त्रिविले माग्यो ११ क्याम्पस प्रमुखका लागि आवेदन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गरी काठमाडौं उपत्यकाका तीन सहित ११ क्याम्पसका लागि क्याम्पस प्मुख पदमा आवेदन माग गरेको हो । त्रिविले रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, सुर्खेत शिक्षा क्याम्पस सुर्खेतका लागि क्याम्पस प्रमुखको आवेदन माग गरेको हो । यसैगरी सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि पनि आवेदन माग गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुस्तकालय सञ्चालन
काठमाडौं । प्रधानमन्त्री निवास, बालुवाटारमा आजदेखि ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा पुस्तकालय सञ्चालनमा आएको हो । ‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई साताअघि सार्वजनिक आह्वान गरेका थिए । आह्वानबमोजिम पुस्तक उपहार दिने क्रम जारी रहेको छ । प्रधानमन्त्री निवासको पुनः निर्माणका क्रममा पुस्तकालय कक्षाको संरचना भए पनि हालसम्म पुस्तक सङ्कलन तथा प्रयोग भएको थिएन । पुस्तकालय आरम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती शाक्यको पहललाई धन्यवाद दिए । पुस्तकालयलाई औपचारिक रुपमा थालनी गर्ने तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहको स्मरण गर्दै उनले यस पुस्तकालयलाई गहन पुस्तकालय बनाउन पहल गर्ने पनि बताए ।
नेपालका आईटी कार्यबललाई सक्षम बनाउन नास आईटीले सुरु गर्यो नयाँ पाठ्यक्रम
काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आईटी) ले गत शुक्रबार नेपालका आईटी कार्यबलहरूको सीप बढाउने उद्देश्यले दुई नयाँ पाठ्यक्रमहरू सुरु गरेको छ । यी पाठ्यक्रमहरू, डेभओप्स फन्डामेन्टल्स र मास्टरिङ वेब एप्लिकेसन डेभलपमेन्ट यूएसएआइडीको सहायतामा विकसित गरिएको जानकारी दिइएको छ। नास आईटीले यी पाठ्यक्रमहरू कार्यान्वयन गर्न टेक आक्सिस र प्रेसिडेन्सियल ग्राजुएट स्कूलसँग साझेदारी गरेको छ । टेक आक्सिसले मास्टरिङ वेब एप्लिकेसन डेभलपमेन्ट कार्यक्रम सञ्चालन गर्नेछ भने प्रेसिडेन्सियल ग्राजुएट स्कूलले डेभओप्स फन्डामेन्टल्स पाठ्यक्रममा ध्यान केन्द्रित गर्नेछ । दुवै संस्थाहरूले सम्भावित सहभागीहरूलाई यी पाठ्यक्रमहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन्। डेभओप्स फन्डामेन्टल्स पाठ्यक्रम अन्तिम वर्षका विद्यार्थीहरूका लागि तयार गरिएको हो जसले तिनीहरूलाई व्यावहारिक डेभओप्स सिप प्रदान गर्दछ । डेभओप्सका सिद्धान्तहरू र कार्यप्रणालीहरू बुझेर विद्यार्थीहरू आधुनिक सफ्टवेयर विकासमा योगदान दिन तयार हुनेछन् । मास्टरिङ वेब एप्लिकेसन डेभलपमेन्ट पाठ्यक्रम आईटी व्यवसायी र कर्मचारीहरूलाई वेब एप्लिकेशन विकासमा उच्चस्तरको सीप प्रदान गर्न डिजाइन गरिएको हो । सहभागीहरूले उन्नत प्रविधिहरू, उत्कृष्ट अभ्यासहरू र उद्योगका प्रवृत्तिहरू सिक्नेछन् जसले उदाहरणीय वेब एप्लिकेशनहरू बनाउन सक्षम बनाउनेछ । ‘नास आईटी जनशक्ति विकास र शैक्षिक क्षेत्र र उद्योग बीचको सहकार्यलाई प्रोत्साहन गर्न प्रतिबद्ध छ,’ नास आईटीका कैलाश राज विजयनन्दले भने, ‘यी पाठ्यक्रमहरूले आईटी जनशक्तिलाई आजको प्रविधि(चालित संसारमा फस्टाउन आवश्यक सीपहरू प्रदान गर्ने छ । हामी विश्वास गर्छौं कि यी कार्यक्रमहरूले नेपालको आईटी उद्योगको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछन् ।’