महिला प्राचार्य भन्छन्- अहिलेको पुस्ताले तीजलाई पुस्तान्तरण गर्छन् भन्नेमा शंका छ

काठमाडौँ । तीज रमाइलोमात्र होइन, यसभित्रको मूल्य, मान्यता र  सभ्यताको पहिचान पृथक छ । तर, पछिल्लो समय तीजको नामका गरिने तडकभडकले यसको गरिमा र छवि धुमिल पारिरहेको छ । धैले तीजको अस्तित्वमाथि नै प्रश्न गरिरहेका छन् । एउटा घरपरिवार र समाजमा मात्रै होइन, विभिन्न संघसंस्था तथा विद्यालय-कलेजहरूले पनि तीजलाई भव्यताका साथ मनाइरहेका छन् । पृथक किसिमको पहिचान बोकेको तीजको सुन्दर पाटोलाई हामीले पुस्तान्तरण गर्न आवश्यक छ । त्यो पुस्तान्तरणको थालनी चाहिँ अहिले विभिन्न विद्यालय तथा कलेजहरूले पनि गरेका छन् । आज हामीले काठमाडौँमा रहेका विभिन्न विद्यालय तथा कलेजका महिला प्राचार्यसँग तीजको विषयमा उनीहरूले गरेको अभ्यास बुझ्ने प्रयास गरेका छाैँ । दक्षिणा श्रेष्ठ, सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी  दक्षिणा श्रेष्ठ । म नेवार समुदायको महिला हुँ । हाम्रो समुदायमा यो पर्वमा महिलाहरू व्रत लिने तथा रमाइलो गर्ने खासै चलन हुँदैन । तर, पनि राष्ट्रिय चाडको रूपमा महिला दिदीबहिनीहरूले मनाउनुहुन्छ । यसमा पनि मेरो आस्था छ । गत मंगलबार हामीले कलेजमा पनि तीज कार्यक्रम मनाएर दर खायौँ । कलेजका सबै शिक्षक साथीहरूसँग रमाइलो गरियो । विगतको तुलनामा तीज केही फरक हुँदै गएको महसुस मैले गरेकी छु । विगतमा तीज भनेपछि दिदीबहिनी माइत जाने, बाआमा, काका-काकी आफन्तहरूसँग भेटघाट गर्ने अनि मीठोमसिनो खाएर रमाइलो गर्ने भन्ने हुन्थ्यो । तर, अहिले पहिलेको तुलनामा फेरिँदै गएको देखिन्छ । महिलाले एकदिन भएपनि आफ्नो लागि जीउँछन् । तर, पछिल्लो समय देखावटी बढेको छ ।  देखाउनका लागि अनेक गतिविधि गरिन्छ । अहिले सबैले आ-आफ्नै तरिकाले तीज मनाइरहेका छन् ।  धेरैजसो विद्यालय तथा कलेजले पनि तीजका कार्यक्रमहरू गरिरहेका छन् । कतिपय विद्यालय तथा कलेजले विद्यार्थीबाट पैसा उठाएर त कतिपयले नउठाएर मनाएका छन् । यो राम्रो हो । किनकि विद्यार्थीले यस्ता चाडपर्वबाट पनि धेरै कुराहरू सिक्छन् । तर, यस्ता कार्यक्रमका नाममा कलेज वा विद्यालयले विद्यार्थीबाट पैसा भने उठाउनु हुँदैन । म यसलाई बेथिति भन्छु । यस्ता चाडपर्व हाम्रा संस्कृति हुन् नि । यसलाई जोगाउनु हामी सबैको कर्तव्य हो । तर, नेपालमा यस्तो छैन । परम्परा बिस्तारै लोप हुँदै गएको पाइन्छ । विद्यार्थी मात्र होइन, सबैले यस्ता चाडपर्वबाट धेरै कुरा सिक्नुपर्छ । नेपालमा विभिन्न जातजाति बसाेबास गर्दै आएका छन् । हाम्रो नेवार समुदायमा पनि फरक किसिमका चाडपर्व छन् । सबैले एक-अर्काको संस्कृतिलाई सम्मान गर्दै कार्यक्रम मनाउनुपर्छ । प्रदिप्ता कादम्बरी, कादम्बरी कलेज  प्रदिप्ता कादम्बरी । तीजलाई म पारिवारिक चाड भन्न रुचाउँछु । यो चाड अहिले सामाजिक हुँदै गएको छ । आमा, दिदी, सानिमा, दाजुभाइले दिदीबहिनीलाई तीजमा माइत बोलाउने