सिसडोलका विद्यार्थीलाई काठमाडौं महानगरले ५० लाखकाे छात्रवृत्ति दिने
काठमाडौं । काठमाडाैं उपत्यकका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएका नुवाकोट सिसडोलका प्रभावित विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न महानगरले रु ५० लाख छुट्याएको छ । सिसडोलमा लामो समयसम्म फोहर थुपारिँदा प्रत्यक्ष्य रुपमा पीडित विद्यार्थीका लागि छात्रवृत्ति दिने कामपाले जनाएको छ । विगत वर्षमा राहत कोषमार्फत सहयोग गर्दै आएको कामपाले यस वर्षदेखि रु ५० लाखको वार्षिक बजेटमा नै समावेश गरेको छ । यस वर्षदेखि पीडित परिवारका पढ्न चाहने विद्यार्थीलाई कामपाले काठमाडौँमा नै ल्याएर पठनपाठनको व्यवस्था गर्नेछ । यसरी प्रभावित स्थानबाट ल्याइएका बालबालिकालाई विद्यालयस्तर सम्मको शिक्षा पूरा गरिदिने कामपाको नीति रहेको छ । यसरी छात्रावृत्ति प्राप्त गर्ने विद्यार्थीमा सिसडोलमा थुपारिएका फोहर सङ्कलन गर्न जाँदा ज्यान गुमाएका अभिभावकका छोराछोरी तथा फोहर बोकेर गएको गाडीको दुर्घटनामा परी ज्यान गुमाउनेको छोराछोरी रहने छन् । कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख कपरकुमार श्रेष्ठका अनुसार यसअघिका वर्षमा राहत कोषमार्फत अध्ययन गर्नेहरुमा दुई जना छन् । हरेक वर्ष पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकालाई फोहर व्यवस्थापन गर्न थप समस्या हुने गरेका भए पनि अहिले नियमित फोहर व्यवस्थापन भएको दाबी छ । केही स्थानमा फोहर उठेको छैन भन्ने जनगुनासो आएपनि सबै स्थानमा फोहर उठेको कामपाको भनाइ छ । “अन्य समयमा भन्दा वर्षादको समयको फोहर बढी उत्पादन हुने र समयसमयमा बाटो बिग्रने हुँदा कहिलेकाहीँ समस्या आए पनि अहिले समस्या छैन”, वातारण विभागका प्रमुख श्रेष्ठको भनाइ छ । यदि कही फोहर नउठेको भए कामपाको हटलाइन नं १११८ मा फोन गर्न पनि विभागले आग्रह गरेको छ । समस्या फोहर लानका लागि मात्रै होइन व्यवस्थापनको पनि उत्तिकै छ । हाल फोहर व्यवस्थापन गरिरहेको स्थान सिसडोल भरिसकेकाले त्यस स्थानभन्दा केही तल फोहर विसर्जन हुँदै आएको छ । सिसडोलभन्दा दुई किलोमिटर पर एक हजार ७०० रोपनी जग्गा अधिग्रहण गरिसकेको भए पनि निर्माणको काम अघि बढ्न सकेको छैन । उक्त स्थान निर्माणका लागि करीब रु तीन अर्ब रकम र कम्तीमा दुई वर्षको समय लाग्ने अनुमान गरिएको छ । यही असारदेखि फोहर कार्य शुरु गर्ने भने पनि कोरोना सङ्क्रमणको कारण भएको बन्दाबन्दीले गर्दा निर्माणको धेरै काम अझै बाँकी छ । लामो समयदेखि काम अघि नबढेपछि प्रत्येक वर्ष वर्षातको समयमा फोहर विसर्जन कार्य समयास्याको विषय बन्दै आएको छ । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । जसमा सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिक टन फोहर लगिने गरिएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडी फोहर लगिने गरिएको छ । वर्षाको समय आएपछि बाटो पहिराले पुर्ने र खाल्टो पर्ने हुँदा लामो समयसम्म पनि फोहर उपत्यकामा नै रहने समस्या कुनै नौलो भने होइन । उपत्यकाको अठार स्थानीय तहबाहेक नुवाकोटको ककनी गाउँपालिका र धादिङ जिल्लाको धुनिबेँसी नगर क्षेत्रको फोहर पनि ल्यान्डफिल साइटमा आउने गरेको छ ।
अनलाइन कक्षाका लागि एनसेलले ल्यायाे विशेष याेजना
