अब पत्रकारिता पढ्न कलेज जानै नपर्ने

काठमाडौं। अब पत्रकारिता पढ्न कलेज जानु नपर्ने भएको छ । पत्रकारिता बिषय अब घरमै बसेर पढ्ने सुबिधा खुला विश्वविद्यालयले ल्याउन लागेको हो । सोमबार नेपाल खुला विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्यूट आम सञ्चार अध्ययन अन्तर्गत शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न सहमत भएका हुन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्मा र नेपाल प्रेस इन्स्टिच्यूटका अध्यक्ष नीलकण्ठ उप्रेतीबीच उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो । दुवै संस्थाबीच असोज २०७६ भित्र स्नातक, स्नातकोत्तर तहको पहिलो सेमेष्टरको अध्ययन प्रारम्भ गर्नेसमेत सहमति भएको हो । उक्त अध्यनलाई स्नातक, स्नात्तकोत्तर हुँदै एमफिल र पिएचडीसम्म लगिने छ । विश्वविद्यालयले हाल स्नातक र स्नातकोत्तर स्तरका लागि पाठ्यक्रम विकास गर्ने काम गरिरहेको छ ।विश्वविद्यालय र इन्स्टिच्यूटबीच इन्ष्टिच्यूटको पनि प्रतिनिधित्व हुनेगरी विषय समिति निर्माण गर्ने, कोर्स डिजाइन गर्नेसमेत सहमति भएअनुसार काम थालिएको हो । नेपाल खुला विश्वविद्यालयको प्राज्ञिक ज्ञान र नेपाल प्रेस इन्ष्टिच्यूटको आमसञ्चारसम्बन्धी प्रयोगात्मक ज्ञानको संयुक्त मिश्रणबाट दक्ष जनशक्तिको उत्पादन गर्नु सहमतिको उद्देश्य रहेको खुला विश्वविद्यालयका उपकुलपति डा. लेखनाथ शर्माले बताए । विविध कारणले प्रत्यक्ष कक्षामा सरिक हुन नसक्ने, नेपाल मात्र नभई विश्वको जुनसुकै कुनामा रहेका, जुनसुकै उमेरका व्यक्तिहरुलाई उनीहरुकै अनुकूल समय र गतिमा इन्टरनेटको माध्यमद्वारा अध्ययन पूरा गर्ने-गराउने कार्यक्रमको उद्देश्य रहेको छ । पत्रकारिता तथा आमसञ्चार संकायबाट माध्यमिक शिक्षा (उच्च) पूरा गरेकाले स्नातक र सोही संकायमा स्नातक गरेकाले खुला विश्वविद्यालयमा स्नातकोत्तरमा भर्ना हुनसक्नेछ ।

कक्षा १२ को परीक्षा शुरु, ११ को वैशाख २९ बाट, नौ लाख ३६ हजार परीक्षार्थी सहभागी हुँदै

भक्तपुर । कक्षा १२ को परीक्षा आइतबारदेखि शुरु भएको छ । ११ को परीक्षा बैशाख २९ गतेबाट हुने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । देशभर एकैसाथ १५ गते आइतबार बिहान ७ बजेदेखि शुरु हुने कक्षा १२ र वैशाख २९ गतेबाट शुरु हुने कक्षा ११ को परीक्षा मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्ने बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ र कक्षा ११ को परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी गरी कूल नौ लाख ३६ हजार ५४६ परीक्षार्थीको सहभागिता रहने बताउँदै उनले कक्षा १२ र कक्षा ११ को परीक्षामा चार लाख ४२ हजार, ९९७ छात्र र चार लाख, ९३ हजार ५४९ छात्राको सहभागिता रहने बताए । आगामी २६ गते सम्पन्न हुने कक्षा १२ को परीक्षातर्फ साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ । यसैगरी वैशाख २९ गते शुरु भई जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ । सबभन्दा कम मनाङ जिल्लाबाट कक्षा ११ को परीक्षामा ५१ र कक्षा १२ मा ५९ तथा सबैभन्दा धेरै काठमाडौँ जिल्लाबाट कक्षा ११ मा ७१ हजार ५२७ र कक्षा १२ मा ६२ हजार ५८८ परीक्षार्थी सहभागी हुँदैछन् । बोर्डले परीक्षाका लागि देशभर एक हजार १०७ परीक्षा केन्द्र निर्धारण गरेकामा सबभन्दा बढी परीक्षा केन्द्र काठमाडौँमा १२२ वटा र सबैभन्दा कम मनाङ/मुस्ताङमा एक/एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिनुभयो । परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ । कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको उनले जानकारी दिए । परीक्षा केन्द्रमा सिसी क्यामराः गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्न पत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा त्यस्तो त्रुटी नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सिसी क्यामरा जडान गरेको छ । बोर्डले केन्द्र नजिकै सिसीटिभीसहितको सुरक्षा घेराभित्र रहेको कक्षबाट प्रश्नपत्र लैजाँदा केन्द्राध्यक्षलाई मोबाइलसमेत बोक्न निषेध गरेको जानकारी दिँदै उहाँले बोर्डको मुख्यालयमा रहेको नियन्त्रण कक्षबाटै देशैभरको परीक्षाबारे जानकारी लिने व्यवस्था गरिएको बताए । परीक्षामा जिल्ला परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, बोर्डका अधिकारी, मन्त्रालयका अधिकारी, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, प्रदेश शिक्षा निर्देशनालयबाहेक अन्यलाई मोबाइल फोन लैजान निषेध गरिएको छ । परीक्षामा प्रश्नपत्रमा समस्या आए वा प्रश्नपत्र गलत भए तत्काल केन्द्राध्यक्षसँग सूचना पुग्ने गरी ‘बल्क एसएमएस’को व्यवस्था गरेको छ भने कुनै त्रुटि देखिए बोर्डको मुख्यालयमा रहेको विज्ञ समूहले त्रुटि सच्याएर बोर्डलाई जानकारी गराउँदै यसबारे सबै केन्द्रमा जानकारी गराउने व्यवस्था गरेको छ । परीक्षामा अनियमितता गरेको पाइए जिल्ला परीक्षा समन्वय समितिलाई तत्काल केन्द्राध्यक्ष परिवर्तन गर्नसक्ने अधिकार दिइएको छ भने परीक्षामा अमर्यादित काम गर्र्ने व्यक्तिलाई छ महीना कैद र रु एक लाख जरिवाना गर्नसक्ने व्यवस्था गरिएको अर्यालले जानकारी दिनुभयो । बोर्डले यो वर्षदेखि विद्यार्थीको नाम, थर, जन्ममिति, रजिस्टे«सन, विषय र परीक्षामा रुजु गर्ने व्यवस्था मिलाएको छ । बोर्डले आफ्नो वेबसाइटमा परीक्षा मेमोमा गएर पुनः रजिस्ट्रेसन नम्बर इन्ट्री गरी हेर्नसक्ने व्यवस्था गरेको सदस्य–सचिव अर्यालले जानकारी दिए । परीक्षाका लागि प्रदेश १ मा १९७, २ मा ११५, ३ मा ३०३, गण्डकीमा ११८, प्रदेश ५ मा १६२, कर्णालीमा ९३ र सुदूरपश्चिममा ११९ परीक्षा केन्द्र निर्धारण गरेको जनाएको छ । परीक्षामा एक हजार १०७ केन्द्राध्यक्ष, एक हजार ४८९ सहायक केन्द्राध्यक्ष, १५ हजार १०७ निरीक्षक, एक हजार ४८९ कर्मचारी, दुई हजार २१४ कार्यालय सहयोगी र १३ हजार १८४ सुरक्षाकर्मीसहित ३४ हजार ४९० जनशक्ति परिचालन गरिने भएको छ । रासस

