पुनर्बीमा कम्पनीमा अर्थमन्त्री र नेकपा महासचिव निकट संचालकबीच झगडा, सीईओ ‘काँग्रेसी कर्मचारी’ पेल्दै
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा आन्तरिक विवाद चुलिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा निकट संचालक र नेकपा महासचिव विष्णु पौडेल निकट संचालकबीच झगडा भएको छ । झगडा उत्कर्षमा पुगेपछि अर्थमन्त्री डा. खतिवडा निकट संचालक पुरुषोत्तम सुवेदीले पदबाट राजीनामा गरेका छन् । संचालक समितिले कामु अध्यक्षको जिम्मेवारी दिएका सुवेदीले अर्का संचालकसँग विवाद बढेपछि राजीनामा दिएका हुन् । कम्पनीको संचालकमा रमेश राणालाई नियुक्त गरिएपछि सुवेदीले राजीनामा दिएका स्रोतले जानकारी दिएको छ । यद्यपि सुवेदीले घरमा बस्नको लागि आफूले राजीनामा दिएको बताए । ‘घर बस्नको लागि राजीनामा दिएको, म रिटायर्ड मान्छे, यो कम्पनीको संचालक भएपछि समय मिलाउन सकिनँ, त्यसैले राजीनामा गरेको,’ संचालक पदबाट किन राजीनामा दिनुभएको भन्ने विकासन्युजको प्रश्नमा सुवेदीले संक्षिप्त प्रतिक्रिया दिँदै भने । स्रोतले भने अर्का संचालक रमेश राणासँग विवाद बढेपछि सुवेदीले राजीनामा गरेको बताएको छ । राणा नेकपा महासचिव विष्णु पौडेल निकट मानिन्छन् । सुवेदीलाई भने अर्थमन्त्री डा. खतिवडाले विशेष जोडबल गरेर पुनर्बीमा कम्पनीमा संचालक बनाएका थिए । राणालाई संचालक समितिको कामु अध्यक्ष बनाउन लागिएपछि सुवेदीले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा गरेको बताइएको छ । कामु अध्यक्षकाे जिम्मेवारी पाएकाे सुवेदीले कम्पनीकाे वेवसाइटमा भने अध्यक्ष लेखाएका थिए । पुनर्बीमा कम्पनीकाे अध्यक्षमा अनधिकृत नाम लेखाएकाे एक महिना पनि नबित्दै सुवेदीले सञ्चालक पदबाट समेत हात धुनु परेकाे छ । सुवेदीले राजीनामा गरेपछि पुनर्बीमा कम्पनीकाे सञ्चालक समिति फेरी तीन सदस्यीय भएकाे छ । पब्लिक कम्पनीमा कम्तिमा ५ जना सञ्चालक हुनु पर्ने नियम छ । सबैभन्दा ठूलाे लगानीकर्ता सरकारले नै कानुनकाे परिपालना नगरेकाेले बीमा समिति, कम्पनी रजिष्ट्रारकाे कार्यालय कानुनकाे परिपालना गराउन चुकेका छन् । ‘काँग्रेसी कर्मचारी’ पेल्दै सीईओ रायामाझी संचालक समितिमा देखिएको विवादको रोग कर्मचारीमा पनि सरेको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकरकुमार रायमाझीले कर्मचारीलाई काँग्रेस र कम्युनिष्ट भन्दै भेदभाव गर्न थालेपछि कर्मचारी बृत्तमा पनि समस्या देखिएको हो । कम्पनी स्थापना हुँदा नेपाली काँग्रेसका नेता डा. रामशरण महत अर्थमन्त्री थिए । डा. महतको सिफारिसमा काँग्रेस कार्यकर्तालाई जागिर दिएको भन्दै सीईओ रायामाझीले पूराना कर्मचारीलाई महत्वपूर्ण जिम्मेवारीबाट हटाएका स्रोतको दाबी छ । ‘पुराना कर्मचारी जति काँग्रेसी हुन् रे, होइन भन्ने प्रमाणको लागि नेकपा निकट कर्मचारी संगठनको सदस्यता देखाउनु पर्छ, काँग्रेसी कर्मचारीलाई पेल्नुपर्छ भन्दै सीईओले महत्वपूर्ण जिम्मेवारीबाट हटाउने गर्नुभएको छ,’ स्रोतले भन्यो । सीईओ रायमाझी नेकपाकाे कार्यकर्ता हुन् । तत्कालिन सूचना, सञ्चार तथा प्रविधि मन्त्री गाेकुल बाँस्काेटाकाे पावर लगाएर उनी पुर्नबीमा कम्पनीमा सीईओ भएका थिए । बीमाकाे सामान्य ज्ञान पनि नभएकाे व्यक्तिलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नु पर्ने चुनौतीसँगै उनी पुनर्बीमाको सीईओमा नियुक्त भएपछि यसका प्रवर्द्धक बीमा कम्पनीहरूमा पनि व्यापक असन्तुष्टि देखिएकाे छ । सम्बन्धित समाचार पुनर्बीमा कम्पनीले ४ लाख लगानीकर्तालाई झुक्यायो, सेयर मूल्यमा चलखेल गर्ने संस्थागत नियत
अब आइएमई पेबाटै डिम्याट र मेरो सेयर नवीकरण गर्न सकिने
काठमाडौं । मुक्तिनाथ क्यापिटलका ग्राहक/सेवाग्राहीले आइएमई पेबाटै डिम्याट र मेरो सेयर नवीकरण गर्न सक्ने भएका छन् । जसको लागि आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई पे र मुक्तिनाथ क्यापिटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार उनीहरुले आइएमई पे वालेटबाटै डिम्याट र मेरो सेयर नवीकरण शुल्क सजिलै भुक्तानी गर्न सक्नेछन् । यस सम्बन्धी सम्झौता-पत्रमा मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र जोशी र आइएमई पेका तर्फबाट बजार व्यवस्थापन प्रमुख गुण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारण सभा भदौ १३ गते, के के छन् विशेष प्रस्ताव ?
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको २३औं वार्षिक साधारण सभा आगामी भदौ १३ गते बस्ने भएको छ । संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६को सभा सो दिन बिहान १० बजे कम्पनीको प्रधान कार्यालय काठमाडौंको नक्सालमा गर्ने निर्णय गरेको हो । बैठकले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धि आवश्यक कार्य गर्ने अधिकार संचालक समितिलाई दिने विशेष प्रस्ताव राखेको छ । त्यस्तै, कम्पनीबाट सामाजिक संघसंस्थालाई आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड ‘ग’ ले निर्धारण गरेको सिमा नाघेको हुँदा सो अन्तर्गत भएको ९० हजार रुपैयाँ भएको खर्चलाई अनुमोदन गर्ने सञ्चालक समितिको प्रस्ताव रहेको छ । त्यस्तै, सामान्य प्रस्ताव अन्तर्गत कम्पनीको आव २०७५/७६ को लेखा परिक्षण गर्नका लागि लेखा परीक्षण समितिको सिफारिस बमोजिम लेखा परिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने रहेको छ । वर्तमान लेखापरिक्षक बि.के अग्रवाल एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्सको यो तेश्रो वर्ष भएकोले पुनः नियुक्ति हुन सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी, आव २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने सामान्य प्रस्ताव रहेको छ ।