सरकारले माग्यो युवा वैज्ञानिक
काठमाडौं । सरकारले युवा वैज्ञानिक मागेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान खुमलटारले युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रमका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको हो । यस प्रज्ञा–प्रतिष्ठानबाट चालु आर्थिक वर्ष २०८१/८२ मा युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रम अन्तर्गत विज्ञान तथा प्रविधिका विधाहरूमा नतिजामुखी अनुसन्धान तथा नवीनतम प्रविधि विकास गर्न इच्छुक युवा वैज्ञानिक एवं प्राविधिहरूलाई २१ दिनभित्र अनुसन्धान प्रस्ताव पेस गर्न आग्रह गरेको हो । आवेदन दिँदा अन्तिम म्यादसम्ममा ४० वर्ष उमेर ननाघेको हुनुपर्ने बताइएको छ । अनुसन्धान अनुदानका लागि बजेटको अधिकतम सीमा व्यक्ति÷समूहगतको अनुसन्धानका लागि ५ लाख रुपैयाँ, संस्थागतको लागि १० लाख रुपैयाँ र बहु विधागतको लागि १२ लाख रुपैयाँसम्म रहेको छ । माध्यमिक विद्यालय स्तर (विज्ञान कक्षा १२) का विद्यार्थीहरूबाट गरिने अनुसन्धानका लागि ५० हजार रुपैयाँ, र क्याम्पस स्तर (विज्ञान तथा प्रविधि विषयमा स्नातक) विद्यार्थीहरूले गर्ने अनुसन्धानका लागि १ लाख रुपैयाँ र वैज्ञानिक समाज, प्रविधि समाज र संस्थाहरूले गर्ने अनुसन्धान वा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नका लागि १ लाख रुपैयाँसम्म अधिकतम बजेट सीमा रहेको छ । चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट गत आर्थिक वर्ष २०८०/८१ मा प्रदान गरिएको अनुसन्धान अनुदानको बाँकी किस्ता रकम भुक्तानी दिनुपर्ने भएकोले सोको व्ययभार र प्रशासनिक खर्च कटाई बाँकी रकमबाट अनुसन्धान अनुदान प्रदान गरिने प्रज्ञा प्रतिष्ठानले बताएको छ । विद्यालय स्तर र क्याम्पस स्तरका विद्यार्थीहरूले गर्ने अनुसन्धानका लागि अनिवार्यरूपमा समूहगत प्रस्ताव र सम्बन्धित विद्यालय र क्याम्पसको सिफारिस पेस गर्नुपर्नेछ । अनुसन्धान प्रस्ताव पेस गर्दा अन्तिम शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रतिलिपि र अपडेटेड बायोडाटा अनिवार्यरूपमा पेस गर्नुपर्नेछ ।
विद्यार्थीलाई १५ करोडको छात्रवृत्ति दिँदै नेपाल इन्जिनियरिङ कलेज
काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि १५ करोड बढीको छात्रवृत्ति छुट्याएको बताइएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कलेजले हरेक वर्ष स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई १५ करोड बढीको छात्रवृत्ति प्रदान गरिएको जानकारी दिइयो । चाँगुनारायण नगरपालिकाका मेयर समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित नेपाल इन्जिनियरिङ कलेज सञ्चालन समितिका अध्यक्ष जीवन खत्रीले इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई १५ देखि १८ करोड रुपैयाँसम्म छात्रवृत्ति दिने गरेको जानकारी दिए । ‘पैसा नभएपनि इन्जिनियरिङ पढ्न भनेर नेपाल इन्जिनियरिङ कलेजमा आएका जेहेन्दार विद्यार्थीले पढ्न पाउँछन् ।’ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि विभिन्न छात्रवृत्तिहरू प्रदान गर्दै आएको बताउँदै अध्यक्ष खत्रीले भने । साथै, उनले योग्य विद्यार्थीहरू पैसाका अभावका कारणले नेपाल इन्जिनियरिङ कलेजमा पढ्न पाउँदैन भने त्यो विद्यार्थीलाई चाँगुनारायण नगरपालिकाले पढाउन जिम्मा लिने बताए विद्यार्थीहरूबाट उठेको शुल्क कलेज र विद्यार्थीकै वृत्ति विकासमा खर्च गर्ने भएकाले अन्य कलेजहरूको तुलनामा कम रहेको बताए । ‘यो कतै भागवण्डा हुँदैन, कसैलाई जाँदैन, यो राज्यको सम्पत्ति हो । तपाई हाम्रो सम्पत्ति हो ।’ अध्यक्ष खत्रीले स्वदेशमै गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्था हुँदाहुँदै लाखौं खर्च गरेर सानै उमेरका विदेशिनु गलत रहेको जिकीर गर्दै भने,‘प्लस टु पास हुने वित्तिकै विदेश जानु भन्दा पनि दक्ष भएर सीप सिकेर विश्वको जुनसुकै बजारमा प्रतिष्पर्धा गर्न सक्ने गरि जानुपर्छ ।’ कलेजले उत्पादन गरेका जनशक्ति विश्वमै प्रतिष्पर्धा गर्न सक्ने दाबी गरे। पोखरा विश्वविद्यालयले प्रदान गर्ने १० प्रतिशत छात्रवृत्तिसँगै कलेजले स्थानीय तह (वडा, नगरपालिका) छात्रवृत्ति, प्रादेशिक छात्रवृत्ति, कलेज टपर छात्रवृत्ति, सेमेस्टर टपर छात्रवृत्तिसमेत दिने अध्यक्ष खत्रीले जानकारी दिए । कलेजमा विद्यार्थी पढाउन चाँगुनारायण नगरपालिकाले समेत बजेट व्यवस्थापन गर्ने गरेको उनको भनाइ छ । उनले कलेजबाट अध्ययन गरेका विद्यार्थीहरू विश्वका धेरै ठूल्ठूला कम्पनी र कार्यालयहरूमा कार्यरत रहेको समेत दाबी गरे । नेपाल इन्जिनियरिङ कलेज स्थापनाकाल देखि नै सामुदायिक कलेजका रूपमा सञ्चालनमा रहेको पनि जनाए । कलेजका प्राचार्य सह प्राध्यापक दुर्गाप्रसाद भण्डारीले तत्कालिन चाँगुनारायण गाविसले कलेज सञ्चालनका लागि १७६ रोपनी जग्गा भोगचलनका लागि उपलब्ध गराएकोले कलेज चलाउन भाडा तिर्नुपर्ने अवस्था नरहेको र कलेज गैरनाफामुलक भएकोले पनि विद्यार्थीहरूलाई बढी छात्रवृत्ति दिइएको, शुल्क कम गरिएको बताए । पुल्चोक भन्दा प्राइम कलेज भएको भन्दै उनले कम शुल्क लिएर पनि कलेजले क्वालिटी एजुकेशन दिइरहेको दाबी गरे । ‘विद्यार्थीलाई चाहिने वातावरण, पूर्वाधार, ल्याब, अत्याधुनिक पुस्तकालय, पाठ्यक्रम र पाठ्यक्रममा नभएका सीप सिक्ने विषयहरू पनि हामीले दिएका छौं । पुल्चोक कलेजको विकल्पको रूपमा कलेज स्थापना भएको हो’, प्राचार्य भण्डारीले बताए । विश्वब्यापी रूपमा दक्ष जनशक्ति उत्पादन गर्न सोही अनुसार कलेजमा पाठ्यक्रमहरू रहेको, १२३ जना फुल टाइम फ्याकल्टी व्यवस्थापन गरिएको, अधिकतम प्रयोगात्मक शिक्षण विधि अपनाइने गरिएको प्राचार्य भण्डारीको जिकीर छ । सो क्रममा १२ पास गरेलगत्तै विद्यार्थीहरू विदेशिनु चिन्ताको विषय भएको भन्दै नेपालमै प्राविधिक शिक्षा अन्तर्राष्ट्रियस्तरको भइरहेका बेला पनि विद्यार्थीहरू उच्च शिक्षाका नाममा विदेशिनु सुखद नभएको उनको भनाइ छ । ‘विदेश पढ्न जानु गलत होइन । तर, अभिभावकको रेखदेख र संरक्षणमा हुर्किएको, हातमा कुनै सीप नभएको र आफ्नो भविष्यबारे ठीक ढंगले सोच्न सक्ने क्षमताको विकास भइसकेको हुँदैन,’ उनले भने, ‘त्यसमाथि नेपालीको आर्थिक अवस्थाका कारण सबै विदेश जाने विद्यार्थीहरू अभिभावककै खर्चमा पढ्न सक्दैनन् ।’ कलेजका सहायक प्राध्यापक यमकृष्ण पौडेलले पोखरा विश्वविद्यालयले केही समय अगाडि मात्रै पाठ्यक्रमहरू समय सापेक्ष संशोधन गरिसकेको बताउँदै कलेजले क्वालिटी एजुकेशनमा कुनै सम्झौता नगरेको बताए । ‘इन्जिनियरिङ विधाका सबै पाठ्यक्रमहरू विश्वव्यापी एकरुपता हुन्छ,’ उनले भने, ‘नेपालमै इन्जिनियरिङ गरेका विद्यार्थीहरू विश्वका धेरै देशहरूमा प्रतिष्ठित कम्पनी र क्षेत्रमा सफलतापूर्वक अगाडि बढिरहेको प्रशस्त उदाहरण छन् ।’ उनका अनुसार इन्जिनियरिङ विधाका विभिन्न विषयमा दशौं हजार दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । चाँगुनारायण नगरपालिका, भक्तपुरमा रहेको उक्त इन्जिनियरिङ कलेजमा हाल स्नातक तथा स्नातकोत्तर तहका विषयहरूमा अध्ययनरअध्यापन हुँदै आएको छ । कलेजले स्नातक तहतर्फ छ वटा विषय र स्नातकोत्तर तहतर्फ चारवटा विषय अध्ययन अध्यापन गराउँदै आएको छ । स्नातक तहमा सिभिल इन्जिनियरिङ (१४४ सिट), सिभिल एण्ड रुलर इन्जिनियरिङ (४८ सिट), कम्प्युटर इन्जिनियरिङ (९६ सिट), इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ ९४८सिट०, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा (४८ सिट), सिभिल फर डिप्लोमा होल्डर्स (४८ सिट) कलेजसँग छ । भने, बी. आर्किटेक्टमा ४८ सिट रहेको छ ।
शिक्षा मन्त्रालयले भन्यो- विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू
काठमाडौं । नेपालमा सञ्चालित विदेशी विश्वविद्यालयबाट मान्यता लिएका कलेजमा भर्ना हुँदा ध्यान पुर्याउन सरकारले आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कतिपय कलेजले नियमविपरीत सञ्चालन भइरहेकाले भर्ना हुनुपूर्व कलेजबारे जानकारी लिन भनेको हो । मन्त्रालयले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालयबाट नियमानुसार मान्यता प्राप्त गरेका कलेजबाहेक अन्य विदेशी विश्वविद्यालयको कोर्ष सञ्चालन गरिरहेका कलेज/शिक्षण संस्थाहरूका स्नातक र सोभन्दा माथिका कार्यक्रमहरूमा विद्यार्थी भर्ना राम्रोसँग बुझौँ ।’ यस्तै, मन्त्रालयले एक सूचना जारी गर्दे अन्तराष्ट्रिय कार्यक्रम सञ्चालन गरिरहेका तीन वटा कलेजमा विद्यार्थीलाई भर्ना नगर्न आग्रह गरेको छ । काठमाडौंको बानेश्वरमा रहेको ग्लोबल इन्टरनेश्नल कलेज, ललितपुरको खुमलटारमा रहेको नेपाल एजुकेशन फाउण्डेशन कन्स्रोटियम अफ कलेजमा र जनकपुरको कश्यपइन्सिच्युट अफइन्जिनिएरिङ कलेजमा भर्ना नहुन मन्त्रालयले आग्रह गरेको हो । काठमाडौंको बानेश्वरमा ग्लोबल इन्टरनेश्नल कलेज अहिलेको सम्बन्धन प्राप्त विश्वविद्यालयको कार्यक्रम सञ्चालन नगरेको कारण विद्यार्थी गर्न नमिल्ने मन्त्रालयले जनाएको छ । यस्तै नेपाल एजुकेशन फाउण्डेशन कन्स्रोटियम अफ कलेज स्थानान्तरणको प्रक्रीयामा रहेका कारण भर्ना गर्न नमिल्ने र जनकपुरको कश्यप इन्सिच्युट अफ इन्जिनिएरिङ कलेजको समकक्षता सम्बन्धि विषयमा सर्वोच्च अदालतमा मुद्दा विचारधीन अवस्थामा रहेकाले विद्यार्थीलाई भर्ना नहुन भनेको हो । उच्च शिक्षा हासिलका लागि मन्त्रालयबाट मान्यता प्राप्त ५६ वटा कलेजमा मात्र भर्ना हुन भन्दै आफ्नो वेबसाइटमा ती विद्यालयको नामावली राखेको छ ।