चलन छ । म पनि आफन्तले बाेलाएको ठाउँमा तीज मनाउन गएँ । त्योबाहेक साथीहरूसँग विभिन्न समुदाय र अफिसमा भने म गइनँ । किनकि तीज महिनौं दिनसम्म चल्ने र खाने मात्र देखिएकाले मैले आफ्नै ढंगले मनाउँदै आएकी छु । तीजमा धेरै परिर्वतन भएको छ । पहिले तीजको जुन मर्म थियो, त्यो अहिले छैन । टाढा बसेका छोरीहरू माइत आउने अनि आफ्ना दुःखसुखका कुरा सुनाउने अभ्यास थियो । त्यहीअनुसारका गीतहरू हुन्थे । जुन यथार्थमा भइरहेकै घटनामा आधारित हुन्थे । तर, अहिले बढी पार्टी गर्ने, रमाइलो गर्ने खालको भएको देख्छु । हुन त समय परिवर्तनसँगै त्यो अवस्था रहेन होला । प्रविधिले दिएको फाइदा सदुपयोग होला । यद्यपि अहिले पनि समाजमा त्यस्ता विभिन्न घटनाहरू भइरहेका छन् । पहिलेको भन्दा केही महिला सशक्तिकरण पनि भएको छ, यस्ता गीत पनि आएको भए समय परिर्वतनसँगै फेरियो भन्न मिल्थ्यो । तर, अहिले  तीज धेरै भड्किलो भएको छ । आजभोलि भ्यूज, लाइक अनि कमेन्ट बढाउन पनि यस्तो गरेको हुन सक्छ । योसँगै संस्कृतिको कुरा पनि जोडिएर आएको छ । यसले गर्दा नराम्रो भएको छ । यसको म विरोध नै गर्छु । यस्तै, विद्यालयमा पनि विद्यार्थीबाट पैसा उठाएर कार्यक्रम गरेको भन्ने सुनिन्छ । हाम्रो कलेजले यस्तो गर्दैन । मलाई पनि मन पर्दैन । बरु हामीले बाहिर बाटोमा नाचिरहेका महिला दिदीबहिनीहरूलाई बोलाएर कलेजको प्राङ्गणमा नाच्ने सुविधा गराउँछौँ । पानी, जुस र म्युजिकको व्यवस्था गर्दै आएका छौँ। हामी पैसा उठाएर तीज मनाउँदैनौँ । तीजमा रमाइलो गर्न शुल्क उठाउनु विकृति हो । विद्यालयले यस्ता कार्यक्रमको आयोजना गरेर चाडपर्वबारे विद्यार्थीलाई सिकाउन सक्छ । यस्तो गर्दा बच्चाहरूले संस्कृतिबारे बुझ्दै जान्छन् । यसरी मनाउनु राम्रो हो तर बालेनजस्तो श्रीमान पाऊँ भन्दै नाच्दै गाउँदै गए राम्रो हुँदैन । डा. सर्मिला पोखरेल, पद्मोदय मावि  हामीले पनि विद्यालयमै तीज कार्यक्रम मनायौं । कक्षा ११ र १२ का विद्यार्थीले आफैं पैसा उठाएर दर बनाएर खाए अनि नाचगान गरे । रमाइलो नै भयो । विद्यार्थी आफैले पैसा उठाउने निर्णय गरे । कक्षा १ देखि १० सम्मका विद्यार्थीले भने पैसा उठाएनन् । उनीहरूले नृत्य कार्यक्रम गरे । मैले यो वर्षको तीज विद्यालय र विद्यार्थीसँगै मनाइरहेकी छु । विद्यार्थीलाई रमाइलोमात्र नगराइ तीज के हो ? यसको महत्त्व के छ ? भन्ने विषयमा पनि जानकारी गराएका छौँ । अहिलेो तीज विगतको जस्तो छैन । अहिलेको पुस्ताले यस्ता पर्वलाई पुस्तान्तरण गर्छन् भन्नेमा शंका लाग्छ । खानपानदेखि अन्य कुरामा निकै तडकभडक छ । बच्चालाई हामीले दिने संस्कार के हो ? घरबाट के सिक्छन् ? विद्यालयबाट के सिक्छन् भन्ने हो । रिताल राणा,  मिडभ्याली इन्टरनेशनल कलेज यो पटकको तीज मैले पनि रमाइलो साथ मनाइरहेकी छु । हामी सबै महिला मिलेर कलेजमै रमाइलो गर्यौँ, घरमा आफन्तहरू जम्मा भएर पनि रमाइलो गरिरहेका छौँ । यस्ता रमाइला पर्वहरूले खुसी ल्याउँछ । तीजले सधैँ टाढा भएर व्यस्त भएकाहरूसँग भेट गराउने मौका जुराउँछ । राम्रो श्रीमान पाउन मात्र होइन, श्रीमानको आयुको लागि मात्र पनि होइन, साथीभाइसँग रमाइलो गर्न  पनि यो चाड मनाइने गरिन्छ । रिताल राणा ।

