लक्ष्मी बैंक र एनबीआईबीच तालिम संचालन गर्ने सम्झौता

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) लिमिटेडबीच तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा लक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एनबीआईले लक्ष्मी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार लक्ष्मी बैंकले आफ्नो कर्मचारीहरुका लागि एनबीआईबाट न्युनतम ५० लाख रुपैयाँ बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।

सांग्रीला डेभलपमेन्ट बैंकले नवनियुक्त कर्मचारीलाई दियो १० दिने बैंकिङ् तालिम

काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले नवनियुक्त कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालीम सम्पन्न गरेको छ । नवनियुक्त कर्मचारीहरुलाई शाखामा पठाउनुभन्दा पहिले सामाजीकरण गराउने र बैंक सम्बन्धित कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने र सिकाउने उदेश्यले अभिमुखीकरण तालीम राखेको हो । बैंकले यही भदौ १ गते देखी १० गतेसम्म दिएको तालिममा नवनियुक्त ६५ जना कर्मचारी सहभागी भएका थिए । उक्त तालिममा नवनियुक्त कर्मचारीहरुलाई बैंकले प्रदान गर्ने सेवा सुविधा सम्बन्धि आवश्यक तालिम प्रदान गरेको थियो । १० दिने कार्यक्रमको समापन कार्यक्रममा बोल्दै बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले यस किसिमको तालिमले नवनियुक्त कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याउनु पर्ने बताएका छन् । यसैगरी, निमित्त प्रमुख कार्यकारी अधिकृत तथा कर्जा तथा मार्केटिङ्ग प्रमुख निर्मलकुमार श्रेष्ठले यस्ता कार्यक्रमले कर्मचारीको आत्मविश्वासमा समेत बृद्घि गरि बैंकको प्रतिनिधित्व गर्न थप उर्जा प्रदान गर्ने बताए ।

काठमाडौं उपत्यकाका विद्यालय दुई दिन बिदा हुने, कहिले कहिले ?

काठमाडौं । सरकारले आगामी भदौ १४ र १५ गते काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका विद्यालयहरुमा बिदा दिएको छ । काठमाडौंमा हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विम्स्टेक) सम्मेलनलाई लक्षित गरी शिक्षा मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका विद्यालयमा उक्त दिन बिदा दिने निर्णय गरेको हो । मन्त्रालयले विम्स्टेक सम्मेलनका लागि विदेशी पाहुनाको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उक्त दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको बताएकाे छ ।