पोखरा विश्वविद्यालयका ३४४ विद्यार्थीको रजिस्ट्रेसन स्वीकृत गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं। ‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीको रजिस्ट्रेसन स्वीकृत गर्न सर्वोच्च अदालतले पोखरा विश्वविद्यालयको नाममा आदेश जारी गरेको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले वैशाख १६ देखि हुने परीक्षामा विद्यार्थीलाई सहभागी गराउन बिहीबार अन्तरिम आदेश दिएको हो । विद्यार्थीले ‘डी प्लस’ विद्यार्थीलाई परीक्षामा सहभागी गराउन आदेश जारीको माग गर्दै मंगलबार रिट दायर गरेका थिए । विश्वविद्यालयले रजिस्ट्रेसन शुल्कसमेत लिइसकेको अवस्थामा परीक्षामा सामेल हुन पाउनुपर्ने उनीहरूको माग थियो । रिट निवेदनको अन्तिम टुंगो लागेको बखत सोहीबमोजिम हुने गरी हाल रजिस्ट्रेसन अस्थायी रूपमा स्वीकृत गरी प्रोभिजनल रूपमा फारम भर्न दिन सर्वोच्चको आदेश छ । विद्यार्थीले रजिस्ट्रेसन शुल्क बुझाइसकेको, क्रिविका समान कार्यत्रममा उक्त योग्यताले काम गरेको, शैक्षिक सत्रमा भर्ना भई नियमित अध्ययनरत रहेकाले परीक्षाबाट वञ्चित गर्दा अपूरणीय क्षति पुग्न जाने आदेशमा उल्लेख छ । विश्वविद्यालयका सम्बन्धनप्राप्त कलेजले भर्ना लिएका सम्बन्धमा कानुनबमोजिम भए–नभएको विषय अन्तिम सुनुवाइ हुँदा विचार हुने आदेशमा जनाइएको छ । विश्वोविद्यालय लामो समय देखी डि ग्रेड ल्याएका विद्यार्थीको रजिस्ट्रेसको बिषयलाई लिएर चर्काचर्की चलिरहेको थियो। गत जेठ्मा विश्वविद्यालय प्राज्ञिक परिषद् बैठकले स्नातक तहमा भर्ना हुन पाउने योग्यतासम्बन्धी सूचना जारी गरेको थियो जसमा कक्षा ११ र १२ मा हरेक बिषयमा न्युनतम सि ग्रेड ल्याउने विद्यार्थीले पोखरा विश्वोविद्यालयमा अध्ययन गर्ने पाउने बताईएको थियो। तर विश्वविद्यालयबाट मान्यता प्राप्त कलेजले भने मापदण्ड आफुखुसी व्याख्य गरेर समग्रमा सि ग्रेड ल्याउने विद्यार्थीलाई पनि भर्ना गरेका थिए। विश्वोविद्यालयले बैशाख ७ गते शनिबार विज्ञप्ती निकाल्दै आफु अन्तर्गत रहेका कुनै पनि कलेजले डी प्लस ल्याएका बिद्यार्थी भर्ना गरेको पाइए वा पुनः नियम उलंघन गरेको अवस्थामा सम्बन्धित कलेजको सम्बन्धन खारेज हुन सक्ने पनि बताएको थियो।