एमबीबीएस प्रवेश परीक्षा नतिजाको त्रुटि छानबिन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सो प्रवेश परीक्षाको नतिजामा चिकित्सा शिक्षा आयोगले गम्भीर त्रुटि गरेको निष्कर्ष निकाल्दै आम जनता र सम्बन्धित विद्यार्थीहरूलाई विश्वासमा लिएर त्यसलाई सच्याउन सरकारलाई निर्देश गरेको हो । परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्तांक अर्कै विद्यार्थीको नाममा आउने जस्तो गम्भीर त्रुटि आयोगबाट भएपछि त्यसलाई तत्काल सच्याउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए । समितिले सो सम्बन्धमा तत्काल छानबिन समिति गठन गरी १० दिनभित्र सो प्रतिवेदन समितिमा पेस गर्न पनि सरकारलाई सचेत गराएको छ । ‘आम नागरिकहरूको स्वास्थ्यसँग जोडिएको चिकित्सा शिक्षा जस्तो गम्भिर विषयमा तथा विद्यार्थीको भविष्यसँग समेत जोडिएको चिकित्सा शिक्षा सम्बन्धि एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा यस पटक देखिएको कमजोरी के कारणले भएको हो ? सो सम्बन्धमा १० दिन भित्र छानबिन गरी तथ्य कुरा बाहिर ल्याउन र त्यसको आधारमा आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरी आम नागरिक र सम्बन्धित विद्यार्थीहरूको समेत विश्वास जित्ने गरी आवश्यक सुधार गरी अगाडि बढ्न तथा छानबिन सम्बन्धी प्रतिवेदन समिति समक्ष पेस गर्न यो समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन गर्दछ,’ समितिको निर्णय छ । बैठकमा समितिका सदस्यहरूले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि नै डामाडोल हुने गरी सो परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए । यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पनि आयोगले सो गम्भिर त्रुटी गरेको औंल्याउँदै त्यसलाई छानबिन गरेर अघि बढ्ने प्रतिबद्धता समिति समक्ष गरेकी थिइन् ।

सीटीइभीटीको उपाध्यक्षका लागि विज्ञापन आह्वान

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) उपाध्यक्ष खगेन्द्र अधिकारीको कार्यकाल सकिएपछि नयाँ उपाध्यक्षको खोजी भएको छ । यसका लागि सीटीइभीटीले खुल्ला प्रतिस्पर्धाबाट विज्ञापन गरेको । उपाध्यक्ष मनोनयन सिफारिस समितिले विज्ञापन गरेको सीटीइभीटीले जनाएको छ । उपाध्यक्ष हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर गरेको, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको, चालीस वर्ष उमेर पूरा भई साठी वर्ष उमेर ननाघेको हुनु पर्ने छ । योग्यता पुगेका उम्मेदवारले भदौ २६ भित्र सीटीइभीटीको बारेमा ५ हजार शब्दमा कार्य योजना सहितको सोचपत्र लेखेर मन्त्रालयको प्रशासन महाशाखामा दर्खास्त दिन सकिने व्यवस्था गरेको छ ।