एकीकृत उच्च शिक्षा विधेयक चाँडै ल्याउँछौँ : मन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एकीकृत उच्च शिक्षा विधेयक चाँडै ल्याउने बताएकी छिन् । सिंहदरबारस्थित मन्त्रालयमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले अन्य विधेयकलाई रोकेर भए पनि उच्च शिक्षा विधेयक ल्याउने उल्लेख गरिन् । ‘विद्यालय शिक्षा विधेयक ल्याउन ढिला भयो । अब चाँडै विधेयक ल्याउन पहल गर्छु,’ उनले भनिन्, ‘उच्च शिक्षा विधेयक चाँडै ल्याउनमा म सचेत छु ।’ मन्त्री भट्टराईले विधेयकबारे सरोकारवाला, कानुन र अर्थ मन्त्रालयसँग छलफल गर्ने बताइन् । उच्च शिक्षा विधेयक ल्याउन सके शिक्षामा सुधार ल्याउन सकिने उनले विश्वास व्यक्त गरिन् । मन्त्री भट्टराईले विद्यालय जस्तै विश्वविद्यालयलाई राज्य र समाजसँग जोड्नुपर्ने बताइन् । ‘विश्वविद्यालय आफ्नै ऐन–कानुनबाट स्वायत्त भएर सञ्चालन भएका छन् । तिनीहरूलाई हामीले राज्य र समाजसँग जोड्न सकेका छैनौँ,’ उनले भनिन्, ‘राज्य र समाजसँग जोड्न सके विश्वविद्यालयलाई अझ विशिष्टिकृत र सामाजिक बनाउन सकिन्छ ।’ विश्वविद्यालयलाई राजनीतीकरणबाट टाढा राख्न राजनीतिक नेतृत्वसँग छलफल गरेको मन्त्री भट्टराईले बताइन् । उनले मन्त्रालयको चालू आर्थिक वर्षको बजेट आइसकेकाले त्यसैलाई आधार मानेर शिक्षामा सुधारका कार्यक्रम लागू गर्ने बताइन् । अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना, २०८१ को मस्यौदा तयार गरिएको सो अवसरमा उनले जानकारी दिइन् । स्थानीय तहभित्रका बालबालिकाको आधारभूत शिक्षासम्मको पहुँचको अवस्था यकिन गर्ने, विद्यालयको नक्सांकन गर्ने र विद्यालयको सेवा क्षेत्र तोक्न मस्यौदा बनाउन सुरु गरिएको मन्त्री भट्टराईले बताइन् ।

इन्दु बर्मा बनिन् प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी (पीइसी) को नयाँ ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् । कन्सल्टेन्सीले आइतबार पत्रकार सम्मेलन गरी कप्तान बर्मालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जानकारी गराएको हो । कार्यक्रममा कन्सल्टेन्सी र कप्तान बर्माबीच ब्रान्ड एम्सडेर नियुक्त गरिएको हस्ताक्षरसहितको सम्झौतापत्र एकआपसमा साटासाट गरिएको थियो । कन्सल्टेन्सीका निर्देशक कृष्ण श्रेष्ठले कप्तान बर्मालाई कन्सल्टेन्सीको ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गर्न पाउँदा खुसी लागेको बताए । बर्माले कर्पोरेट क्षेत्रको यो सहयोगले आफ्नो खेल जीवनमा सहयोग पुग्ने बताइन् । नेपाली क्रिकेटमा महिला खेलाडीलाई पनि प्रोत्साहन गर्नका लागि हात अघि बढाएको कन्सलटेन्सीले जानकारी दिएको छ ।

भरतपुर महानगरले दियो २६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

चितवन । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि दुई सय ६६ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताइन् । प्रमुख दाहालले शिक्षा क्षेत्रमा भरतपुर महानगरले उल्लेख्य फड्को मारेको उल्लेख गरिन् । उनले भनिन्, ‘महानगरले शिक्षा क्षेत्रमा शैक्षिक तथा भौतिक रुपमा ठूलो फड्को मारेको छ ।’ शिक्षामा सबैको पहुँच पुर्याउने उद्देश्यले महानगरपालिका अघि बढिरहेको उनले बताइन् । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पुर्याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ ।’ वितरणलाई अझै प्रभावकारी र वैज्ञानिक बनाउँदै लगिने उनले बताइन् । सरकारी विद्यालयको सुधार गर्दै संस्थागत विद्यालय सरह बनाउने गरी महानगरले शिक्षा क्षेत्रमा काम गर्दै आएको उनको भनाइ थियो । छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई आईतबार सिफारिसपत्र वितरण गरिएको छ । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई समेत छात्रवृत्ति वितरण गरिएको छ । ‘जेहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ’, शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यले भने । ३० संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ८९ र अन्य ७७ जना रहेका छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ ९९, गरिब तथा विपन्नतर्फ ९६, आदिवासी जनजातितर्फ २६, दलिततर्फ १३, अपाङ्गता भएका ८, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ २४ जना रहेका छन् । जसमध्ये अरोमा कलेज ४५ जना, अर्किड कलेज ३० जना, बालमीकि शिक्षा सदन २५ जना, नारायणी पब्लिक कलेज २४ जान, गुरुकुल एकेडमी १८ जना, एपेक्स एकेडमी १३ जना, सप्तगण्डकी कलेज ९ जना, अंकुरम एकेडमी ९ जना, अरबिट यूनिक स्कुल ९ जना र अन्य स्कुल गरी २६६ जनाले छात्रवृत्ति पाएका छन् । महानगरले वार्षिक रुपमा छात्रवृत्ति वितरण गर्दै आएको छ । गत वर्ष महानगरले २ सय ७४ जनालाई छात्रवृति दिएको थियो ।