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक मासिक योजना ल्याएको छ । कम्पनीले राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सनंं) र निजि तथा आवासीय विद्यालय संघ (प्याब्सन) सँगको सहकार्यमा उक्त याेजना ल्याएकाे हाे । एनसेलले यो योजना अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा ल्याएको हो । यस सहकार्यले विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयलाई मोबाइल ब्रोडव्याण्डमा पहुँच सुनिश्चित गर्ने उद्देश्य लिएको छ । यस मासिक योजनामा विद्यार्थी तथा शिक्षक/शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा प्राप्त गर्दछन् । विद्यार्थीले कर बाहेक मासिक रु २५० मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी/फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्दछन् । एनप्याब्सन र प्याब्सनसँगको सहकार्यका बारेमा आफ्नो धारणा राख्दै एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘कोभिड–१९ ले शिक्षा क्षेत्र लगायत सबै क्षेत्रमा असर पारेको छ । साथै अध्ययन अध्यापनमा इन्टरनेट प्रविधिको प्रयोग बढेको छ । हामीसबै विस्तारै अबको ‘न्यु नर्मल’ सँग अभ्यस्त भइरहेका बेलामा दूरशिक्षा आवश्यकता बनेको छ र यसले प्रविधि र अनलाइन शिक्षाको महत्व स्पष्ट रुपमा दर्शाएको छ । देशको शिक्षा क्षेत्रमा डिजिटाइजेसन र इ-लर्निङमा योगदान पुर्याउनका लागि एनप्याब्सन र प्याब्सनसँग सहकार्य गर्ने अवसर पाएकोमा हामी हर्षित छौं ।’ एनप्याब्सन र प्याब्सन दुवै संस्थाले यो सहकार्यले विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट इ-लर्निङमा सहयोग पुर्याउने बताएका छन् । एनप्याब्सनका अध्यक्ष ऋतु राज सापकोटाले भने “विद्यालयहरुमा पठनपाठन कहिले देखि संचालन हुने निश्चित नभएको हालको अवस्थामा अनलाइन माध्यमबाट विद्यार्थी र शिक्षक/शिक्षिकालाई अध्ययन अध्यापनमा सहयोग पुर्याउनका लागि एनसेलसँग यस विशेष योजनामा हातेमालो गर्न पाउँदा खुसी छौं ।” ‘कोभिड-१९ ले निम्ताएको यस महामारीले हालको शिक्षण प्रणालीलाई नाटकीय ढंगले परिवर्तन गरिदिएको छ र सिकाइका लागि विश्वव्यापी रुपमानै भर्चुअल लर्निङ्को ट्रेन्ड अप्रत्याशित रुपमा बढेको छ । विद्यालयहरुले हालका लागि भर्चुअल रुपमा नै कक्षाहरु संचालन गर्ने सरकारको नीतिमा यस सहकार्यले सहयोग पुर्याउने कुरामा हामी विश्वस्त छौं,’ प्याब्सनका अध्यक्ष टीकाराम पुरीले भने । यस सहकार्यअनुसार एनप्याब्सन र प्याब्सनको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक/शिक्षिकाहरूले यो योजनाबाट फाइदा लिन सक्छन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिनेछ ।
भदाै १ गतेदेखि विद्यालय खोल्ने सरकारको निर्णय
काठमाडाैं । सरकारले भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले विद्यालयलाई क्वारेन्टिन स्थल नबनाउने निर्णय गरेको छ । साथै विद्यालयले २०७६/ ७७ का लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरिसक्न भनेको छ । भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क राख्ने, विद्यालय शिक्षकहरुलाई अभिलम्ब विद्यालय पु-याउने व्यवस्था गर्ने, क्वारेन्टिन बनाइएको विद्यालयबाट त्यसलाई हटाउने निर्णय गरेको छ ।