आर्थिक पत्रकारलाई जीवन बीमा तालिम
काठमाडौं । इकोनोमिक मिडिया सोसाइटी नेपाल र नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज(नाफ्स)ले जीवन बीमा सम्बन्धि एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक पत्रकारहरुलाई जीवन बीमा सम्बन्धि समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने बिषयलाई लक्षित गरेर उक्त दुई संस्थाले संयुक्त रुपमा सो तालिमको आयोजना गरेको हो । यस्ता समस्या समाचारमा न्युनीकरण गराउने उदेश्यले उक्त तालिमको आयोजना गरिएको नाफ्सका अध्यक्ष रमेशकुमार भट्टराईले बताएका छन् । उनले जीवन बीमा सम्बन्धि समाचार सम्प्रेशन गर्दा पत्रकारिताको भूमिकाबारे प्रशिक्षण दिएका छन् । अध्यक्ष भट्टराईले बीमा क्षेत्रमा काम गर्ने पत्रकारहरुलाई बीमासँग जोडिएका बिषयमा अध्ययन गर्न सुझाब दिए । बैंक भन्दा बीमासँग जोडिएका समाचार लेख्न कठिन हुने बताउँदै उनले प्राविधिक बिषय बुझेर मात्र समाचार लेख्न सुझाव दिएका छन् । अन्यथा आम पाठक तथा लगानीकर्तामा गलत सन्देश जाने उनले बताए । त्यस्तै कार्यक्रममा नाफ्सका संचालक कमल पन्थीले जीबन बीमा व्यवसायका बारेमा पत्रकारहरुले जान्नुपर्ने प्राबिधिक बिषयबारे प्रस्तुति दिए । नेपालमा बीमा व्यवसायको अवस्थालाई विश्व बजारसँग तुलना गर्दै पन्थीले बीमा व्यवसायको अवसर र चुनौतीबारे बताएका छन् । त्यसैगरी, नाफ्सका संचालक रामेश्वर श्रेष्ठले बीमा कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरण विश्लेषण गर्ने तरिकाबारे प्रस्तुति दिए । उनले बीमा कम्पनीले सार्वजनिक गर्ने वित्तीय विवरणमा उल्लेख हुने विभिन्न शिर्षकहरु र त्यसको प्रभाव तथा सूचकहरुको गणना विधीबारे जानकारी दिएका छन् । कार्यक्रममा इम्सनका अध्यक्ष रामकृष्ण पौडेलले यस किसिमका तालिम तथा अन्तरकृया कार्यक्रमले आर्थिक पत्रकारहरुलाई बीमा व्यवसायको समाचार सम्प्रेषण गर्न सघाउने धारणा राखेका थिए । उनले सम्बन्धित क्षेत्रका विज्ञहरुबाट आयोजना हुने यस किसिमका अन्तरकृया कार्यक्रमले आर्थिक क्षेत्रमा काम गर्ने पत्रकारहरुको लेखन क्षमता अझ बढाउने र सम्बन्धित क्षेत्रबारे सहि समाचार सम्प्रेषण हुने बताएका छन् । त्यस्तै, इम्सनका सदस्य परमेश्वर अधिकारीले यस अन्तरक्रियाबाट जीवन बीमाको प्राविधिक र आर्थिक विषयवस्तुका बारेमा अनलाइन क्षेत्रमा कार्यरत पत्रकारहरूका लागि निकै फलदायी रहेको बताएका छन् । कार्यक्रममा इम्सनमा आबद्ध बिकास न्युज, मेरोलगानी, बिजपाटी डटकम, बिजशाला, कर्पोरेट नेपाल, आर्थिक न्युज, बिजखबर लगायतका आर्थिक मिडियाहरुमा कार्यरत २० जना आर्थिक पत्रकारहरुको सहभागीता थियो । आर्थिक विषयमा केन्द्रीत भई सञ्चालन हुँदै आएका ‘आर्थिक मिडिया’ हरुको साझा हितका विषयमा काम गर्ने लक्ष्यसहित ‘इकोनोमिक मिडिया सोसाईटी नेपाल’ले काम गर्दै आएको छ । त्यस्तै, बैंक, बीमा, पूँजी बजार, सहकारी क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज् नाफ्सले सक्रियता बढाउँदै आएको छ ।
विद्यार्थी कुट्ने २ जना शिक्षकलाई कारवाही
नवलपरासी । विद्यार्थीमाथि दुव्र्यवहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी निलम्बनमा परेका छन् । विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीलाई १० दिनका लागि निलम्बन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिए । प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीले केही दिनअघि सोही विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रदीप कोंहार, धीरज पाण्डे र अर्जुन गुप्तालाई अपशब्द प्रयोगका साथै हातपात गरेको आरोप शिक्षकद्वयमाथि लागेको छ । विद्यार्थीले दोषी शिक्षकद्वयलाई कारवाहीको माग राख्दै सुनबल नगरपालिका र शिक्षा विकास तथा समन्वय एकाइ पश्चिम नवलपरासीको परासीस्थित कार्यालयमा निवेदन दर्ता गराइसकेका छन् । सुनबल नगरपालिका देशकै पहिलो बालमैत्री स्थानीय तह घोषणा भएको दुई साता नपुग्दै शिक्षकद्वारा विद्यार्थीमाथि दुव्र्यवहार र हातपात भएको घटना बाहिर आएपछि यस घटनाप्रति सरोकारवालाको ध्यान केन्द्रित भएको थियो । गत मङ्गलबार कक्षा १० मा नेपाली विषयअन्तर्गत ‘हाम्रो संस्कृति’ शीर्षक पाठ अध्यापन गराउने क्रममा शिक्षक तिवारीले फरकफरक समुदाय र सम्प्रदायको उदाहरण दिँदा मधेश क्षेत्रको संस्कृति बताउने क्रममा ठेस पुग्ने शब्दको प्रयोग गरेको भन्दै विद्यार्थीले विरोध जनाएका थिए । शिक्षक तिवारीले अध्यापनको क्रममा मधेशलाई लक्षित गरी ठेस पुग्ने शब्दको प्रयोग गरेको जनाउँदै विद्यार्थीले तत्कालै विरोध जनाएपछि शिक्षक तिवारी र प्रधानाध्यापक पाण्डेले आफूहरुलाई दुव्र्यवहार र हातपात गरेको जनाउँदै शिक्षा विकास तथा समन्वय एकाइमा विद्यार्थीद्वारा दिइएको उजुरीमा उल्लेख छ । तर यसबारे विद्यार्थीलाई सम्झाउने क्रममा दुःखद् घटना भएको विद्यालयका प्रधानाध्यापक पाण्डेले स्वीकार गरे । यसबारे शिक्षा विकास तथा समन्वय एकाइमासमेत विद्यार्थीले उजुरी दर्ता गरेपछि तत्काल समस्या समाधान गर्न सुनबल नगरपालिकामा परिपत्र गरिसकिएको एकाइका प्रमुख दीपेन्द्र ढकालले जानकारी दिए । रासस विद्यार्थीले दोषी भनिएका शिक्षकमाथि कारवाही हुनुपर्ने माग गर्दै प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका छन् । –––
एनआइईसीको आयोजनामा टोफेल आयल्टस स्कोर बुस्टर फेयर हुने
काठमाडौं । नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी (एनआईइसी)को आयोजनामा आगामी आइतवार टोफेल, आयल्टस स्कोर बुस्टर फेयर हुने भएको छ । उच्च शिक्षा अध्ययन गर्नको लागि विभिन्न देशहरुमा जान इन्छुक विद्यार्थीहरुको लागि आइल्टस, टोफेल र स्याटवानको बारेमा भदौ २३ गते (सेक्टेम्बर ९ तारेखमा) स्कोर र बुस्टर फेयर गर्न लागिएको हो । एनआईइसीका सिओइ सञ्जय स्मार्टले विद्यार्थीको लागि एक दिने स्कोर बुस्टर फेयर गर्न लागिएको बताए । उनले भने,‘विद्यार्थीहरु उच्च शिक्षाको लागि विभिन्न देशमा जानु भन्दा अगाडि आयल्टस, टोफेल र स्याटवानमा कसरी धेरै अंक ल्याउने भन्ने विषयमा जान्न जरुरी छ, त्यसको लागि हामीले व्यवहारिक रुपमा विभिन्न टेक्नीकहरु सिकाउँछौ ।’ विद्यार्थीहरुले स्कोर बढाउनको लागि भुक्याबुलरी (शब्दभण्डार)आइडिया नै मुख्य कुरा हो त्यसको लागि हामीले रमाइलोसँग बुझने भाषामा स्कोर बुस्टर फेयर विद्यार्थीहरुलाई सिकाउछौ, उनले भने । आयल्टस, टोफेलको बारेमा पढने, सुन्ने लेख्ने बोल्ने स्वाटवानमा तर्क र व्याकरण लगायतको विषयमा हामीले विद्याथीहरुलाई सहज र सरल ढंगले बुझाउन स्कोर बुस्टर फेयर आयोजना गरिएको स्मार्टले बताए । विद्यार्थीको मनोविज्ञानलाई बुझेर विदेशमा अध्ययन गर्न जानको लागि परामर्श दिने बताउदै उनले फेयरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुको लागि एनआईइसीमा अध्ययन गर्ने चाहेको अवस्थामा छुट पनि दिइने बताए ।