रुपन्देहीमा सुरु भयो स्मार्ट कक्षा, २१ वटा आधुनिक कम्प्युटरका साथ प्रभावकारी शिक्षा प्रणाली

बांकासिहा । रुपन्देही जिल्लाको मायादेवी गाँउपालिका-४ को एउटा सामुदायिक विद्यालयमा स्मार्ट कक्षा सञ्चालनमा आएको छ । बांकासिहा गाँउमा अवस्थित सुण्डी माध्यमिक विद्यालयमा स्मार्ट कक्षा सुरु भएपछि विद्यार्थीले प्रभावकारी तवरले शिक्षा लिइरहेका छन् । कोरिया इन्भाइरोमेन्ट कोर्पोरेशन (के-इको)को १६ लाख रुपैयाँ बराबरको आर्थिक सहायतामा उक्त कक्षा सञ्चालन भएको हो । अहिले विद्यालयमा २१ वटा नयाँ आधुनिक कम्प्युटर तथा बाउन्डरी वाल छन् । चर्चित कोरियाली परवतारोही कप्तान उम होङ गील, के-इकोका चुङचेओङ क्षेत्रका कार्यकारी निर्देशक किम जोङ युब, विद्यालय निरीक्षक लक्ष्मण ज्ञवाली, उपाध्यक्ष तारादेवी यादव, सुण्डी माध्यामिक विद्यालय व्यवस्थापन कमिटीका सभापति अरुण कुमार तिवारी, हेडमास्टर सत्तिश चन्द्रमणी त्रिपाठी लगायतले बुधबार स्मार्ट कक्षाको उद्घाटन गरेका थिए । के-इकोले कम्प्युटर कक्षका लागि २१ वटा फर्निचर पनि उपलब्ध गराएको छ । यस विद्यालयमा मुशहर, लोध, हरिजन, धवाल जस्ता करिब सात सय जना सिमान्तकृत वर्गका विद्यार्थीहरु अध्ययनरत छन् । त्यस्तै, डङ गोकले शैक्षिक सामग्री विकास केन्द्रबाट स्विकृत शैक्षिक सफ्टवेयर सहितको एउटा नयाँ स्मार्ट बोर्ड प्रदान गरेका छन् ।  दुई वर्ष अगाडी कोरियाली अन्तराष्ट्रिय गैरसरकारी संस्था उम होङ गील ह्युम्यान फाउण्डेसनले विद्यालयका पूर्वाधारको निर्माण गरेको थियो । कार्यक्रममा बोल्दै उमले विद्यार्थीलाई नेपालको सक्षम नागरिक बन्नका लागि कडा मिहिनेत गर्न आग्रह गरेका छन् ।  त्यस्तै विद्यार्थीले स्मार्ट कक्षाबाट फाइदा लिन सक्नेमा किमले विश्वास व्यक्त गरेका छन् । उनले भने,’भगवान बुद्धको जन्मभुमी लुम्बिनीमा बस्ने मानिसहरुको सेवा गर्न पाउँदा निकै खुशी लागिरहेको छ ।’

एमबीबीएस प्रवेश परीक्षा रद्द, ८ हजार ८ सय २७ विद्यार्थी तनावमा

काठमाडाैं । चिकित्साशास्त्र अध्ययन संस्थानले एक महिनाअघि लिएको एमबीबीएस प्रवेश परीक्षा रद्द गरेको छ । त्रिवि कार्यकारी परिषद्को निर्देशन अनुसार स्नातक तह प्रवेश परीक्षा सञ्चालन समितिको आइतबारको बैठकले असोज २८ मा लिएको परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।  प्रहरीले फेला पारेको उत्तर सेट र संस्थानले लिएको प्रवेश परीक्षाको प्रश्नपत्रको उत्तर सेट भिडाउँदा ६० मध्ये १४ प्रश्नको उत्तर मिलेको थियो । यसका आधारमा प्रहरी र मेडिकल काउन्सिलले परीक्षा समयअगावै प्रश्नपत्र बाहिरिएको निष्कर्ष निकालेको थियो । विश्वविद्यालयले गठन गरेको छानबिन समितिले समेत परीक्षा अमर्यादित भएको निष्कर्ष निकालेपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले नियमअनुसार रद्द गर्न आईओएमलाई निर्देशन दिएको थियो । उक्त परीक्षामा ७ मेडिकल कलेजका ६२५ सिटका लागि ८ हजार ८ सय २७ जनाले परीक्षा दिएका थिए ।  अर्को परीक्षा मिति चाँडै घोषणा गरिने छ ।

अर्थशास्त्रर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक रिचार्ड थालरलाई

स्वीडेन । अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई सन् २०१७ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । अर्थशास्त्र र मनोविज्ञानबीचको अन्तरलाई जोड्न गरेको योगदानका लागि अमेरिकी अर्थशास्त्री थालरलाई पुरस्कृत गर्ने निर्णय गरिएको स्टकहोमस्थित नाबेल पुरस्कार समितिले जनाएको छ । सीमित चेतना, सामाजिक प्राथमिकता तथा आत्मसंयमतामा कमी जस्ता मानव व्यवहारले कसरी व्यीक्तगत निर्णयहरू तथा बजारका गतिविधिलाई प्रभावित तुल्याउँछन् भन्ने बिषयमा गरेको खोजमूलक अध्ययनका लागि थालरलाई पुरस्कृत गरिएको छ। समितिले पुरस्कार घोषणाबारे जानकारी दिन सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस/एएफ्पी