साना मझौलादेखि सबै खाले व्यवसायीले अपनत्व गर्ने महासंघ बनाउँछु : उमेशलाल श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले सबै उद्योगी व्यवसायीले अपनत्व गर्ने महासंघ बनाउनुपर्ने आवश्यकता टड्कारो रहेको बताएका छन् । ‘अहिले साना, घरेलु तथा मझौला उद्योगी व्यववसायीहरुको समस्या एकदमै जटिल बन्दै गएको छ भने वस्तुगत र जिल्ला नगरका उद्यमी व्यवसायीको अवस्था एकदमै दयनीय बनेको छ,’ महासंघको ५७ औं साधारणसभामा बोल्दै उनले भने, ‘वस्तुगत तथा जिल्ला नगरका साथिहरु आफ्ना समस्या लिएर सडक अन्दोलनमा उत्रदा पनि महासंघ नेतृत्वले नदेखेको र नसुनेको अवस्था छ ।’ अहिले महासंघका जिल्ला नगर, वस्तुगत, एसोसिएट्स र द्धिराष्ट्रिय संघबीच अन्तरसम्बन्ध नरहेको भन्दै आगामी दिनमा सबै पक्षहरुबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए । ‘मेरो विरासत कुनै ठूलो व्यवसायिक घरना होइन तर मैले सानोबाट प्रवेश गरेर अहिले राम्रै अवस्थामा आफ्नो व्यवसाय संचालन गरिरहेको छु भने महासंघमा पनि मेरो लामो अनुभव छ,’ उनले भने, ‘महासंघमा उद्योगी व्यवसायीहरुको जे माग हो मेरो एजेण्डा पनि त्यहिँ नै हो त्यसैलाई सम्बोधन गर्न वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु ।’ महासंघका उद्योगी व्यवसायीका समस्या सुन्ने, देख्ने र उक्त समस्या समाधानका लागि सम्बन्धित निकायका लिएर लविङ गर्न सक्ने निडर नेतृत्वको आवश्यकता रहेको भन्दै त्यसका लागि आफु निर्विकल्प रहेको समेत उनको दावी थियो । ‘हामीले व्यवसायी माझ जे बोल्छौं सरकारसँग पनि त्यहिँ विषय इमान्दारिताका साथ उठाउन पर्छ,’ उनले भने, ‘त्यो इमान्दारिता मसँग छ यदि तपाइहरुले निर्वाजित गरेर पठाउनु भएको खण्डमा पूर्ण रुपमा पालना गर्नेछु ।’ नयाँ नेतृत्व चयनसँग महासंघमा अबका दिनमा हुने अध्यक्ष चन्द्रप्रसाद ढकालको सहयोगीको रुपमा अघि बढन् वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको भन्दै आफुले जितेको अवस्थामा सबै खाले उद्यमी व्यवसायीले अपनत्व गर्ने महासंघ बताउने समेत उनको प्रतिवद्धता थियो । ‘चन्द्रजीले बिहीबारबाट महासंघको नेतृत्व सम्हाल्दै हुनुहुन्छ,’ उनले भने, ‘म पनि जितेर गएको अवस्थामा एक महिनाभित्रै व्यवसायिक हकहितमा काम गर्ने महासंघ पाउनुहुनेछ ।’ आर्थिक क्षेत्रको सम्वाहक निजी क्षेत्र भएको र निजी क्षेत्र नभई सरकार नचल्ने भन्दै अहिलेको अवस्थामा निजी क्षेत्रको मनोवल उकास्न नयाँ नयाँ कार्यक्रम ल्याउनका महासंले पहल गर्नुपर्ने बताए । ‘बजारमा आएको मागको गिरावटको कारण अहिले उद्योगी व्यवसायीको सामान बिक्री हुने अवस्था छैन जसका कारण बैंकको कर्जा तिर्न सक्ने अवस्थामा छैनौं,’ उनले भने, ‘हामी उद्योगी व्यवसायीले बैंकको कर्जा वा ब्याज तिर्दैनौं भनेका छैनौं तर अहिलेको अवस्थामा राष्ट्र बैंकले कर्जाको पुर्नतालिकिरण र सरकारले ब्याजमा सहुलियत दिनु जरुरी छ ।’ देशको अर्थतन्त्रमा निजी क्षेत्रले ६५ देखि ७० प्रतिशत योगदान दिँदै आएको भन्दै अर्थतन्त्र जोगाउनका लागि पनि सरकारले निजी क्षेत्रको सुरक्षा दिनुपर्ने बताए । साथै अहिले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाईदिनुपर्ने समेत उनले बताए । ‘हामीले सरकारसँग खोजेको सम्मान फुलमाला वा खादा होइन,’ उनले भने, ‘अहिलेको झण्झटिलो नीति नियम परिवर्तन गरेर काम गर्ने वातावरण बनाईदिनु पर्यो त्यहिँ नै हो हाम्रा लागि सम्मान ।’ उक्त कार्यका लागि महासंघले नेतृत्व लिनुपर्ने समेत उनले बताए । अहिले महासंघभित्र शुद्धिकरण जरुरी देखिएको भन्दै आफु निर्वाचित भएको खण्डमा तुरुन्तै उक्त कामको थालनी गर्ने बताए ।

महासंघको निर्वाचन : चन्द्रको झिमिक्क र पैसाको प्रभाव

काठमाडौं । चैत २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन र त्यसको सम्भावित परिणामबारे निजी क्षेत्रमा धेरैको चासो छ । धेरै विषय प्रष्ट हुँदै गएका छन्, केही विषय अन्योलामा छन् । विधानअनुसार बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल स्वतः अध्यक्ष बन्दैछन् । लुम्बिनी प्रदेश र द्विराष्ट्रिय उद्योग वाणिज्य संघ सदस्य पदमा सर्वसहमति भएको छ । बाँकी ६१ पदमा लागि ११६ जनाको उम्मेदवारी परेको उद्योग वाणिज्य महासंघले जनाएको छ । बरिष्ठ उपाध्यक्ष पदमा रामचन्द्र संघई, अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको उम्मेदवारी दिएका छन् । तिनै जनाले प्यानलसहित चुनावी प्रचारप्रसारमा अन्तिम चरणमा छन्। प्यानल निर्माणको क्रममा उमेशलाल श्रेष्ठ सबैभन्दा अगाडि, अञ्जन श्रेष्ठ दोस्रो र रामचन्द्र संघई तेस्रो देखिए । तीनमध्ये कसले जित्ला भन्नेमा मानिसहरुको फरक फरक विश्लेषण रहेको छ । वस्तुगतमा ढकाल र प्रधानबीच प्रतिष्पर्धा वस्तुगत तर्फको उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेद्वारी परेको छ । हेमराज ढकाल, मनिषलाल प्रधान र सुकुन्तलाल हिराचनले वस्तुगत तर्फको उपाध्यक्षका लागि मनोनयन दर्ता गरेका छन् । अहिले पनि महासंघको कोषाध्यक्ष रहेका हिराचनले चुनाव हार्न सक्ने अनुमान गरेका छन् । उनको प्रचारप्रसार, उनले विभिन्न व्यक्तिहरुसँग गरेको लविङ र उनको टीममा उनको निकट समूहका सदस्यहरुको उपस्थितिले पनि धेरैको त्यो अनुमान सही सावित हुन सक्छ । वस्तुगत समूहबाट १४ सदस्य निर्वाचित हुनुपर्ने विधानमा व्यवस्था छ । हिराचनको समूहबाट सदस्यमा एक जनाको पनि उम्मेद्वारी परेन । महासंघको वर्तमान कार्यसमितिका कोषाध्यक्ष समेत रहेका हिराचन उपाध्यक्षका लागि योग्य उम्मेद्वार मात्र होइन, एक सक्षम व्यक्ति पनि हुन्, उनी एक परिचित अनुहार पनि हो । तर पनि उनले सबैभन्दा थोरै मत पाएर पराजित हुने आकंलन व्यवसायीहरुले गरेका छन् । अरु पक्ष जति सबल भएपनि निर्वाचनमा एक्लै जितिँदैन । हिराचनले ६ वर्षअघि स्वतन्त्र उम्मेद्वार रहेका अनुपबहादुर मल्लको जति पनि भोट नपाउने सम्भावना रहेको धेरैको दाबी छ । वस्तुगत उपाध्यक्षका अन्य दुई उम्मेद्वार मनिषलाल प्रधान र हेमराज ढकालले हिराचनलाई प्रतिस्पर्धीको रुपमा लिएकै छैनन् । ढकाल र प्रधानबीच भने प्रतिस्पर्धा राम्रो हुने देखिएको छ । उनीहरुले सदस्यहरुमा पनि १४/१४ जनाको समूह बनाएर प्रतिस्पर्धामा होमिएका छन् । ढकाल उमेशलालको टिमबाट र प्रधान अञ्जनको टिमबाट प्रतिस्पर्धा गर्दैछन् । उमेशलाल यसअघि दुई कार्यकाल वस्तुगत तर्फको उपाध्यक्ष निर्वाचित भइसकेका व्यक्ति हुन् । तर, पछिल्लो निर्वाचनमा अञ्जनसँग उमेशलाल पराजित भएका थिए । वस्तुगत संघहरुमा दुबैको प्रभाव र पकड उत्तिकै बलियो भएको अनुमान छ । बोलिचाली, आनीबानी र मतदातासँगको सम्बन्धका आधारमा प्रधानले भन्दा ढकालले बढी मत पाउन सक्ने धेरैको अनुमान छ । जिल्लामा अरुण र दिनेशबीच प्रतिस्पर्धा उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा पनि तीन जनाले प्रतिस्पर्धा गर्दैछन् । रामचन्द्रको समूहबाट सुरकृष्ण वैद्य, अञ्जनको समूहबाट अरुणराज सुमार्गी र उमेशलालको समूहबाट दिनेश श्रेष्ठको उम्मेद्वारी परेको छ । चुनावी दौडधूपको बेलामा करिब दुई महिनासम्म उमेशलालको समूहबाट जिल्ला भ्रमण गरेका सुरकृष्ण बैद्य अन्तिम समयमा कित्ता परिवर्तन गर्दै रामचन्द्रको समूहमा पुगेका हुन् । महासंघको चनावी माहोल नजिकबाट नियाल्नेहरुका अनुसार तीन जना उम्मेद्वारमध्ये सुरकृष्ण सबैभन्दा पछाडि छन् । जिल्ला उपाध्यक्ष पदमा निकटम प्रतिस्पर्धा अरुणराज सुमार्गी र दिनेश श्रेष्ठबीच हुने धेरैको अनुमान छ । दिनेश पाको व्यक्ति, व्यवसायीको समस्या बुझ्ने र बोल्ने व्यवसायीको छवि बनाएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदरको विषयमा सडकमा सबैभन्दा बढी कराउने व्यवसायी नै उनै श्रेष्ठ हुन् । त्यसैले पनि उनलाई धेरै व्यवसायीले रुचाएका छन् । तर, दिनेशको लागि मुख्य चुनौति भनेको उनी सोही पदका लागि तेस्रो पटक उम्मेदवार बनेका छन् । मतदाताले नयाँ अनुहार खोजी गर्नु उनको लागि सबैभन्दा ठूलो चुनौतिको विषय बन्न सक्छ । अरुणराज सुमार्गीले अघिल्लो निर्वाचनताका पनि जिल्ला नगरतर्फको उपाध्यक्ष पदमा उम्मेद्वारीको घोषणा गरेको थिए । पछि उनले दिनेश श्रेष्ठलाई समर्थन गरे र कार्यसमिति सदस्यमा उठेका थिए । कृषि उद्यम केन्द्रको सभापति समेत भएर राम्रो काम गरेको, अघिल्लो निर्वाचनमा पनि त्याग गरेको र यसपालीका निर्वाचनमा तयारी पनि राम्रो भएकोले आफूले निर्वाचन जित्ने सुमार्गीको दावी छ । जे होस् दिनेश र अरुणराजबीचको प्रतिस्पर्धा रोचक नै हुने देखिन्छ । एशोसिएटमा भरतराज अगाडि एशोसिएट समूहको उपाध्यक्षमा भरतराज आचार्य र ज्योत्सना श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन् । आचार्य उमेशलाल र अञ्जन समूहको साझा उम्मेद्वार बनेका छन् । ज्योत्सना प्यानल फेर्दै, फोटो खिचाउँदै, समाचार लेखाउँदै रामचन्द्र संघईको प्यानलमा पुगेर अडिएकी छन् । एशोसिएट मतदाताले प्रतिनिधि (प्रोक्सी) मार्फत् मतदान गर्न पाउँछन् । प्रोक्सी जसको हातमा बढी छ, उसले विजय हासिल गर्छ एशोसिएटतर्फ । करिब १७ सय एशोसिएट सदस्य रहेकोमा भरतराजले करिब ८०० प्रोक्सी संकलन गरेको र ज्योत्सनाले करिब ६०० प्रोक्सी संकलन गरेको दावी गरेका छन् । करिब ३०० मतदाताले विवेक