमाको दायरा बृद्धिमा संस्थागत अभिकर्ताले पनि ठूलो भूमिका खेल्ने भन्दै बीमा समितिले पनि बैंकासुरेन्स खुल्ला गर्नुपर्ने बताउँदै आएको छ । बैंकासुरेन्स रोक्ने राष्ट्र बैंकको निर्णयप्रति बीमा अभिकर्ताले भने स्वागत गरेका थिए । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारी बैंकासुरेन्स सधैका लागि बन्द गर्नुपर्ने बताउँछन् । बीमा अभिकर्ताको रोजीरोटी नै गुम्ने भएकोले बैंकासुरेन्स बन्द गर्नुपर्ने उनको भनाइ छ । ‘बैंकासुरेन्सको नाममा ५ लाख अभिकर्ताको रोजगारी धरापमा पार्न पाइदैन, बीमा क्षेत्र सुधारका लागि अभिकर्ताको भुमिका आवश्यक छ, राष्ट्र बैकले मौद्रिक नीति मार्फत बैकास्योरेन्स खुल्ला गरेमा हामी सडक आन्दोलन गर्न बाध्य हुनेछौं,’ संघका अध्यक्ष तिवारीले भने । बैंकासुरेन्स नखोल्न भन्दै संघले नेपाल राष्ट्र बैंक समक्ष ज्ञापनपत्र नै बुझाएको छ । बैंकासुरेन्स खुल्ला गरिए अभिकर्ताको दैनिकी कष्टकर हुने भन्दै संघले राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको हो । बैक तथा वित्तीय संस्था र बीमा कम्पनीका आ आफ्नै कार्यक्षेत्र भएकाले बीमाको सन्दर्भमा राष्ट्र बैंकले हस्तक्षेप गर्न नहुने संघको भनाइ छ । यस्तै, बैक तथा वित्त कम्पनीको बचतकर्ताको खाता हेर्दै बीमा गर्न दबाब दिने गरेकाले बैकमा रकम जम्मा गर्न समेत कतिपय बचतकर्ता डराएको भन्दै संघले बैंकासुरेन्स बन्द गराउन भनेको छ । जबरजस्ती बीमा गराउदा अर्को किस्ता तिर्न नसकी बीमालेख व्यतित हुने गरेको भन्दै संघले यस्तो कार्यले बैक तथा बीमा दुबै पक्षलाई हानी पुर्याउने भनेको छ । हाल बैकले ऋणीलाई जबरजस्ती बीमा गराउदा ऋणीले घुसको रुपमा बीमा गरेको महशुस गरेको संघको भनाइ छ । बैकको एक संचालक तालिम लिई सम्पूर्ण कर्मचारी मार्फत बीमा गराउदा बीमाको वास्तविक महत्व ग्राहकलाई बुझाउन नसक्ने हुदा बीमा बजारमा नकारात्मक असर पुर्याएको संघको भनाइ छ । बैकका कर्मचारीहरु बीमा अभिकर्ताको रुपमा नभई विशुद्ध बैकिङ क्षेत्रको काम गर्न आएकोमा बीमा पोलिसी खोज्न नसक्ने कर्मचारीको स्थायित्व र पदोन्नतिमा समेत असर पुगेको संघको भनाइ छ । जबरजस्ती बीमा ल्याउनु पर्ने लक्ष्य दिएका कारण बैकिङ् क्षेत्रका कर्मचारी मानसिक तनाव भई बैकको जागीर छोडन बाध्य भएकोसमेत संघको भनाइ छ । बेरोजगारी समस्याले पिरोलिएका ४० लाख भन्दाबढी युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य भएको अवस्थामा करीब ५ लाख शिक्षित युवाहरु बीमा अभिकर्ताको पेशामा कार्यरत रहेका संघको भनाइ छ । बैंकासुरेन्स खुल्ला गरिए बीमा अभिकर्तालाई बेरोजगार बनाई विदेश पलायन हुन बाध्य गराउने भन्दै संघले बीमा अभिकर्ताको रोजगारी खोस्ने काम बैक तथा वित्त कम्पनीबाट नगरियोस् भनेको छ । बीमा एक नितान्त प्राविधिक विषय भएकोले आम नागकिलाई बैक खाता खोलाउन नसक्ने बैकले बीमा अभिकर्ताको काम गरेर बीमाको पहुँच बढाउछु भन्दा बैकिङ पहुँच बढाउन अघि बढे राम्रो हुने थियो भन्दै संघले बैक तथा वित्त कम्पनीहरुले बीमा कम्पनीबाट पाउने निक्षेपको लोभमा जस्ता पोलिसीहरु पनि बेच्ने गरेकोले सर्वसाधारण जनताले महङ्गो र कम बोनस दर भएका पोलिसीहरु किन्न बाध्य भई ठूलो नोक्सानी व्यहोर्नु परेको गुनासो राष्ट्र बैंक समक्ष गरेको छ । बीमा कम्पनीहरुले बैक तथा वित्तीय संस्थाहरुबाट बीमा पोलिसी पाउने प्रलोभनमा परी उक्त बैकमा रहेको निक्षेपलाई समयमै लगानी नगरेको बढी व्याज दिने बैक तथा वित्त कम्पनीमा लगानी नगरी कम व्याजदर मै लगानी गर्दा बीमितहरुले पाउने बोनस दर निकै कम भएको संघको भनाइ छ ।