समायोजनले गुल्मीका ३७ विद्यालय विलीन
तम्घास । विद्यालय समायोजनका कारण गुल्मीका ३७ विद्यालय विलीन भएका छन् । मदाने गाउँपालिकाबाहेक दुई नगरपालिका र १० गाउँपालिकामा विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको थियो । एघार पालिकामा कूल ४९ विद्यालय समायोजन गर्दा ३७ पूर्णरुपमा बन्द भएका छन् जसमध्ये ४७ विद्यालयको कक्षा घटाइएको छ । संस्थागत १७ र सामुदायिक ३२ सामुदायिक विद्यालय समायोजनमा परेका छन् । तीमध्ये संस्थागततर्फ एक मावि, आठ निमावि र आठ प्रावि छन् । मदानेले विद्यालय समायोजन तथा कक्षा घटाउने कुनै काम गर्न सकेको छैन । समायोजनका कारण १० संस्थागत विद्यालय र २६ सामुदायिक विद्यालय बन्द भएको शिक्षा तथा समन्वय एकाइ प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए। गुल्मी दरबार गाउँपालिकामा १० सम्म पढाइ हुने गौरीशङ्कर इग्लिस बोर्डिङ स्कूल ईश्वरी माविमा पूरै समायोजन भएको छ । गुल्मी दरबारमै चार संस्थागत र दुई सामुदायिक विद्यालय खाली भएका छन् । धुर्कोट गाउँपालिकाले पनि सामुदायिक र संस्थागत गरेर नौ विद्यालय समायोजन गरेको छ जसका कारण पाच् संस्थागत विद्यालय खाली भएका छन् । मुसिकोट नगरपालिकाले सात सामुदायिक विद्यालय समायोजन गरेर बन्द गरेको तथा छ विद्यालयको कक्षा घटाएको मरासिनीले जानकारी दिए । रेसुङ्गा नगरपालिका र सत्यवती गाउँपालिकाले एक/एक संस्थागत विद्यालय समायोजन गरेका छन् । चन्द्रकोट गाउँपालिकाले पाँच विद्यालय समायोजन गरेको छ भने नौ विद्यालयमा कक्षा घटाएको छ । इस्मा गाउँपालिकाले १५ विद्यालयमा समायोजन र कक्षा घटाएको छ । मालिका गाउँपालिकाले सबैभन्दा बढी १६ विद्यालयको कक्षा घटाएको छ । स्थानीय तहको समायोजनको तथ्याङ्कका आधारमा घटेका कक्षा प्रायः २, ३ र ४ छन् । शुरुमा समुदायले नै खोलेका विद्यालय भएकाले उनीहरुकै अनुरोधमा बन्द गर्न स्थानीय सरकारलाई पनि चुनौती बनिरहेको छ ।जसका कारण अधिकांश स्थानीय तहले एक कक्षा मात्रै भए पनि समुदायमा काम गरिरहेका छन् । गाउँका नागरिक शहर केन्द्रित भएकाले विद्यालयमा विद्यार्थी सङ्ख्या अत्यन्तै कम हुँदै गएकाले विद्यालय समायोजन र कक्षा घटाइएको छ । दूरी र भौगोलिक अवस्थालाई पनि समायोजनको अर्को कारण मानिएको छ । केही ठाउँमा नजिकनजिक विद्यालय छन् भने केही ठाउँमा भौगोलिक हिसाबले विद्यालय पुग्न विद्यार्थी घण्टाैं हिँडनुपर्ने बाध्यता छ । समायोजन हुने कक्षाका लागि शिक्षा मन्त्रालयले प्रतिकक्षा पाँच लाख अनुदानको व्यवस्था गरेको छ ।
कृषि विश्वविद्यालयमा रजिष्ट्रार, सेवा आयोगका अध्यक्ष र डिन नियुक्त
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको रजिष्ट्रार, सेवा आयोगको अध्यक्ष र वन सङ्कायको डिन नियुक्त गरिएको छ । रजिष्ट्रारमा प्राडा शारदा थपलिया, सेवा आयोगको अध्यक्षमा प्राडा कल्याणी मिश्र त्रिपाठी र वन सङ्कायको डिनमा प्राडा बलराम भट्ट नियुक्त भएका हुन् । विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीको सिफारिसमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा थपलियालाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् । उनीसँगै प्राडा भूमिनन्दन देवकोटा र प्राडा केशव अधिकारीको नाम पनि उपकुलपतिले सिफारिस गरेका थिए । छनोट समितिबाट आएका नाममध्येबाट उपकुलपतिले कुलपतिलाई सिफारिस गर्नुपर्ने प्रावधान छ । थपलियाले यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति भई काम गरिसक्नु भएको छ । गएको माघ १२ गते प्राडा मनराज कोलाक्षपतिको पदावधि सकिएपछि विश्वविद्यालयको रजिष्ट्रार पद रिक्त थियो । रजिष्ट्रार नहुँदा विश्वविद्यालयका दैनिक कामकाज प्रभावित बन्दै आएका थिए । रजिष्ट्रारकै अभावमा विश्वविद्यालय सभासमेत हुनसकेको छैन । यसैगरी विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको सिफारिसमा कुलपति केपी शर्मा ओलीले