प्रयोग गर्दैछन् । आइतबार रामचन्द्र संघई समूहले गरेको रात्रिभोज कार्यक्रममा पनि ज्योत्सना प्रभाव कमजोर रहेको देखियो । सो कार्यक्रमम एसोसिएटतर्फका सदस्यहरुको सहभागिता न्यून थियो । यसको प्रभाव ब्यालेट बक्समा देखिने नै छ । वरिष्ठ उपाध्यक्षको निर्वाचन दुई चरणमा अहिले महासंघको निर्वाचनका लागि तीन समूह प्रतिस्पर्धा छन् । वरिष्ठ उपाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेकोले पनि धेरैले महासंघको निर्वाचन दोस्रो चरणमा प्रवेश गर्न सक्ने अनुमान गरेका छन् । त्यो अनुमान महासंघको निर्वाचन समितिले पनि गरेको छ । समितिले जानीबुझि नै वरिष्ठ उपाध्यक्ष पदका लागि चैत ३० गते निर्वाचन हुन सक्ने र त्यसको लागि तयारी गरेको सूचना सार्वजनिक गरिसकेको छ । विधान अनुसार वरिष्ठ उपाध्यक्ष हुनको लागि कम्तिमा ५१ प्रतिशत मत ल्याउनुपर्ने छ । तीन जना उम्मेदवार हुँदा कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसक्ने अनुमान गरिएको छ । पहिलो चरणका बढी मत प्राप्त गर्ने दुई वरिष्ठ उपाध्यक्षको उम्मेद्वारहरुबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । पहिलो चरणका ‘टप टु’मा पर्न सफल उम्मेदवार दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । तेस्रो भएको उम्मेदवारले दुईमध्ये एउटा उम्मेदवारलाई समर्थन गरेमा तेस्रोको समर्थन पाएको उम्मेदवार विजयी हुन सक्ने सम्भावना देखिन्छ । दोस्रो चरणका दावेदार सबैभन्दा कम उम्मेद्वार लिएर चुनावी प्रतिस्पर्धामा गएका रामचन्द्र संघईका लागि महासंघको निर्वाचन सबैभन्दा चूनौतिपूर्ण देखिन्छ । उनलाई पहिलो चरण पार गर्न नै चुनौतिपूर्ण रहेको धेरैको बुझाइ पनि छ । ५० प्रतिशत मतभार रहेको जिल्ला नगरतर्फ रामचन्द्र संघईको प्रभाव कम छ । जिल्लानगरतर्फ संघई कमजोर हुनुमा तीन वटा कारण छन् । पहिलो, जिल्ला नगरमा प्रभाव राम्रो भएका कोही पनि रामचन्द्र संघाईको प्यानलमा छैनन् । दोस्रो, उनले मारवाडी भर्सेस् अन्य समुदायबीच दूरी बढाउने किसिमले चुनावी टिम बनाए । खास गरी एशोसिएट सदस्यहरुमा र कार्यक्रमहरु पनि त्यसैगरी सञ्चालन गरे । तेस्रो, शेखर गोल्छा र पशुपति मुरारका अध्यक्ष हुँदा जिल्ला नगर संघ सदस्यहरु महासंघको नेतृत्वसँग बढी असन्तुष्ट बने । त्यसको असर रामचन्द्रलाई पर्ने जानकारहरु बताउँछन् । वस्तुगत तर्फ उपाध्यक्षमा मात्र उम्मेदवार बनाउन सक्नु र १४ सदस्य पदमा एक जना पनि उम्मेदवार दिन नसक्दा संघईले वस्तुगतबाट सबैभन्दा कम मत पाउन सक्ने आँकलन छ । यस समूहको मतभार २० प्रतिशत छ । वरिष्ठ उपाध्यक्ष पदका लागि मतभार ३० प्रतिशत रहेको एशोसिएटबाट भने संघईले सबैभन्दा बढी मत पाउने छन् । एशोसिएट उपाध्यक्ष भरतराजलाई जाने मत उमेशलाल र अञ्जनलाई बाढिने सम्भावना छ भने ज्योत्सानाले पाउने मत संघईलाई जानेछ । वस्तुगत र जिल्लामा बढी प्रभाव अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको देखिन्छ । ज्योत्सनाले गुट परिवर्तन गरेपछि खस्किएका अञ्जन भरतराजलाई एसोशिएट उपाध्यक्ष बनाएपछि उत्साहित