स्ववियु चुनावका लागि विद्यार्थी ताते, विद्यार्थी आगाडि, त्रिवि पछाडि
काठमाडौं ९, माघ । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनाव घोषणा गरेसंँगै विद्यार्थी संगठनहरू चुनाव आफ्नो पक्षमा पार्न कस्सिएका छन् । तीन ठूला विद्यार्थी संगठन चुनावको रणनीतिसहित काममा जुट्न थाले पनि त्रिवि भने प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिको प्रतिक्रिया पर्खेर बसेको छ । त्रिविले १४ फागुनमा स्ववियु चुनाव गर्ने घोषणा गरेको छ । अब एक महिनाभन्दा केही दिन बढी रहँदासम्म उसले चुनावसम्बन्धी कार्यतालिका सार्वजनिक गर्न सकेको छैन । त्रिविले कार्यतालिका सार्वजनिक नगरेको भन्दै विद्यार्थी संगठनका पदाधिकारीले आलोचना गर्न थालेका छन् । चुनावको कार्यतालिका ल्याउन ढिलाइ भएकोमा असन्तुष्टि त्रिविले कार्यतालिका सार्वजनिक गर्न ढिलाइ गरेकामा अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले आश्चर्य व्यक्त गरिन् । ‘हामी विद्यार्थी संगठन चुनावमा होमिएका छौँ, विश्वविद्यालयले कार्यतालिका ल्याउन किन ढिलाइ गरेको हो, अचम्म लाग्यो,’ उनले भनिन् । त्रिविका पदाधिकारीहरू धेरै विदेश उडेकाले ढिलाइ भएको उनको आरोप छ । नेविसंघमा २८ वर्षे उमेर हदबन्दीमा केही नेताको गुनासो रहे पनि संगठनले चुनावमा जाने तयारी गरेको छ । संघका अध्यक्ष नैनसिंह महरले अहिलेकै अवस्थामा पनि चुनावमा जाने बताए । संघका महामन्त्री कुन्दन काफ्लेले २८ वर्षे उमेर हदबन्दीमै चुनावमा जाने भन्दै शनिबार विज्ञप्ति जारी गरेका छन् । ठूला तीन संगठनको तयारी अनेरास्ववियु नवीना लामा, अध्यक्ष, अनेरास्ववियु स्ववियु चुनावको तयारीका लागि उपाध्यक्ष महेश बर्तौलालाई जिम्मेवारी दिएका छौँ । आन्तरिक रूपमा गृहकार्य गर्दै छौँ। १३ माघमा बसेको विस्तारित बैठकले निर्वाचनसम्बन्धी रणनीति बनाएको छ । चुनावको तयारीका लागि सबै कमिटीलाई बैठक राख्न निर्देशन दिइएको छ, विद्यार्थीको स्वागत कार्यक्रम गर्दै छौँ । केन्द्रमा ठूलो भेला गर्ने तयारी गरेका छौँ । प्रचारप्रसारका लागि रत्नराज्य क्याम्पस तोकेका छौँं । नेपाल विद्यार्थी संघ नैनसिंह महर, अध्यक्ष, नेविसंघ स्ववियु निर्वाचनका लागि अध्यक्षको अध्यक्षतामा सात हजार एक मूल तयारी समिति गठन गरिएको छ । ६० वटा आंगिक क्याम्पसमा पठाउने गरी नेताको सूची तयार गर्दै छौँ । स्ववियु चुनावको घोषणापत्र तयार गर्दै छौँ । प्रचारप्रसारका लागि पार्टी र जिल्ला नेविसंघको नेतृत्वसँग समन्वय गर्दै काम भइरहेको छ । अनेरास्ववियु क्रान्तिकारी नरेन्द्र न्यौपाने, अध्यक्ष, अनेरास्ववियु क्रान्तिकारी पदाधिकारीलाई क्याम्पसकेन्द्रित कार्यविभाजन गरेका छौँ । स्ववियुकेन्द्रित रणनीति बनाउन सातवटै प्रदेशस्तरीय कार्यशाला सम्पन्न गरेका छौँ । क्याम्समा जाडो बिदाभरि संगठनको आन्तरिक काम हुँदै छन् । खुलेपछि क्याम्पसकेन्द्रित हुने रणनीति छ । घोषणापत्र तयार भएको छ, केही दिनमै सार्वजनिक गर्छौँ । १ फागुनमा सभापतिका उम्मेदवार सार्वजनिक गर्छौँ । नयाँ पत्रिका दैनिकबाट ।