त्रिपाठीलाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् । तीन सदस्यीय आयोगमा कुलपतिबाट नियुक्त अध्यक्षसहित दुई जना र एकजना लोकसेवा आयोगका पदाधिकारी सदस्य रहने व्यवस्था छ । गएको साउन ५ गतेदेखि विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पद खाली रहेको थियो । उपकुलपति रेग्मीले भट्टराई वन सङ्कायको डिनमा नियुक्त गर्नुभएको हो । छनोट समितिले प्रा वासुदेव पोखरेल र प्रा बलराम शर्मासहित भट्टको नाम सिफारिस गरेको थियो । भट्ट यसअघि पनि सोही सङ्कायको डिन थिए । सो सङ्काय हेटाैंँडामा छ । यता विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी रहेको छ । यस अघि उपकुलपति रेग्मीले डिन, अनुसन्धान निर्देशकलगायतको नियुक्तीमा विधिसम्मत नगरी मनोमानी गरेको भन्दै नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले तालाबन्दी गरेका छन् । उनीहरुले उपकुलपतिको राजीनामाको माग समेत गरेका छन् ।
खोटाङकाे एघार प्रस्तावित माविको स्तरोन्नति
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ११ प्रस्तावित माविलाई स्तरोन्नति गरेको छ । गाउँपालिकाले हालसम्म प्रस्तावित माविका रुपमा सञ्चालनमा रहेको शान्ति मावि छोरम्बु, सरस्वती मावि डाँडाखर्क सछितापोखरी, राम्चे निकेतन मावि इजारा बतासे, शान्ति निकेतन मीनाकर्ण मावि सापातेल छोरम्बु, शान्ति मावि टेम्मा, पञ्चौशिका मावि भण्डारेघाट बतासे, महेन्द्रोदय मावि याम्खा, धिप्लुङ मावि सेम्मा छितापोखरी, जनसेवा मावि दिहुँ छितापोखरी, सरस्वती मावि कुलागाउँ सछितापोखरी र याङसोला मावि छोरम्बुलाई माविमा स्तरोन्नति गरेको हो । हालसम्म मावि तहको पठनपाठन हुँदैआएको तर मावि शिक्षकको दरबन्दी नभएका प्रस्तावित माविलाई माविमा रुपान्तरण गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । गत वर्ष पञ्चकौशिका आधारभूत विद्यालयलाई मावि तहको पठनपाठनको स्वीकृति दिएको गाउँपालिकाको असोज ३० गते बसेको गाउँकार्यपालिकाको बैठकले एकैसाथ ११ प्रस्तावित माविलाई माविमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । सात वडा रहेको गाउँपालिकामा हालसम्म महेन्द्रोदय मावि ओख्रे डाँडागाउँ, कृष्ण मावि टेम्मा र जनता मावि भण्डारीडाँडा बतासे मात्र स्थायी मावि थिए । माविमा रुपान्तरण गरिएका विद्यालयमा स्थायी शिक्षकको दरबन्दी सिर्जना गरेर शिक्षक व्यवस्था गर्दै पठनपाठन शुरु गरिएको गाउँपालिका प्रमुख राईले बताए । अपुग शिक्षकका लागि दरबन्दी सिर्जना गरेर शिक्षक नियुक्ति गरिने गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसअघि सामुदायिकतर्फ ९३ माध्यमिक विद्यालय सञ्चलनमा थिए । यसैबीच साकेला गाउँपालिकाले तीनवर्षे डिप्लो(बिए) तहको बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँसभाबाट पारित आर्थिक वर्ष २०७७/७८ को स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्राविधिक धारतर्फ तीनवर्षे डिप्लोमा तहको बाली विज्ञान विषय अध्ययन गर्ने छात्रछात्रालाई जनही ५० हजारका दरले छात्रवृत्ति प्रदान गर्ने भएको हो । तीन वर्षमा दश छात्रछात्राका लागि २० लाख खर्च गर्ने गरी प्राविधिक धारका विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए । छात्रवृत्ति गाउँपालिकाभित्रका विद्यार्थीले मात्र पाउनेछन् । साकेला गाउँपालिका–२ रतन्छास्थित साकेला माविमा सञ्चालन भइरहेको तीनवर्षे डिप्लो तहको बाली विज्ञान विषय अध्ययन गर्ने छात्रछात्रालाई लक्षित गर्दै गाउँपालिकाले छात्रवृत्ति कार्यक्रम ल्याएको थियो । छात्रवृत्ति कार्यविधि पास गरेरै गाउँपालिकाका पाँच वटै वडाका दुई/दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । वडाको सिफारिसमा विपन्न, महिला, दलित तथा जेहेन्दार छात्रछात्रालाई प्राथामिकता दिएर छात्रवृत्ति उपलब्ध गराइने गाउँपालिका प्रमुख खड्काले बताए । गाउँपालिकाले छात्रवृत्तिका लागि १५ दिनभित्र आवेदन दिन यही पुस २ गते सूचना जारी गरेको थियो । रासस