देखिन्छन् । रामचन्द्र, अञ्जन र उमेशलाल सबैले पहिलो चरणमा नै निर्वाचन जित्ने दावी गरेपनि त्यो सम्भव देखिँदैन । जिल्लाबाट सबैभन्दा बढी मत पाउने उमेशलाल समूहको दावी छ । चण्डीराज ढकाल, दिनेश श्रेष्ठ लगायत जिल्लामा बढी प्रभाव छोड्ने व्यक्तिहरु उमेशलालको टिममा छन् । वस्तुगतबाट पनि सबैभन्दा बढी मत पाएर पहिलो चरणमा नै आफू विजयी हुने उमेशलाल समूहको विश्लेषण छ । जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोशिएटबाट बढी मत पाउने अञ्जन समूहको विश्लेषण छ । धेरैले उमेशलाल र अञ्जन नै दोस्रो चरणमा प्रवेश गर्न सक्ने अनुमान गरेका छन् । चन्द्रको झिमिक्क र पैसाको प्रवाह यो निर्वाचनको नयाँपन भनेको महासंघको वर्तमान अध्यक्ष र अध्यक्ष हुँदै गरेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको मौनता हो । अघिल्लो निर्वाचनहरुमा अध्यक्ष वा वरिष्ठ उपाध्यक्ष प्रिय प्यानलको चुनावी घोडा बनेर जाने गरेका थिए । यस पटक त्यस्तो देखिएन । तैपनि शेखर र चन्द्र ढकालले कसलाई समर्थन गर्लान् ? भनेर धेरैले प्रतिक्षा गरिरहेका छन् । जिल्ला नगर, वस्तुगत, एशोसिएट सबैतिर राम्रो सम्बन्ध भएको र चन्द्र ढकाल झिमिक्क इसारा मात्र गरे पनि झण्डै १० देखि १५ प्रतिशत मत प्रभावित हुने जानकारहरु बताउँछन् । ढकाल आफैले कसलाई मत हाल्ने भन्ने बारेमा अन्तिम समय झिमिक्क मात्र गर्दा काफी हुने बताउँदै आएका छन् । दोस्रो, पुष्टि गर्न गाह्रो हुने तर सबैले स्वीकार गरेको अदृष्य मतप्रभाव हुन्छ । पैसामा भोट किनबेच हुन्छ । ‘चैत मसान्तको किस्ता जसले तिर्छ, उसैलाई भोट’ भन्ने आवाज महासंघको चुनावी पार्टीमा धेरै सुनियो । आर्थिक संकटको बेलामा दारुपानी पिएर बोलिएको यस्ता अभिव्यक्तिमा शंका गर्ने ठाउँ छ । दुई दर्जनभन्दा बढी जिल्ला तथा नगर उद्योग वाणिज्य संघको प्रतिनिधिहरुले उम्मेद्वारसँग लाखौं रुपैयाँ लिएर भोट हाल्ने गरेको पनि बताइन्छ । यसरी भोट किनबेच हुने भएकोले पनि निर्वाचन परिणामबारे आँकलन गर्न कठिन हुने जानकारहरु बताउँछन् ।

उद्योगी व्यवसायी साथीहरु मेरो पक्षमा हुनुहुन्छ, पहिलो चरणमै नतिजा निकाल्छौं : उमेशलाल श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि यहि चैत २९ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनले महासंघको वरिष्ठ उपाध्यक्ष अर्थात अर्को कार्यकालका लागि स्वत: अध्यक्ष हुने व्यक्ति चयन गर्दैछ । उक्त निर्वाचनमा सफल व्यवसायिक व्यक्ति उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । अहिले देखिएका उद्यमी व्यवसायीका समस्या, समाधानको उपाय आसन्न निर्वाचनको विषयमा केन्द्रित रहेर सफल उद्यमी क्वेष्ट फर्मास्युटिकल्सका प्रबन्ध निर्देशक, महासंघको पूर्व उपाध्यक्ष एवं आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठसँग विकासन्युजले गरेको कुराकानी : नेपाल उद्याग वाणिज्य महासंघको निर्वाचन नजिक आईसकेको छ । चुनावी तयारी कस्तो छ ? चुनावको लागि आवश्यक सबै तयारी रणनीतिक रुपमा अघि बढेका छौं । अहिले पनि