तीन प्रतिष्ठानका उपकुलपतिका लागि ३० को दरखास्त, आवेदकको कार्ययोजना फाइल खोले स्वास्थ्यमन्त्री गगन थापाले
काठमाडौँ, २९ पुस । स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा उपकुलपति बन्न पहिलो पटक आह्वान गरेको खुला विज्ञापनमा ३० जनाले निवेदन दिएका छन् । मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि एक साताअघि खुला दरखास्त आह्वान गरेको थियो । यसअघि उपकुलपतिमा राजनीतिक नियुक्ति हुँदै आएको थियो । आवेदन दिएका चार चिकित्सकले दुई प्रतिष्ठानमा र एक चिकित्सकले तीनै प्रतिष्ठानमा दरखास्त दिएको चिकित्सा सेवा महाशाखाका उपसचिव रामकृष्ण लामिछाने बताए । सबैभन्दा बढी १५ जनाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सबैभन्दा कम पाँच जनाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दरखास्त दिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने १० जनाले दरखास्त दिएका छन् । प्र्रतिष्ठानका सहकुलपति तथा सर्च कमिटी संयोजक स्वास्थ्यमन्त्री गगनकुमार थापा, स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती र राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा गीताभक्त जोशी सदस्य रहेको कमिटीले सोमबारदेखि दरखास्त दिएकाहरुको कार्ययोजनाबारे छलफल थाल्ने उपसचिव लामिछानेले जानकारी दिए । समितिले दरखास्त दिने ३० जनाले पेस गरेको कार्ययोजनाका आधारमा उपयुक्त व्यक्तिलाई उपकुलपतिका लागि सिफारिस गरेपछि प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्रीले उपकुलपतिको अन्तिम निर्णय गर्नुहुनेछ । रासस
पुस्तक छाप्न दाता गुहार्दै जनक शिक्षा, तीन शीर्षकमा ९१ करोड रुपैंया सहयोगको लागि अनुरोध
काठमाडौं २९, पुस । आर्थिक अभावका कारण लक्ष्यअनुसार पाठ्यपुस्तक छाप्न नसकेपछि जनक शिक्षा सामग्री केन्द्रले छपाइका लागि दाता गुहार्ने भएको छ । लामो समयदेखि आर्थिक अभाव झेलिरहेको केन्द्र आर्थिक स्रोतको विकल्पका रुपमा दाताको भर पर्न बाध्य भएको हो । लामो समयदेखि राजनीतिक पार्टीका कार्यकर्ता भर्तिकेन्द्रको रुपमा संचालन गर्दा टाट पल्टिने अवस्थामा पुगेको केन्द्रलाई सवल बनाउन शिक्षा मन्त्रालयको पहलमा दाताको सहयोग मागिएको हो । वैशाखमा सुरु हुने नयाँ शैक्षिक सत्रका लागि समेत पुस्तक छाप्न कठिन भएपछि एसियाली विकास बैंक (एडीबी) सँग आर्थिक सहयोग मागिएको छ । एडीबीले केन्द्रलाई आर्थिक सहयोग गर्न सार्वजनिक संस्थान बोर्डका पूर्वअध्यक्ष विमल वाग्लेको अध्यक्षता गठन गरिएको समितिले केन्द्रको वर्तमान अवस्थाको अडिट गरिरहेको छ । केन्द्रका प्रमुख बजार व्यवस्थापक सुजन नेपालले एडीबीसँग तीन शीर्षकमा ९१ करोड रुपैंया सहयोगको लागि अनुरोध गरिएको जानकारी दिए । कारोबार दैनिबाट ।