एनआरएन इन्फ्रास्टक्चरले साउन १६ गतेदेखि आईपीओ जारी गर्ने, अन्य क्षेत्रकै पहिलो

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आगामी साउन १६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले सर्वसाधारणमा ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको हो । संस्थाले हाल कायम रहेको जारी पुँजीको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो । हाल संस्थाको जारी पुँजी एक अर्ब १३ करोड २६ लाख ८२ हजार एक सय रुपैयाँ रहेको छ । यसको ३० प्रतिशत अर्थात ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर निष्काशन गर्न लागेको संस्थाले जनाएको छ । जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरिने संस्थाले जानकारी गराएको छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । अन्य समूह अन्तर्गतकाे रहेकाे यस कम्पनीको आईपीओ अन्य क्षेत्रमा नितान्त पहिलो प्राथमिक निष्काशन रहेको कम्पनीले जनाएकाे छ ।

सांसद आचार्यले गराए आफ्नो निर्वाचन क्षेत्रका ५ सय जनाको निःशुल्क कोरोना बीमा

काठमाडौं । रसुवाका सांसद मोहन आचार्यले आफ्नो निर्वाचन क्षेत्रका ५ सय ८ स्थानीय पेशाकर्मीको निःशुल्क कोरोना बीमा गराएका छन् । नेपाली कांग्रेसबाट विजयी सांसद आचार्यले स्वास्थ्यकर्मी, पुलिस, पत्रकार तथा राजनीतिक दललमा आवद्ध व्यक्तिहरुको निःशुल्क कोरोना बीमा गराएका हुन् । उनले प्रतिव्यक्ति १ लाख रुपैयाँ बिमांक बराबरको कोरोना बीमा गराएका हुन् । बीमा समितिले प्रतिव्यक्ति ५० हजार र १ लाख रुपैयाँ गरी दुई प्रकारका कोरोना बीमा लेख जारी गरेको छ । समाजमा अग्रपंतीमा रहेर काम गर्नुपर्ने विभिन्न पेशाकर्मीको निःशुल्क बीमा गराएर मनोबल उच्च बनाउने पहल गरिएको सांसद आचार्यले बताए । ‘कोभिड १९ जित्न मनोबल दह्रो हुन आवश्यक छ, विभिन्न पेशामा आवद्ध रहेका जिम्मेवार व्यक्तिहरु नै कोरोनाको डरले काम गर्न पछि हटे भने थप समस्या सिर्जना हुन्छ भन्ने मलाई लाग्यो, सोही कारण बीमाको आवश्यकता देखें,’ सांसद आचार्यले विकासन्युजसँग भने । उनले बीमा गराउनको लागि सार्वजनिक आव्हान नै गरेका थिए । उनको आव्हान स्वीकार गरेर सम्पर्क आएका सबैको बीमा गराएको आचार्यको भनाइ छ । उनी गत निर्वाचनमा रसुवा जिल्लाबाट प्रतिनिधिसभाको सांसदमा निर्वाचित भएका हुन् । आचार्य नेपाली काँग्रेसका नेता हुन् । कोरोना बीमा एनएलजी इन्स्योरेन्स मार्फत गरिको छ । उक्त बीमा गराउदा ३ लाख रुपैयाँ बराबरको बीमा शुल्क तिरिएको सांसद आचार्यले जानकारी दिए । काम गर्ने क्रममा सबैको मनोवल उच्च रहोस भन्ने उद्देश्यले कोरोना बीमा आवश्यक मानिन्छ । अहिले विश्व नै कोरोना महामारीको संकटमा गुज्रिरहेको छ । यस्तो अवस्थामा बीमा गर्दा बिमितलाई कोरोनाको त्रासले दैनिकीमा पार्ने असर कम हुने अनुमान गरिन्छ । कोरोना बीमामा बिमितको पीसीआर परीक्षणमा पोजेटिभ देखिने वित्तिकै दाबी भुक्तानी हुन्छ । अन्य रोगहरुको विरुद्ध बीमा गर्दा भने अस्पतालबाट जारी भएका कागजात, सक्कली बिल पेश गरेपश्चात दाबी–भुक्तानी दिने गरिन्छ । तर, कोरोना बीमामा रिर्पोट पोजेटिभ आउँने वित्तिकै दाबी भुक्तानी हुने व्यवस्था मिलाइएको छ । कोरोना बीमामा ५० हजार रुपैयाँ बराबरको लागि ५ सय रुपैयाँ र १ लाख रुपैयाँको कोरोना बीमा गर्न १ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ ।

साधना लघुवित्तको आईपीओ बाँडफाँड आज ५ बजे

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) आज(असार २९ गते) बाँडफाँड हुने भएको छ । आज साँझ ५ बजे काठमाडौंको जमल स्थित सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा हुने भएको छ । संस्थाले सेयर निष्काशन बन्द गरेकाे ५ दिनमै बाँडफाँड गर्न लागेकाे हाे । उक्त सेयरकाे निष्काशन बन्द गत असार २४ गते भएकाे थियाे । माग गरेभन्दा बढी आवेदन परेपछि संस्थाले छिटो मितिमा सेयर निष्काशन बन्द गरेकाे हाे । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार ४ लाख ५८ हजार ६ सय ४३ जनाले एक करोड १२ लाख ५९ हजार ८ सय ५० कित्ता सेयरको लागि आवेदन दिएका छन् । जुन संस्थाले सर्वसाधारणमा बिक्री गरेको भन्दा १७ गुणा बढी हो । संस्थाले सर्वसाधारणका लागि ६ लाख ६१ हजार ५ सय २० कित्ता सेयर बिक्रीमा राखेको थियो । संस्थाले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको थियाे । जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहेकाे ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे हाे ।