जिल्ला तथा नगर, वस्तुगत र एसोसिएट्सतर्फका साथीहरुलाई भेट्ने काम भैरहेको छ । मैले करिब १ वर्षयता प्रायः जसो जिल्ला भ्रमण गरेर व्यवसायीका समस्याहरुलाई नजिकसँग बुझेको छु भने सम्बन्धित जिल्ला अध्यक्षहरुसँग पनि कसरी समस्या समाधान गर्ने भन्ने विषयमा निरन्तर संवाद भैरहेको छ । चुनाव भनेको अंकगणितीय खेल हो । उक्त अंक गणितमा हाम्रो समूह चुनाव जित्नेगरी अघि बढेको छ । अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा पहिलो चरणमै चुनाव जित्नेछौं । महासंघमा तपाईंको उम्मेदवारी किन ? पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघको साख गिर्दाे छ । तल्लो तहका उद्यमी व्यवसायी तथा व्यापारीको समस्या राम्रोसँग नसुनेको होकी भन्ने गुनासो धेरै आईरहेको छ । म पनि एक मझौला उद्यमी भएकाले नेतृत्वमा पुगेर साना तथा मझौला उद्यमीका हकहितमा काम गर्नुपर्छ भनेर वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु । अहिले महासंघको गिरेको साखलाई माथि उठाउँदै पहिलेको जस्तै उच्च सम्मान भएको संस्थाका रुपमा पुनः स्थापित गराउने दायित्व हामी माथि आएको छ । अहिले देश आर्थिक रुपमा संकटमा छ भने उद्यमी व्यवसायीहरु अझ बढी मारमा पर्नुभएको छ । यस्तो अवस्थामा उद्योगी व्यवसायीको समस्या समाधान गर्दै देशको अर्थतन्त्रलाई मजबुद बनाएर अघि बढाउन एक कुशल पाईलटको रुपमा महासंघलाई क्याप्टेनशीप दिन अघि बढेको छु । सबै जसो उद्योगी व्यवसायीले महासंघले व्यवसायीका एजेण्डा उठान गर्न सकेन । महासंघको साख गिर्यो भनिरहेका छन् । खासमा पछिल्लो समय महासंघको साख किन गिर्दैछ ? पद पाईसकेपछि पदमा पुग्नुभन्दा अघि उद्योगी व्यवसायीहरुबीच गरेका वाचाहरु बिर्सिए । अहिले महासंघमा भएकै त्यहिँ हो । विभिन्न एजेण्डा बोकेर चुनाव लडेका पदाधिकारीहरु पदमा त पुगे तर, अगाडी गरेका वाचाहरु बिर्सिदा महासंघमा यसको गम्भीर असर पर्याे । त्यति मात्रै भएन पदमा पुगेका पदाधिकारीहरुले आफ्नो फेवरमा मात्रै निर्णय गरे जसका कारण महासंघको साख पहिलेको तुलनामा केहि गिरेको जस्तो महशुस भएको छ । नेपालभर आफ्नो सञ्जाल भएको नेपाल सरकारपछिको सबैभन्दा ठूलो संस्था नै महासंघ हो । प्रतिष्ठित इतिहास र ७७ वटै जिल्लामा सञ्जाल पुगेको संस्था भएपनि नेतृत्वमा पुग्ने व्यक्तिहरु स्वार्थकेन्द्रित हुँदा व्यवसायीले जायज माख राख्दा पनि सरकारले सुनुवाई नगरेको अवस्था छ । रहरले नभई बाध्यताले केही समयअघि हामी सरकार र नेपाल राष्ट्र बैंकको गलत नीतिका विरुद्ध सडक आन्दोलनमा उत्रिएका थियौं । तत्कालका लागि व्यवसायीको आन्दोलन त रोकियो तर अहिलेसम्म मागहरु सम्बोधन भएका छैनन् । तसर्थ अबका दिनमा महासंघले व्यवसायीक हकहितमा कुनै जायज माग अघि सार्छ भने सरकारले तत्काल सम्बोधन गर्न सक्ने अवस्था बनाउनु पर्छ । चुनाव जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? आधार के के हुन् ? मतभारको परिणाम हेर्दा मैले चुनाव जित्छु । हाम्रो सबैभन्दा बढी मतभार जिल्लामा छ । जिल्लामा असाध्यै राम्रो पकड रहेका हाम्रा जिल्ला नगरतर्फबाटका उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठले मलाई सहयोग गरेर आफु पुनः उपाध्यक्षमा उठ्नुभएको छ । यो मेरा लागि सबैभन्दा ठूलो सहयोग र समर्थन हो । अर्काे एसोसिएटतर्फ पनि व्यवसायीका समस्या बुझेका भरतराज आचार्य र वस्तुगततर्फ उद्यमी व्यवसायीका समस्या समाधानका लागि सधै अग्रपंतीमा खट्ने मिजासिलो स्वभावका व्यक्ति हेमराज ढकाल हुनुहुन्छ । अर्कोतर्फ वस्तुगत त मैरै आफ्नै क्षेत्र भैहाल्यो । यसरी जिल्ला नगर, वस्तुगत र एसोसिएट गरेर पहिलो चरणको चुनावमै ५० प्रतिशत मतभार मेरै पक्षमा आउने सम्भावना अत्याधिक छ । जितको आधार नै यहि हो । पछिल्लो डेढ वर्षको अवधिमा देशका सबैजसो जिल्लाहरुको भ्रमण गरे । उद्यमी व्यवसायी साथीहरुका समस्या र उक्त समस्या समाधान कसरी गर्ने भन्ने विषयमा राम्रोसँग अध्ययन पनि गरेको छु । हामी उद्योगी व्यवसायीको पीडा बोकेर समस्या समाधान गर्ने समूहको रुपमा आफुहरु अघि बढेका छौं । मेरो विगतमा गरेको काम नै मेरो योग्यता हो । म निडर छु र व्यवसायीका आवाज बोल्छु, पक्कै पनि यहाँहरुले अमुल्य मत दिएर मलाई विजयी गराउनु हुनेछ भन्ने आशा र विश्वास छ । अनि एसोसिएट्सतर्फका उपाध्यक्षका उम्मेदवार भरतराज आचार्यलाई अञ्जन श्रेष्ठ समूहले पनि आफ्नो भनेर दावी गरिरहेका छन् । खासमा आचार्य चाहिँ कसको उम्मेदवार हुन् ? यसमा मैले कुनै जवाफ तथा प्रतिक्रिया दिनुपर्छ जस्तो लाग्दैन । भरतजी सुरुदेखिनै मेरै समूहको उम्मेदवार हुनुहुन्थ्यो र अहिले पनि मेरै समूहमा हुनुहुन्छ । अर्को समूहले एसोसिएट्स उपाध्यक्ष पदमा उठ्ने उम्मेदवार पाउनु भएन अन्तिममा आएर मेरै उम्मेदवारलाई समर्थन गरेर सरेन्डर गर्नुभयो । आफुले उम्मेदवार नपाएर हाम्रो समूहलाई समर्थन गर्ने अनि मेरै हो भने प्रचारबाजी गर्न पाइन्छ र ? तसर्थ भरतजी सुरुदेखिनै मेरै समूहमा हुनुहुन्छ र अहिले पनि मेरो समूहको तर्फबाट एसोसिएट्स उपाध्यक्षका प्रत्याशी हुनुहुन्छ । महासंघको भावी अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि तपाईँको पक्षमा हुनुहुन्छ भन्ने हल्ला छ नि ? उहाँ मेरो पक्षमा हुनु भनेको मेरा लागि अत्यन्तै राम्रो पक्ष हो । म सुरुदेखि नै उहाँको नजिक नै छु । हामी सँगसँगै अघि बढेका छौं । उहाँका र मेरा धेरैजसो कुरा र काम गर्ने शैली पनि मिल्छन् । तपाईंले जुन प्रश्न गर्नुभयो त्यो नै मेरा लागि ठूलो शक्ति हो । उद्योगी व्यवसायी समस्यामा पर्दा पनि महासंघले सरकारसँग लविङ गरेर समस्या समाधान गर्न सकेन भन्ने धेरैको गुनासो र आक्रोश छ । यस्ता विषयमा महासंघ किन सशक्त रुपमा अघि बढन् सकेन ? यस्तो समस्या यसपटक अलि बढी जटिल बनेर देखियो । महासंघमा आवद्ध धेरैजसो साथीहरु बैंक ब्याजदर विरुद्ध सडकमा उत्रिईरहँदा महासंघ नेतृत्वले एकशब्द पनि उद्योगी व्यवसायीको पक्षमा बोलेन । उद्योगी व्यवसायीलाई सहयोगको सट्टा उक्त आन्दोलनमा महासंघको संलग्नता नै छैन भनिदियो । तर, निक्कै नै दबाव सिर्जना भएपछि अन्तिममा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर महासंघका पदाधिकारीहरुले फोटो भने खिचाउनुभयो । यो क्रम अर्थमन्त्री र राष्ट्र बैंकको गभर्नरसँग पनि जारी रह्यो । तर, सदस्यले आन्दोलनताका राखेका समस्याको समाधान भएन । महासंघले लविङ गनुपर्थ्यो लविङ गरिएन बरु फोटो मात्रै खिच्ने काम गरियो । यसले महासंघका सदस्यका समस्या सुनुवाई कसरी हुन्छन् ?  उद्योगी व्यवसायी साथीहरु बैंक विरुद्ध आन्दोलनमा उत्रिनु भयो । त्यसमा म पनि सहभागी भए । तर हाम्रो आन्दोलन बैंकप्रति नभई नेपाल राष्ट्र बैंक र सरकारले ल्याएको नीतिको विरुद्ध हुनुपर्छ । त्यसैले यस्ता आन्दोलनहरु सुरुमा बैंकविरोधिजस्ता देखिएपनि खासगरी विरोध राष्ट्र बैंक विरुद्ध थिए । व्यवसायीका समस्याको समाधानका लागि उद्योगी व्यवसायीले उठाएका जायज मागसँग महासंघले ऐक्यवद्धता जनाउन सक्नुपर्छ । तर, महासंघले हामीसँग आवद्ध रहेका सदस्यको हकमा काम गर्न सकेको छैन । यदि आफ्ना सदस्यका समस्या समाधान नगर्ने हो भने किन चाहियो महासंघ ? चुनाव जित्नुभयो भने के-के गर्नुहुन्छ ? हामीले उठान गर्ने भनेको व्यवसायिक हकहितका एजेण्डा नै हुन् । महासंघको नेतृत्वमा पुग्ने व्यक्तिले व्यक्तिगत स्वार्थ राख्नु हुँदैन । राजनीतिक नेता भएको भए फलाना ठाउँमा पुल बनाउँथे, बाटो बनाउँथेलगायतका एजेन्डा हुन्थे । हामीले क्षेत्रका समस्या सरकारमाझ राखेर स्पष्टसँग बुझाउने र समाधान गर्न दबाब दिने हो । हुन त नेपालका राजनीतिज्ञहरु र कर्मचारीतन्त्रले निजी क्षेत्रलाई नबुझेका होईनन्, तर बुझेर बुझ पचाएको जस्तो गरिएको छ । त्यो प्रवृत्तिलाई चिर्नु आवश्यक छ, यो नै मेरो मुख्य एजेन्डा हो । हाम्रा ऐन नियमहरु नै निजी क्षेत्र मैत्री छैनन् । त्यस्ता नीति नियम परिवर्तन गर्न सरकारसँग लविङ गर्नु जरुरी छ । महासंघमा चुनाव लड्दा प्यानल बनाएरै लड्नुपर्ने हो ? हुन त महासंघजस्तो संस्थामा चुनावै नभएको राम्रो । तर, हामी सबैको महत्वाकांक्षाका कारण चुनाव हुन्छ । जुन प्यानल बनाएरै हुन्छ । यो प्रक्रिया धेरै अघिदेखिको हो । करिब ५७ वर्षको इतिहासमा जम्मा ३ पटकमात्रै निर्विरोध निर्वाचित पदाधिकारी आएका छन् । त्यसपछि भने प्यानल बनाएरै चुनाव गरियो र त्यहि अनुसार नतिजा आयो । मैले पनि ५ ओटा चुनाव फेस गरिसकेको छु । केहिमा हारेँ भने केहिमा जिते । तर म चुनावदेखि भने डराउन्न । तर, प्यानल नै बनाएर चुनाव लड्दा सबैजना पदाधिकारीहरु आफ्नै प्यानलको नआएको खण्डमा केहि काम गर्न भने अप्ठ्यारो हुन्छ । उद्योगी व्यवसायी (मतदाता) ले तपाईँलाई नै भोट किन दिने ? मसँग ४५ वर्षको व्यवसायीक अनुभव छ । मैले एकदमै तल्लो तहबाट व्यवसायीक यात्रा सुरु गरेँ । जसका कारण मैले साना ठुला सबै प्रकारका उद्यमी व्यवसायीलाई एकै प्रकारले हेर्छु । अझ भनौ म एकदमै ईमान्दार मान्छे पनि हो । म कुर्सीको लागि नै जे पनि गर्ने र कुर्सी पाएपछि मतदातालाई बिर्सने भन्ने मानसिकताबाट बाहिर भएको मान्छे हुनाले अन्य भन्दा म योग्य उम्मेदवार हुँ । त्यसैले मलाई नै भोट दिएर व्यवसायीक हकहितको इतिहास रचौं भन्न चाहन्छु ।